मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हरित हाइड्रोजन प्रविधिबारे अस्ट्रियाको अनुसन्धान केन्द्रमा उपाध्यक्ष गुणराज ढकालको अध्ययन अवलोकन

  • urjanews urjanews
  • २०८३ मंसिर ५, शुक्रबार
286
SHARES
हरित हाइड्रोजन प्रविधिबारे अस्ट्रियाको अनुसन्धान केन्द्रमा  उपाध्यक्ष गुणराज ढकालको अध्ययन अवलोकन

नेपालमा हरित हाइड्रोजन, नवीकरणीय ऊर्जा र प्रविधि हस्तान्तरणको सम्भावना पहिचान गर्न युरोपेली अनुसन्धान तथा अनुभव उपयोगी हुने विश्वास

काठमाडौं। नेपालमा हरित हाइड्रोजन प्रविधि, नवीकरणीय ऊर्जा तथा औद्योगिक विकासका सम्भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित युरोप भ्रमणमा रहेका नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई) का उपाध्यक्ष गुणराज ढकालले अस्ट्रियाको वेल्सस्थित हाइड्रोजन अनुसन्धान केन्द्रको अध्ययन अवलोकन गरेका छन्।

युरोपेली संघको BLENDED IDEA परियोजना अन्तर्गत भएको भ्रमणका क्रममा ढकालले University of Applied Sciences Upper Austria (FH OÖ Campus Wels) अन्तर्गत सञ्चालित H₂ Research Centre Wels मा पुगेर हाइड्रोजन प्रविधिसम्बन्धी अनुसन्धान, परीक्षण तथा प्रयोगात्मक गतिविधिबारे जानकारी लिएका हुन्।

अध्ययन अवलोकनका क्रममा उनले फ्युल सेल प्रणाली परीक्षणका लागि प्रयोग गरिने Fuel Cell System Testbench & Grid Emulator, हाइड्रोजन प्रविधिलाई विद्युतीय ग्रिडसँग एकीकृत गर्ने प्रणाली तथा हाइड्रोजनसँग सम्बन्धित सामग्री परीक्षण र सुरक्षा प्रविधिका अत्याधुनिक प्रयोगशालाहरूको अवलोकन गरेका थिए।

भ्रमणका क्रममा हाइड्रोजन ऊर्जाको उत्पादन, प्रयोग, विद्युतीय प्रणालीसँगको अन्तरसम्बन्ध तथा यस प्रविधिको सुरक्षित र प्रभावकारी उपयोगका लागि भइरहेका अनुसन्धानबारे जानकारी प्राप्त भएको जनाइएको छ। विशेषगरी फ्युल सेल प्रविधि र विद्युतीय ग्रिडबीचको समन्वयले भविष्यमा स्वच्छ ऊर्जा प्रणाली विकास गर्न सक्ने सम्भावनाबारे अध्ययन गर्ने अवसर प्राप्त भएको थियो।

उपाध्यक्ष ढकालले नेपालमा पनि हरित हाइड्रोजन तथा नवीकरणीय ऊर्जाको विकासका लागि युरोपमा भइरहेका अनुसन्धान, प्रविधिगत उपलब्धि र व्यावहारिक अनुभव महत्वपूर्ण हुन सक्ने बताएका छन्।

नेपालमा जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जा स्रोतको सम्भावना रहेकाले तिनको प्रभावकारी उपयोग, नयाँ प्रविधिको विकास र औद्योगिक क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग विस्तार गर्न आवश्यक रहेको उनको धारणा छ। यसका लागि अन्तर्राष्ट्रिय प्रविधि हस्तान्तरण, अनुसन्धानमा सहकार्य, दक्ष जनशक्ति उत्पादन तथा निजी क्षेत्रको सहभागिता महत्वपूर्ण हुने उनले उल्लेख गरेका छन्।

नेपालका घरेलु तथा साना उद्योगहरूलाई आधुनिक प्रविधिसँग जोड्दै उत्पादन क्षमता, प्रतिस्पर्धात्मकता र दिगोपन अभिवृद्धि गर्न यस्ता अन्तर्राष्ट्रिय अध्ययन तथा अनुभव आदानप्रदान उपयोगी हुन सक्ने अपेक्षा गरिएको छ। हरित हाइड्रोजन प्रविधिको विकासले दीर्घकालीन रूपमा ऊर्जा क्षेत्रसँगै उद्योग, यातायात र अन्य उत्पादनमूलक क्षेत्रमा समेत नयाँ सम्भावनाका ढोका खोल्न सक्ने देखिन्छ।

अध्ययन अवलोकनका क्रममा प्राप्त ज्ञान तथा अनुभवलाई नेपालको सन्दर्भमा उपयोग गर्न सकिने सम्भावनाबारे पनि ढकालले चासो व्यक्त गरेका छन्। उनले आतिथ्यता, अनुसन्धानसम्बन्धी जानकारी तथा ज्ञान आदानप्रदानका लागि FH OÖ Campus Wels र H₂ Research Centre Wels परिवारप्रति आभार व्यक्त गरेका छन्।

BLENDED IDEA परियोजनाअन्तर्गत भइरहेको यो भ्रमणले नेपाल र युरोपबीच अनुसन्धान, नवप्रवर्तन, प्रविधि हस्तान्तरण तथा निजी क्षेत्रको क्षमता अभिवृद्धिमा थप सहकार्यका अवसर पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।



urjanews urjanews   
  • २०८३ मंसिर ५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार