बङ्गलादेश–नेपाल व्यापार विस्तारमा सहयोग

नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्सले बङ्गलादेश–नेपाल व्यापार विस्तारमा दुवै देशका कर्मचारीतन्त्र जिम्मेवार रहेका बताउँदै आपसी व्यापार बढोत्तरीका धेरै क्षेत्रमा दुई देशबीच सहकार्य गर्न सकिने प्रस्ट गर्नुभयो

बङ्गलादेश–नेपाल व्यापार विस्तारमा  सहयोग  
बङ्गलादेश–नेपाल व्यापार विस्तारमा  सहयोग

 भूगोलका हिसाबले नजिक भएर पनि नेपाल र बङ्गलादेशबीच अपेक्षाकृत व्यापार एवं आर्थिक सहयोग विस्तार हुन नसकेकामा अर्थतन्त्रका जानकारहरुले चिन्ता व्यक्त गरेका छन् ।

   उहाँहरुले सरकारीस्तरमा नै द्विपक्षीय व्यापार प्रवद्र्धनमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाल विश्व सम्बन्ध परिषद् र  यहाँस्थित बङ्लादेशी राजदूतावासद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘बङ्गलादेश–नेपाल व्यापार तथा आर्थिक सहयोग’ विषयक कार्यशालामा उहाँहरुले जनस्तर र व्यापारी–व्यापारीबाट मात्र व्यापार प्रवद्र्धन असम्भव भएको तर्क गर्दै सरकारीस्तरमा नै विशेष प्रयास हुनुपर्ने बताउनुभयो ।

  राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शङ्कर शर्माले ७.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरिरहेको बङ्गलादेशबाट नेपालले सिक्नुपर्ने बताउँदै उक्त देशले औद्योगिक विकासका लागि गरेका संरचनागत सुधारको नेपालले अनुसरण गर्नुपर्ने बताउनुभयो । उहाँले बङ्गलादेशले  नेपालमा रु ६ अर्ब ३० करोडभन्दा बढी लगानी गर्न चाहेका तर त्यसो हुन नसक्नुको कारण खोजिनुपर्छ भन्नुभयो । पूर्वराजदूत शर्माले सूचना प्रविधिका क्षेत्रमा नेपालले पनि उल्लेख्य प्रगति गरेकाले उक्त क्षेत्रमा द्विपक्षीय व्यापार अभिवृद्धि गर्न सकिने प्रशस्त सम्भावना रहेको बताउनुभयो ।

  नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर एवं पूर्वपर्यटन सचिव दीपेन्द्रपुरुष ढकालले दुई देशबीच पर्यटन प्रवद्र्धन गर्न सकिने भएकाले सतह मार्गबाट पर्यटकलाई आवागमनको सहज सुविधा उपलब्ध गराउनेतर्फ सरकार लाग्नुपर्ने सुझाव दिनुभयो । दैनिक दुईवटा विमानले दुईपटक उडान सेवा गरे पनि अपेक्षितरुपमा द्विपक्षीय पर्यटन प्रवद्र्धन हुन नसकेको उहाँले बताउनुभयो ।

   नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्सले बङ्गलादेश–नेपाल व्यापार विस्तारमा दुवै देशका कर्मचारीतन्त्र जिम्मेवार रहेका बताउँदै आपसी व्यापार बढोत्तरीका धेरै क्षेत्रमा दुई देशबीच सहकार्य गर्न सकिने प्रस्ट गर्नुभयो । परिषद्का अध्यक्ष हेमन्त खरेलको सभापतित्वमा भएको उक्त कार्यशालामा सचिव भुवन पाठकले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले बङ्गलादेशी उद्यमी–व्यवसायीलाई यहाँ लगानी गर्न अभिप्रेरित गर्नुपर्छ भन्नुभयो ।-प्रशिक्षार्थी पत्रकार

React on this Post