नवीकरणीय ऊर्जा प्रविधिलाई सर्वसाधारणको पहुँचसम्म पुर्यानुपर्नेमा जोड

पूर्वमन्त्री गणेश साहले नेपालले नवीकरणीय ऊर्जा क्षेत्रमा भइरहेका नवीन खोज अनुसन्धान गर्दा व्यावहारमा उपयोग हुने खालका प्रविधिमा जोड दिनुपर्ने बताउनुभयो ।

नवीकरणीय ऊर्जा प्रविधिलाई सर्वसाधारणको पहुँचसम्म पुर्यानुपर्नेमा जोड  
नवीकरणीय ऊर्जा प्रविधिलाई सर्वसाधारणको पहुँचसम्म पुर्यानुपर्नेमा जोड

काठमाडौँ । पूर्वमन्त्री गणेश साहले नेपालले नवीकरणीय ऊर्जाका क्षेत्रमा महत्तोपूर्ण ज्ञान र सीप हासिल गरेकाले अब त्यसलाई आमजनताको पहुँचसम्म पुर्याउन आवशयक रहेको बताउनुभयो । नेपाल नवीकरणीय ऊर्जा परिसंघको आयोजनामा भएको नेपालमा नवीकरणीय ऊर्जाको अवस्था र अवधारणा : प्रविधि हस्तान्तरण विषयक वेबिनार सेमिनारमा हिजो यस्ता ज्ञान र सीप बाहिरबाट ल्याउनुपर्ने अवस्था थियो तर अब स्वदेशी जनशक्तिमै भरपूर रहेको उल्लेख गर्दै उहाँले त्यस्तो प्रविधि सबैले स्वीकार गर्न, खपत गर्न र सबै ठाउँमा उपलब्ध हुनेखालको हुनुपर्दछ भन्नुभयो । उहाँले नवीकरणीय ऊर्जा क्षेत्रमा भइरहेका नवीन खोज अनुसन्धान गर्दा व्यावहारमा उपयोग हुने खालका प्रविधिमा जोड दिनुपर्ने बताउनुभयो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकूलपछि डा सुनीलबाबु श्रेष्ठले नेपालमा ६० प्रतिशत जनता अहिले शहरी क्षेत्रमा वसोवास गर्ने भएकाले उनीहरुको आवश्यकता र क्षमताअनुसारका नवीकरणीय ऊर्जा प्रविधिहरुको प्रवद्र्धन गर्नु पर्ने धारणा राख्नुभयो । उहाँले सरोकारवाला संघसंस्थाबीच समन्वय, पूर्वाधार निर्माण, रैथाने ज्ञान र प्रविधिको प्रवद्र्धन, नवीनतम् खोजमा जोड, वौद्धिक सम्पत्तिको अधिकारको रक्षा र प्रविधि हस्तान्तरण मुलुकको आर्थिक विकासका मुख्य आधार भएकाले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
कोलोम्बो प्लान स्टाफ कलेजका महानिर्देशक डा रामहरि लामिछानेले दिगो विकासका लक्ष्य हासिल गर्न प्राविधिक तथा व्यावहारिक तालिमलाई विस्तार गर्नु पर्ने बताउँदै हरित अर्थतन्त्रबाट मात्रै समृद्धि हासिल गर्न सकिनेछ भन्नुभयो । उहाँले नेपालले आर्थिक विकासमा फड्को मार्न नसक्नुमा विकासका लागि राजनीतिज्ञ र योजनाविद्हरुमा परम्परागत सोच कायमै रहनु हो भन्नुहुँदै उनीहरुमा ज्ञान, सीप र दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताउनुभयो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक डा नारायणप्रसाद अधिकारीले नवीकरणीय ऊर्जाका क्षेत्रमा नेपालले थुप्रै नमूना परियोजनाहरु निर्माण गरेको र यसलाई अब आम जनताको पहुँचमा पुर्याउने काम भइरहेको उल्लेख गर्नुभयो । उहाँले ऊर्जा सुरक्षाका लागि परमपरागत ऊर्जाको निर्भरता कम गर्न र आयाति इन्धनलाई प्रतिस्थापित हुने गरी ऊर्जा सम्मिश्रणमा जोड दिइएको बताउनुभयो । काठमाडौँ विश्वविद्यालयका प्राडा रमेश मास्के र डा सुनील लोहनीले विज्ञान प्रविधि र नवीकरणीय ऊर्जाका क्षेत्रमा प्रविधि हस्तान्तरण गरी सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य हासिल हुन सकिने धारणा राख्नुभयो ।
परिसंघका अध्यक्ष गुणराज ढकालले नवीकरणीय ऊर्जाको उपयोग र विस्तार गर्दा सरकारले कुनै एउटा प्रविधिलाई विशेष महत्व दिनुभन्दा उपलब्ध प्रविधि र स्थानीयवासीको आवश्यकताअनुसार आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गर्नुपर्दछ भन्नुभयो । सो अवसरमा काठमाडौँ विश्वविद्यालयका डा सुनील लोहनी, रिकास्टका कार्यकारी निर्देशक डा रामेश्वर अधिकारी, ऊर्जाविद् डा इन्दिरा शाक्य, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सन्तोष शर्माले पनि नवीकरणीय ऊर्जा प्रविधिलाई सर्वसाधारणको पहुँचसम्म पुर्यानुपर्नेमा जोड दिनुभयो ।

React on this Post