बुढीगण्डकी आयोजनाको ३२ अर्ब २७ करोड मुआब्जा वितरण

०७६/७७ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै इकाइले गोरखा जिल्लातर्फ २३ हजार ६ सय १३ रोपनी जमिनको १६ अर्ब ५१ करोड मुआब्जा वितरण गरेको जनाएको हो ।

बुढीगण्डकी आयोजनाको ३२ अर्ब २७ करोड मुआब्जा वितरण  
बुढीगण्डकी आयोजनाको ३२ अर्ब २७ करोड मुआब्जा वितरण
 काठमाडौं । बुढीगण्डकी जलविद्युत् आयोजनाले ३२ अर्ब २७ करोड मुआब्जा वितरण गरेको बुढीगण्डकी जलविद्युत् आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइ कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै इकाइले गोरखा जिल्लातर्फ २३ हजार ६ सय १३ रोपनी जमिनको १६ अर्ब ५१ करोड मुआब्जा वितरण गरेको जनाएको हो ।
त्यस्तै, धादिङतर्फ २३ हजार ८ सय २७ रोपनीको १५ अर्ब ७२ करोड मुआब्जा वितरण गरिएको छ । कार्यालय प्रमुख कृष्ण कार्कीका अनुसार हालसम्म आयोजनाको वित्तीय प्रगति ९९ प्रतिशत र भौतिक प्रगति ९४ प्रतिशत रहेको छ । तर, आयोजनाबाट विस्थापितहरूको घर–गोठको मुआब्जा वितरण हुन नसक्दा ७ अर्ब फिर्ता भएको छ । घर–गोठको लागत कट्टा गर्ने–नगर्ने निर्णय नहुँदा रकम फिर्ता गएको उनको भनाइ छ ।
अहिले घर–गोठलगायतका अन्य भौतिक संरचनाहरू, बोटबिरुवा तथा फलफूलको तथ्यांक संकलन गर्ने कार्य भइरहेको आयोजना प्रमुख कार्कीले बताए । ‘गोरखा र धादिङतर्फ छुट्टाछुट्टै टोली गठन गरेर तथ्याक संकलन गर्ने कार्य भइरहेको छ,’ उनले भने, ‘घर–गोठलगायतका अन्य संरचना, बोटबिरुवा तथा फलफूलको तथ्यांक संकलन भदौ मसान्तभित्र सक्ने लक्ष्य छ ।’ त्यस्तै, गोरखा र धादिङका बाँकी रहेका स्थानहरूको जलाशयवरिपरि सीमांकन कार्य र रिङरोड सर्भेको कार्य सम्पन्न भई डिपिआर अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । फिल्डबुकमा जग्गा कायम भएका, तर लालपुर्जा नभएका जग्गाहरूको हकमा भने मुआब्जा दिइएको छैन । आयोजनाले ०७६ मंसिर १५ गते बजार क्षेत्रको ५० हजारदेखि ७ लाख प्रतिआनाका दरले मुआब्जा निर्धारण गरी वितरण थालेको हो । कोरोनाको त्रासपूर्ण अवस्थामा समेत मुआब्जा वितरण र गुनासो फस्र्योट कार्यमा निरन्तरता दिइएको कार्कीले बताए ।

React on this Post