International News

संसारकै सस्तो विद्युतीय कार

चीनको साङ्घाई निवासी ५८ वर्षीय झाङ हाइटिङले आफ्नो एकल प्रयासमा सानो विद्युतीय कारको निर्माण गरेका छन् । यद्यपि, अन्य मानिसले पनि समयसमयमा आफ्नै एकल प्रयासमा कारको निर्माण गर्दै आएका छन् । तर, उनको यो निर्माण किन पनि फरक छ भने, यो कार वातावरणमैत्रीसमेत छ । मेशिनरी विशेषज्ञ तथा आविष्कारक झाङले आफ्ना वरपर खेर गएका सरसामान एकत्रित गरी यो कारको निर्माण गरेका हुन् । उनले आफ्नो दैनिक जीवनमा समेत यो कारको प्रयोग गरिरहेका छन् । जिरो कार्बन इमिशन विद्युतीय कारका रूपमा परिचित यो कारको प्रयोग आफूले विगत १ वर्षदेखि निरन्तर गरिरहेको उनी बताउँछन् । साधारण कारभन्दा फरक देखिने भएकाले मानिसहरू बाटोमा यसलाई निकै बेरसम्म नियालेर हेर्ने गरेको अनुभव उनले सुनाए । ‘सडकमा भेटिने धेरै मानिस एकपटक ड्राइभ गर्न अनुमतिसमेत माग्ने गर्छन्,’ उनले भने । झाङद्वारा घरमै निर्मित उक्त कारको अधिकतम गति ३० किमी प्रतिघण्टा रहेको छ । पूर्ण चार्ज गरिसकेपश्चात् यसलाई लगातार ५० किमीको दूरीसम्म मज्जाले चलाउन सकिन्छ । कारको बढ्दो लोकप्रियता र सडकमा भेटिने मानिसको प्रतिक्रियाका आधारमा उनले अब यस कारको ठूलो परिमाणमा निर्माण गर्ने योजना बनाएका छन् । यसको मूल्य करीब ५ हजार ६ सय युआन अर्थात् ८ सय २० अमेरिकी डलर राख्ने उनले जानकारी दिए ।

स्रोत: अभियान

comments powered by Disqus

Interview+ View All

Article+ View All