News

प्राधिकरणका उपकार्यकारी निर्देशकसहित उच्च कर्मचारीको सरुवा

काठमाडौँ, ०२ फाल्गुन: नेपाल विद्युत् प्राधिकरणले उपकार्यकारी निर्देशकसहित ३१ उच्च कर्मचारीको सरुवा गरेको छ । प्राधिकरण कार्यकारी निर्देशकस्तरीय बैठकले बुधबार सरुवाको निर्णय गरेको हो । सरुवा हुनेमा प्रसारण निर्देशनालयका राजीव शर्मा, वितरण तथा ग्राहक सेवा निर्देशनालयका सुनिलकुमार ढुंगेल, उत्पादन निर्देशनालयका हरराज न्यौपाने, इन्जिनियरिङ निर्देशनालयका मोहनरत्न शाक्य छन् । शर्मा, ढुंगेल, न्योपाने र शाक्यलाई क्रमशः इन्जिनियरिङ, उत्पादन, वितरण तथा ग्राहक र शाक्यलाई प्रसारण निर्देशनालय सरुवा गरिएको छ । शाक्यलाई बूढीगण्डकी जलाशय आयोजनाको संयोजकको जिम्मेवारी समेत तोकिएको छ । यस्तै, योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका जगदिश्वरमान सिंहलाई सोही ठाउँमा पदस्थापन गरिएको छ । एनइए इन्जिनियरिङ कम्पनीको प्रमुखको जिम्मेवारीमा रहेका हितेन्द्रदेव शाक्यलाई आयोजना व्यवस्थापन निर्देशनालयमा पदस्थापन गरिएको छ । उनलाई हाल कम्पनीमै काजमा खटाइएको प्राधिकरणले जानकारी दिएको छ । यसैगरी, अर्थ र प्रशासन निर्देशनालयका लेखनाथ कोइराला तथा शान्तिलक्ष्मी शाक्यलाई सोही ठाउँमा पदस्थापन गरिएको छ । उनीहरू गत माघ १० गते उपकार्यकारी निर्देशकमा बढुवा भएका थिए । संस्थागत योजना तथा अनुगमन विभागका अनिल राजभण्डारीलाई नेविप्रा सहायक कम्पनी अनुगमन निर्देशनालयमा पदस्थापन गरिएको छ । उनी पनि माघ १० गते उपकार्यकारी निर्देशकमा बढुवा भएका थिए । विराटनगर क्षेत्रीय कार्यालयका निर्देशक ब्रजभुषण चौधरीलाई प्रसारण निर्देशनालयअन्तर्गत निमित्त उपकार्यकारी निर्देशकको जिम्मेवारी तोकी २२० केभी लाइनमा सरुवा गरिएको छ । ११औं तहका रविन्द्रराज श्रेष्ठ, रामजी भण्डारी, दुर्गानन्द बडियैत, दीर्घायुकुमार श्रेष्ठ र ओमप्रकाश राठी पनि सरुवा भएका छन् । उनीहरूलाई क्रमशः प्रणाली योजना, इनर्जी इफिसियन्सी तथा चुहावट नियन्त्रण, संस्थागत योजना तथा अनुगमन, ग्रिड सञ्चालन र प्राविधिक सर्पोट विभागमा सरुवा गरिएको छ । प्राधिकरणले अन्य १०औ देखि ७औं तहसम्मका कर्मचारीको पनि सरुवा गरेको छ । 

comments powered by Disqus

Interview+ View All

Article+ View All