News

विधुत उत्पादन घटे पछि कुलेखानी र आयातित विद्युतले माग धान्दै

काठमाडौँ, २८ पुष: नदी तथा खोलामा पानीको बहाब घट्दै गएपछि सञ्चालित विद्युतगृह पूर्ण क्षमतामा चल्न हुन छोडेका छन् । देशमा निर्माण भएका अधिकांश आयोजना नदी प्रवाही (आरओआर) भएकाले पनि यो समस्या हरेक वर्ष दोहोरिन्छ । केन्द्रीय प्रणालीमा अहिले करिब हजार मेगावाट विद्युत् उपलब्ध छ । तर, आपूर्ति झन्डै १ हजार ३ सय पुगेको छ । हिउँदको समयमा उत्पादन आधा पनि हुँदैन । यही कारण नेपाल विद्युत् प्राधिकरणलाई माग र आपूर्ति मिलाउन हम्मे परेको छ । प्राधिकरणलाई अहिले मागअनुसार आपूर्ति मिलाउन कुलेखानी जलाशय (९२ मेगावाट) र भारतबाट आयातित विद्युत्मा भर पर्नु परेको छ ।

उच्च माग हुँदा वा साँझको समयमा भारतबाट ४ सय ४१ मेगावाटसम्म विद्युत् आयात भएको भार प्रेषण केन्द्रका प्रमुख विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । प्रणालीमा उपलब्धमध्ये आधा (५ सय मेगावाट) विद्युत् निजी क्षेत्रको योगदान हो । तर, उसका आयोजनाबाट अहिले करिब १ सय ९१ मेगावाटमात्र उत्पादन भएको छ । प्राधिकरणका आयोजनाको कूल उत्पादन ३ सय ८० मेगावाट छ । माग र आपूर्तिको यो फराकिलो खाल्टो पुर्न पनि भारतबाट विद्युत् आयात बाध्यता भएको छ । देशको सञ्चित डिजेल भनिएको कुलेखानी जलाशय अहिले दैनिक १५ घन्टासम्म सञ्चालन भइरहेको छ । आयातित विद्युत र कुलेखानीको भरमा प्राधिकरण सिंगो प्रणाली धान्न बाध्य छ । प्राधिकरणका अनुसार देशकै ठूलो विद्युत्गृह १ सय ४४ मेगावाटको कालीगण्डकी ‘ए’ बाट ७० मेगावाटमात्रै उत्पादन भइरहेको छ । यस्तै, ७० मेगावाटको मस्र्याङ्दी तथा ६९ मेगावाटको मध्यमस्र्याङ्दीले क्रमशः ३८ र ३५ मेगावाट उत्पादन गरेका छन् । २१ मेगावाटको त्रिशूलीको उत्पादन पनि १२ मेगावाटमा झरेको छ । विद्युत्गृहको उत्पादन घट्दा काठमाडौं उपत्यकाको माग भने बढेर ३ सय ३० मेगावाट पुगेको छ ।

साँझको समयमा माग बढ्दा आपूर्ति व्यवस्थापनमा निकै कठिनाई भएको श्रेष्ठले बताए । उत्पादन घटे पनि माग बढ्दा साँझको समयमा अधिक विद्युत् खपत हुने गरेको छ । यसैले अनावश्यक बत्ती नबालिदिन प्राधिकरणले आग्रहसमेत गरेको छ । यही समयमा बढी विद्युत् खपत गर्ने उपकरण नचलाउन पनि आग्रह गरिएको छ । उता भारतबाट गत वर्षभन्दा बढी विद्युत् आयात भइरहेको केन्द्रले जनाएको छ । गत वर्ष यही अवधिको तुलनामा अहिलेको आयात करिब ३५ प्रतिशत बढी रहेको श्रेष्ठले बताए ।

comments powered by Disqus

Interview+ View All

Article+ View All