News

मध्यमस्र्याङ्दीको उत्पादन २० मेगावाट घट्यो

काठमाडौँ, १५ मंगसिर: लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा कम विद्युत् उत्पादन हुन थालेको छ । मस्र्याङ्दी नदीमा पानीको बहाव कम भएपछि परियोजनाले उत्पादन हुँदै आएको विद्युत्को क्षमतामा ह्रास आएको हो । वर्षातको मौसममा टर्बाइन खुला छोड्दा ७२ मेगावाटसम्म उत्पादन हुने जलविद्युत् केन्द्रबाट अहिले दैनिक औसत ५० मेगावाट मात्रै उत्पादन हुने गरेको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख पशुपतिराज गौतमले जानकारी दिए । जलविद्युत् केन्द्रमा राति र दिउँसो एउटा टर्बाइन बन्द गरी एउटा टर्बाइन (३५ मेगावाट) मात्रै सञ्चालन गर्ने गरिएको छ ।

दिउँसो २ देखि ३ घन्टा र राति ३ देखि ४ घन्टाको समय एउटा मात्रै टर्बाइन सञ्चालन गरी पानी सञ्चित गरिएको उनले बताए । मस्र्याङ्दी नदीमा यसपटक चाँडै पानीको बहाव घट्न थालेको हो । कात्तिक ९ बाट पूरै गेट बन्द गरेर पानीलाई सुरुङमार्फत जलविद्युत् उत्पादनमा प्रयोग गरिएको उनले बताए । पोहोर साल कात्तिक २५ सम्म उत्पादन घटेको थिएन । यसपटकको हिउँदमा गत वर्षको तुलनामा उत्पादन अझ घट्न सक्ने उनको भनाइ छ । ‘छिटो नदी सुकेपछि बिजुली उत्पादन अघिल्ला वर्षहरूभन्दा कम हुने सम्भावना छ,’ उनले भने, ‘गत वर्ष औसत २७ मेगावाटसम्म थियो । यो वर्ष झन् घट्ने देखिएको छ ।’ राति र दिउँसोको पानी जम्मा गरेर साँझ–बिहान पिक आवरमा ७० मेगावाट नै उत्पादन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । केन्द्रबाट वर्षायाममा ७२ मेगावाटसम्म विद्युत् उत्पादन हुन्छ ।

यस्तै ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनामा पनि पानीको संकट देखिएको छ । यसअघि पानी छोडेर पूरै क्षमतामा विद्युत् उत्पादन गरिरहेको आयोजनाले अहिले पूरै पानी बन्द गरेर सुरुङमार्फत विद्युत् उत्पादनका लागि पठाएको छ । आयोजनाका जनसम्पर्क प्रमुख कर्ण अधिकारीका अनुसार तत्कालै आयोजनाको विद्युत् उत्पादन नघटेको र पानी भने सबै विद्युत् निकाल्न प्रयोग भएको बताए । ‘नोभेम्बर महिना कटेपछि पानी नपुग्न सक्छ । त्यसपछि भने उत्पादन घट्ने सम्भावना छ,’ उनले भने ।

स्राेत : नयाँ पत्रिका

comments powered by Disqus

Interview+ View All

Article+ View All