News

विद्युत् आपूर्ति सुधार गर्न ८ सबस्टेसन निर्माण गरिँदै

काठमाडौँ, १४ मंगसिर: नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्तिमा सुधार गर्दै ग्रामीण क्षेत्रमा सेवा पुर्याउन देशका ८ ठाउँमा सबस्टेसन निर्माण सुरु गरेको छ । केन्द्रीय लाइन नपुगेका स्थानमा सेवा पुर्याउने उद्देश्यले निर्माण थालिएको हो । विश्व बैंकको सहयोगमा ‘ग्रिड सोलार इनर्जी इफिसियन्सी आयोजना’ अन्तर्गत काम सुरु भएको छ । अहिले स्थलगत अध्ययन तथा डिजाइन स्वीकृतको चरणमा काम भइरहेको आयोजना प्रमुख प्रकाश राउतले बताए । ‘विद्युत् प्रवाह भइरहेका तर भोल्टेज समस्या देखिएका ग्रामीण क्षेत्रमा सेवा पुर्याउने हो,’ उनले आइतबार ऊर्जा खबरसँग भने, ‘केन्द्रीय प्रसारण लाइन नपुगेका ठाउँसम्म उज्यालो पुर्याउने पनि आयोजनाको उद्देश्य हो ।’ ठेक्का सम्झौताको मितिदेखि १८ महिनाभित्र काम पूरा गर्ने लक्ष्य छ । ‘डिस्ट्रिब्युसन सिस्टम रि–इनफोर्समेन्ट आयोजना’ मा बैंकले दिएको सहयोग प्राधिकरणले ग्रिड सोलार शीर्षकअन्तर्गतको बजेटबाट खर्च गरेको छ । यसमा बैंकको करिब ७६ करोड रुपैयाँ सहयोग छ । प्राधिकरणका अनुसार कपिलवस्तुको गोरुसिंगे र लबानी, अर्घाखाँचीको हंसपुर, गुल्मीको मरभुङ, सिन्धुलीको लाम्पाटार र खुर्कोट तथा रामेछापको दोरम्बा र बाम्तीमा सबस्टेसन निर्माण हुनेछन् । कपिलवस्तुमा ६/८ एमभिए र अन्य ठाउँमा ३ एमभिएका ट्रान्सफर्मर जडान गरी सबस्टेसन निर्माण हुनेछ । सम्पूर्ण कामको जिम्मा जय दुर्गे इन्जिनियरिङ कम्पनीले पाएको छ । कम्पनीसँग गत असार (२०७४ असार) मा ठेक्का सम्झौता भएको थियो । २०७५ पुसभित्र निर्माण पूरा गर्ने गरी कामलाई तीव्रता दिइएको कम्पनीका प्रमुख सागर लुइँटेलले बताए ।

comments powered by Disqus

Interview+ View All

Article+ View All