News

पहिलो पटक सरकारले ‘पम्प स्टोरेज’ जलाशयको अनुमतिपत्र जारी गर्यो

काठमाडौँ, २४ कार्तिक: सरकारले पहिलो पटक नेपाल विद्युत प्राधिकरणलाई ‘पम्प स्टोरेज’ जलाशय जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र दिएको छ । कास्कीको पोखरा–लेखनाथ महानगरपालिकास्थित बेगनास र रूपा तालमा निर्माण हुने १ सय ५० मेगावाटको ‘बेगनास–रूपा पम्प जलाशय’ आयोजनाका लागि ऊर्जा मन्त्रालयले बिहीबार अनुमतिपत्र जारी गरेको हो ।

कागजात पुगेको ७ दिनमै ऊर्जा मन्त्रालयले विद्युत प्राधिकरणलाई दियो अनुमतिपत्र

प्राधिकरणले अनुमति लिन गत असोज २७ गते विद्युत विकास विभागमा आवेदन दिएको थियो । आवश्यक विवरण नपुगेको भन्दै विभागले थप विवरण पेस गर्न पत्राचार गरेको थियो । मागेअनुसार प्राधिकरणले गत शुक्रबार (कात्तिक १७ गते) सबै विवरण बुझाएपछि विभागले बिहीबार दिउँसो मन्त्रालयमा सिफारिस गरेको थियो । मन्त्रालयले बिहीबार नै अनुमतिपत्र दिने निर्णय सदर गरेको छ ।

आवश्यक कागजात पुगेको ७ दिनमै अनुमतिपत्र दिने निर्णय भएको विभागका महानिर्देशक नविनराज सिंहले बताए । ‘कागजात पुगेको २४ घन्टामै अनुमति दिन तयार छौं तर बेगनास–रूपाको विवरण आउन केही समय लाग्यो,’ उनले बिहीबार ऊर्जा खबरसँग भने, ‘विधि तथा प्रक्रिया पुगेको अवस्थामा कुनै आयोजनाको पनि अनुमतिपत्र लिन कसैले रोक्दैन । विभागले पनि रोक्न सक्दैन ।’

 

तस्बिर साैजन्य : तनहुँ हाइड्राेपावर कम्पनीका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेकाे फेसबुक

 

सय मेगावाटभन्दा ठूला आयोजनाको अनुमतिपत्र विभागको सिफारिसमा ऊर्जा सचिवले जारी गर्ने प्रावधान छ । विभागले पठाएको विवरण र प्रक्रियाकै आधारमा अनुमति दिने निर्णय सदर भएको ऊर्जा सचिव अनुपकुमार उपाध्यायले बताए ।

लेखनाथको सुन्दरीडाँडास्थिति बेगनासको पानी रुपामा खसालेर विद्युत उत्पादन गर्न सकिने प्राधिकरणले जनाएकाे छ । विद्युतको उच्च माग हुने साँझ (पिक आपर) मा करिब ४ घन्टा सञ्चालन गर्न सकिने गरी आयोजना निर्माण हुनेछ ।

तस्बिर साैजन्य : तनहुँ हाइड्राेपावर कम्पनीका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेकाे फेसबुक

प्राधिकरणका अनुसार बेगनास र रूपा तालबीचको ५७ मिटर प्राकृतिक हेड (उचाई) प्रयोग गरी आयोजना निर्माण गरिनेछ । आयोजना निर्माणले तालको अवस्था र सौन्दर्यलाई कुनै असर नपर्ने प्राधिकरणकाे दाबी छ ।

अध्ययनपछि ५ वर्ष निर्माण अवधि तोकिएको आयोजनाबाट वार्षिक २ सय १९ गिगावाट घन्टा विद्युत उत्पादन हुने अनुमान छ । उत्पादित विद्युत विद्युतगृहदेखि ४ किलोमिटर दूरीको २२० केभी लेखनाथ सबस्टेसनमा जडान गर्ने प्रस्ताव गरिएको छ ।

आयोजनाको लागत १३ करोड ५ लाख २२ हजार ७ सय १९ अमेरिकी डलर अनुमान गरिएको छ । प्राधिकरणका अनुसार यो लागतमा आयोजना निर्माण हुँदा प्रतिकिलोवाट ८ सय ७० डलरमा पूरा हुन्छ । आयोजनाबाट १६.९९ प्रतिशत प्रतिफल (रिटर्न अन इक्विटी) प्राप्त हुने अनुमान छ ।

comments powered by Disqus

Interview+ View All

Article+ View All