News

माथिल्लो त्रिशूली थ्रीए समयमै सक्न निर्देशन

विदुर, २४ कार्तिक: नेपाल विद्युत् प्राधिकरणले नुवाकोट र रसुवाको सिमानामा निर्माण गरिरहेको माथिल्लो त्रिशूली थ्री ‘ए' जलविद्युत् आयोजनाको ऋणको म्याद थपिएको छ । आयोजनाको चार दशमलव एक किलोमिटर लामो सुरुङ छेड्ने काम पनि पूरा भएको छ । नुवाकोटको सदरमुकाम विदुरदेखि १५ किलोमिटर उत्तर त्रिशूली नदी किनारामा रहेको ६० मेगावाट क्षमताको उक्त आयोजना सन् २०११ को जुनदेखि काम सुरु गरिएकोमा गत २०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण २० महिना निर्माण कार्य बन्द भएको थियो । आयोजना प्रमुख फणीन्द्र जोशीले चीनको एक्जिम बैंक र नेपाल सरकारबीच ऋणको म्याद थप गर्ने सम्झौता गरिएपछि आयोजनाको कामले गति लिएको बताए ।

चीनको एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा आयोजना सुरु भएकोमा चीनले ऋणको म्याद पाँच वर्षका लागि थपेको जोशीले बताए । आयोजनाको ऋण म्याद गत २०१६ मेदेखि सकिएको थियो । आयोजनामा दुई सय चिनियाँ कामदार, एक सय ५० जना नेपालीसहित तीन सय ५० जना कार्यरत छन् ।

आगामी सन् २०१९ अप्रिल ३० तारिखसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको माथिल्लो त्रिशूली थ्री ‘ए' जलविद्युत् आयोजनाको काम हाल ६५ प्रतिशत पूरा भएको जोशीले जानकारी दिए । आयोजनाको जलविद्युत् गृहस्थल नुवाकोटको मनकामना हुँदै निर्माण भइरहेको प्रसारण लाइनको कामसमेत भइरहेको छ ।


भूकम्पपछिको पहिरोले नुवाकोटको सिम्लेदेखि आयोजनाको बाँधस्थल रसुवाको डाडागाउँसम्म पाँच किलोमिटर लामो सडकमा क्षति पुर्‍याएको थियो ।


चीनको एक्जिम बैंकका प्रतिनिधि र नेपालको अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले ऋण म्याद थप गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेसँगै ऋणको समयावधि सन् २०२१ सम्म थपिएको छ । उक्त जलविद्युत् आयोजनाको काम हाल विभिन्न आठ स्थानबाट भइरहेको छ ।

आयोजनाको प्रसारण लाइनमा रहेका एक सय ४२ थान विद्युतीय टावरमध्ये ९२ वटा र सामुदायिक वन क्षेत्रभित्र रहेका २६ मध्ये २५ वटाको निर्माण पूरा भएको जोशीको भनाइ छ । भूकम्पले रोकिएको आयोजना निर्माण सन् २०१७ को मार्चबाट मात्र सुरु भएको थियो । सरकारले उक्त आयोजनाको सुरुङ खन्ने काम सेप्टेम्बर २५ सम्म सक्ने समय सीमा तोकेकोमा समयमा सुरुङ छेडिएको हो । चार दशलमव एक किमि लामो सुरुङमध्ये भूकम्प आउनुअघि ३.८९ किमि खनिसकिएको थियो ।

भूकम्पका कारण झन्डै २ वर्ष काम रोकेको ठेकेदार कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी) गत साउनबाट मात्र पूर्ण रूपमा काममा फर्किएको थियो । भूकम्पले सडक मार्ग बिग्रेपछि यसले निर्माण कार्य रोकेको थियो । भूकम्पपछि काम छाडेको यस कम्पनीले हाल विद्युत् गृहको संरचना बनाउने काम गरिरहेको छ । विद्युत् गृह र प्रसारण लाइनको काम ७० प्रतिशत पूरा भएको माथिल्लो त्रिशूली थ्री ए आयोजनाले जानकारी दिएको छ । जलविद्युत् गृह नुवाकोटको शान्तिबजारदेखि त्रिशूली हँदै धादिङको छत्रेदेउराली-नागढुंगा-मातातीर्थसम्म ४६ किलोमिटर लामो प्रसारण लाइनको कामसमेत भइरहेको छ ।

भूकम्पपछिकोे पहिरोले नुवाकोटको सिम्लेदेखि आयोजनाको बाँधस्थल रसुवाको डाडागाउँसम्म पाँच किलोमिटर लामो सडकमा व्यापक क्षति पुर्‍याएको थियो । बाटो निर्माण गरिसकेर आयोजनाको निर्माण सञ्चालन गरिएको हो । भूकम्पपछि आयोजनाको दायाँबायाँ रसुवा र नुवाकोटको पहाडको खोचमा काम गर्ने नेपाली र चिनियाँ कामदार काम छोडेर हिँडेकोमा अहिले मात्र काममा फर्किएका छन् ।

भूकम्पपछि रसुवाको राम्चेतर्फबाट आएको पहिरोले बाँधमा निकै क्षति पुर्‍याएकोमा त्यसलाई पूर्ववत् अवस्थामा ल्याइएको छ । चीनको एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा आयोजनाको निर्माण कार्य भइरहेको छ । नेपाल सरकारले सन् २०१६ मेदेखि एक्जिम बैंकलाई ऋण रकमको एक दशमलव ७५ प्रतिशत ब्याज तिर्नुपर्ने सम्झौता छ । आयोजनाका लागि ऋणदाता चिनियाँ बैंकसँग लिएको ऋणको अवधि थप गरिदिन सरकारले आग्रह गरेपछि म्याद थपिँदा आयोजना पक्ष निकै खुसी छ ।

सरकारले यस आयोजनाका लागि आठ अर्ब ९० करोड ऋण लिएको हो । भूकम्पको कारण यस आयोजनामा २५ करोड रुपैयाँभन्दा बढिको क्षति पुगेको थियो । यस आयोजनाको निर्माण अवधि दुई पटक थप भइसकेको छ । विनाशकारी भूकम्प, विविध समस्या तथा अवरोधका कारण आयोजनाको काम निर्धारित समयभित्र नसकिएको निर्माण पक्षले जानकारी दिएको छ । आयोजनाको पहिले २६ महिना र पछि ३४ महिना निर्माण अवधि थप गरिएको हो ।
यसअघि सन् २०१६ जुनसम्म सम्पन्न गर्नुपर्ने लक्ष्य थियो । हाल भूमिगत विद्युत् गृहमा संरचना बनाउने काम भइरहेको छ । पहिले ८९ मिलियन अमेरिकी डलर निर्माण लागत रहेकोमा हाल बढेर ११ अर्ब रुपैयाँ पुगेको छ ।

समयमै आयोजना सक्न निर्देशन

विद्युत् प्राधिकरणले निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको निर्माण कम्पनी सीजीजीसीलाई आगामी हिउँदसम्ममा उत्पादन थाल्ने गरी काम गर्न निर्देशन दिएको छ । आयोजनामा संलग्न ठेकेदार कम्पनी र आयोजनाले तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । ऊर्जा सचिव अनुपकुमार उपाध्याय र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आयोजना स्थलमा पुगेर काम छिटो सक्न निर्देशन दिएका हुन् । तोकिएको समयअघि नै निर्माण सम्पन्न गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता उपाध्याय र घिसिङले दिएको जोशीले बताए । ‘राष्ट्रिय गौरवका सबै आयोजनालाई सरकारले उच्च प्राथमिकता दिएर विशेष निगरानीमा राखेको छ, त्यसैले तोकिएको समयमै निर्माण सकिसक्नुपर्छ', उपाध्यायले भने, ‘निर्माणमा आउने अवरोध र समस्या समाधानका लागि मन्त्रालय र प्राधिकरण सञ्चालक समिति सधैं तयार छन् ।'

आयोजनाको हालसम्म ६५ प्रतिशत निर्माण सकिएको छ । लागत र समय बढ्न नदिन इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडेलमा काम भइरहेको छ । सिभिल, विद्युत् गृह, बाँध, सुरुङलगायत संरचना तथा इलेक्ट्रो र हाइड्रो मेकानिकलसम्बन्धी सम्झौता भएपछि २०६८ साल जेठ १८ गतेदेखि आयोजना कार्यान्वयनमा आएको थियो । समयमै निर्माणस्थल दिन नसक्दा, विद्युत् गृह भूमिगत या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णयलगायत कारणले आयोजनाको काममा ढिलाइ भएको थियो । ठेकेदार कम्पनीले अहिले करिब तीन सय कामदार परिचालन गरी काम गरिरहेको छ ।

मुख्य संरचना, प्रसारण लाइन, भूकम्प र पहिरोले क्षति पु‍र्‍याएको बाँधस्थलको दायाँबायाँ र प्रवेशमार्गका विभिन्न स्थानमा भूक्षय नियन्त्रण र सडक मर्मत तीव्र बनाइएको छ । आयोजनाको काममा तीव्रता दिन कुनै समस्या नरहेको कार्यकारी निर्देशक घिसिङले बताए । ‘चिनियाँ एक्जिम बैंकले ऋणको अवधि थपिसकेको छ, सेनाले पनि काम सुरु गरिसकेको छ', उनले भने, ‘आगामी फेब्रुअरीभित्र विद्युत् उत्पादन गर्ने गरी काम हुनुपर्छ, त्यस समयमा निर्माण सकिए हिउँदको विद्युत् माग व्यवस्थापन गर्न भारतबाट बिजुली ल्याउनुपर्दैन ।'

comments powered by Disqus

Interview+ View All

Article+ View All