News

कात्तिक १८ बाट टिबिएमले भेरी–बबईको सुरुङ खन्ने

काठमाडौं, १४ कात्तिक: भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ आगामी कात्तिक १८ (शनिबार) देखि खन्ने गरी सबै तयारी पूरा गरिएको छ । आधुनिक टनेल बोरिङ मेसिन (टिबिएम) बाट सुरुङ खनिनेछ । भेरी नदीको पानी सुरुङबाट बबईमा खसालेर सिँचाइ तथा विद्युत उत्पादन गर्ने लक्ष्यले आयोजना अघि बढाइएको छ । टिबिएम आयोजनास्थल ल्याएर फिटिङ भइसकेकाले यसै सातादेखि काम सुरु हुने आयोजनाका सिडिई रुक्मांगत खनालले बताए ।

‘मेसिनले परीक्षणका रूपमा १० मिटर सुरुङ खनिसकेको छ, नोभेम्बर ४ तारिख (कात्तिक १८ गते) देखि पूर्णरूपमा वा नियमित खन्ने काम सुरु हुन्छ,’ उनले  भने, आयोजना ५८ महिनामा पूरा गर्ने गरी ठेक्का भएको छ । दुई वर्षभित्र सुरुङ पूरा गर्ने योजना हो ।’ १२.२ किलोमिटर सुरुङ हात्तीखालबाट सुरु भई बाँधस्थल सुर्खेतको चिप्लेसम्म खनिनेछ । यसअघि ड्रिलिङ एन्ड ब्लाष्टिङ गरी १ सय ५० मिटर सुरुङको मुख खनिएको थियो । सुरुङ खनेर कंक्रिट लाइनिङ वा फिनिसिङ गर्न ३ हजार वटा सेग्मेन्ट तयार भएको पनि खनालले जानकारी दिए । उनका अनुसार उक्त सेग्मेन्टले करिब ७ सय मिटर सुरुङ लाइनिङ गर्न सकिन्छ ।

आयोजनामा सुरुङ खन्ने विश्वको आधुनिक प्रविधि भित्र्याएर पहिलोे पटक काम गर्न लागेको छ । सुर्खेतको हात्तीखालदेखि चिप्लेसम्म ४.२ डायमिटरको सुरुङ खनेर भेरीको पानी बबई नदीमा खसालिनेछ । हालसम्म आयोजना निर्माणस्थलसम्म पहुँचमार्ग, आवास निर्माणलगायत काम पूरा भएको छ । आयोजना निर्माणको जिम्मा चीनको चाइना ओभर्सिज ग्रुप कम्पनी (कोभेक) ले पाएको छ ।

राष्ट्रिय गौरवको सूचीमा राखिएको आयोजनाबाट बाँके र बर्दियाका ५१ हजार हेक्टर खेतियोग्य जमिनमा सिँचाइ पुर्याउने लक्ष्य छ । यस्तै, सुरुङबाट निस्केको पानी उपयोग गरी ४८ मेगावाटको जलविद्युत आयोजना पनि निर्माण हुनेछ । विद्युतगृह सुर्खेतको हात्तीखालमा निर्माण हुनेछ ।

comments powered by Disqus

Interview+ View All

Article+ View All