Article

वायवीय ऊर्जा र तिनका स्रोत

काठमाडौँ, १३ कार्तिक: वैदिक देवतामा मरुद्गणको विशिष्टतम स्थान छ ।   प्रायः सबै वैदिक संहिताहरूमा उनीहरूका देन र विशेषताबारे धेरथोर चर्चा भेटिन्छन् ।  तिनमा पनि विशेषगरी ऋग्वेद संहिताको स्थान सर्वाधिक अगाडि देखिएको छ ।  यस संहितामा मात्रै उनीहरूका प्रशस्ति गान सम्बन्धी कुल ४६ वटा सूक्त रहेका छन् अर्थात् वैदिक देवतामा इन्द्र, अग्नि र अश्विनिकुमारपछि चौथो मर्यादाक्रमको अवस्था हो ।  उल्लिखित सूक्त ऋग्वेदका तृतीय र नवौँ मण्डलबाहेक अन्य सबै मण्डलमा छरिएर रहेका छन् ।  यीमध्ये प्रथम मण्डलमा सर्वाधिक बढी १६ वटा सूक्त छन् भने त्यसपछि क्रमशः पञ्चम मण्डलमा १२ वटा, आठौँ मण्डलमा छ वटा, दशौ मण्डलमा पाँच वटा, सातौँ मण्डलमा चार वटा, तथा द्वितीय, चतुर्थ र छैटौँ मण्डलमा एक एक वटा सूक्त रहेका छन् ।  (ऋग्वेद नेपाली अनुवाद, तिलकप्रसाद लुँइटेल) उल्लिखित सूक्तमा केही सूक्त उनीहरूद्वारा साक्षात्कार भएका सूक्त पनि पर्छन् ।  यिनमा ऋग्वेद आठौँ मण्डलको १८ औँ तथा ४६ औँ सूक्त र दशौँ मण्डलको १८६ औँ सूक्त पर्छन् ।  यस अर्थमा उनीहरूलाई वैदिक देवता मात्र नभएर मन्त्रद्रष्टा ऋषिहरू पनि हुन् भन्नुपर्ने हुन्छ ।  बाहेक यजुर्वेद, सामवेद र अथर्ववेदमा पनि उनीहरू सम्बन्धित केही सूक्त तथा मन्त्र रहेका भेटिएका छन् ।

वैदिक ग्रन्थमा उल्लेख भएअनुसार वायवीय ऊर्जाको समेत आदिम स्रोत मानिएका मारुद् जति शक्तिशाली मानिएका छन् त्यति नै तेजस्वी देखिएका पनि छन् ।  (ऋग्वेद १ ।  ८६ ।  ९) समग्र प्राणी समुदायको जीवनको मूलाधार मानिएका मरुद्गण वैदिक देवता त हुँदै हुन् साथसाथै द्यावाभूमि सर्वत्र एकैसाथ स्वच्छन्द विचरण गर्न सक्ने प्राकृति शक्ति पनि हुन् ।  (ऐ ऐ ८६ ।  ८) वायु, पवन, अनिल आदि विभिन्न नामले पुकारिने यिनीहरूलाई वैदिक ग्रन्थले सप्तमरुतको संज्ञा दिएका छन्, जसनका नाममा आवह, प्रवह, उद्वह, संवह, विवह, परावह र परिवह आदि रहेका छन् तर पौराणिक ग्रन्थहरूले भने यिनीहरूको सङ्ख्या ४९ वटा उल्लेख गरेका छन् ।  (भागवत ६ ।  १८ ।  ६२) नेपाली लौकिक भनाइमा पनि मरुद्गण भन्नाले ४९ वटा नै बुझिन्छ ।  (संक्षिप्त नेपाली शब्दसागर वसन्तकुमार शम्र्मा नेपाल पृष्ट ६३१)

वैदिक ग्रन्थका अनुसार परोपकारी,  सङ्कट नाशक, सर्वकर्ता, सर्वद्रष्टा आदि प्रायः सबै दैवीगुणका सङ्गम नै मानिएका मरुद्गणहरूलाई वेदमा कतै रुद्रपुत्र भनिएको छ (ऋग्वेद १ ।  ८५ ।  १) भने कतै पृथ्वीपुत्र भनिएको छ ।  (ऋग्वेद ऐ ऐ ३) अझ कतै द्यावाभूमिका पुत्र भनिएको पनि भेटिन्छ ।  (यजुर्वेद २७ ।  २४ ) तर पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार भने उनीहरूका बाबु कश्यप्रजापति हुन् भने आमाको नाम दक्षप्रजापति पुत्री दिती रहेकी छन् ।  भागवतमा व्यासजीले यसबारे सुन्दर विवेचन गरेका छन् ।

व्यासजीका अनुसार एकपटक महारानी दितीले देवताहरूलाई जित्न सक्ने पुत्र प्राप्तिका लागि गुप्त तरिकाले वैदिक अनुष्ठान शुरु गरेकी थिइन् तर संयोग भनौँ वा नियति उनीद्वारा एकदिन अनुष्ठानमा सानो त्रुटि हुन पुग्यो, जुन कुरो देवराज इन्द्रजस्तो छिद्रान्वेषी विशारदबाट लुक्ने प्रश्नै थिएन ।  उनले तत्कालै दितीको गर्भमा प्रवेश गरी उनको गर्भस्थ बालकलाई पहिले सात टुक्रा बनाए तर यसबाट उनीहरूको मृत्यु त के ऐय्या पनि भनेनन् ।  त्यसैले आश्चर्य मान्दै पुनः प्रत्येकलाई सात सात टुक्राको दरले ४९ वटा टुक्रा बनाए ।  यसबाट पनि उनीहरूको मृत्यु त भएन रुँदै हामीलाई नमार्नुहोस् तपाईंको अधिनमा रहन्छौँसम्म चाहिँ भने ।  त्यसपछि इन्द्रले भो नरोऊ तिमीहरू आजदेखि मेरा भाइ भयौ भन्दै एकै साथ दितीको गर्भबाट बाहिर निकाले ।  यतिबेला इन्द्रले मारोदी अर्थात् नरोउ भनेकाले उनीहरूको नाम मरुत रहन गएको भनिन्छ ।

यद्यपि कतिलाई उनीहरूको जन्मप्रकरण सम्बन्धमा यति ठूलो भिन्नता किन ? भन्ने जिज्ञासा उठ्न सक्छ ।  प्रसङ्ग नै त्यस्तै भएकाले यस्तो हुनु आफैँमा अस्वाभाविक पनि होइन तर अलिकति गहिरिएर मनन गर्ने हो भने उल्लिखित वैदिक भनाइको आशय आफैँ प्रष्ट हुन आउँछ ।  वास्तवमा यी भनाइ भनाइमा मात्र देखिएका भिन्नता हुन् ।  यथार्थमा यी भिन्न होइनन्, एउटै हुन् ।  जस्तो हामीलाई थाहा छ उनीहरूको नाम मरुत हो ।  मरुत भनेको रुदै आउनेको वा आउँदा रुनेको नाम हो ।  भागवतमा व्यासजीले रुँदै आउने वा आउनासाथ रुनेलाई रुद्र भनेका छन् ।  यस अर्थमा उनीहरू रुद्रसित सम्बन्धित त यसै पनि भई नै हाले ।  यस बाहेक द्यावाभूमिको पुत्र भन्नुको आशय चाहिँं तिनका गतिविधि व्यवस्थापनमा सहयोग पु¥याउने शक्तितर्फ लक्षित रहेको अनुभूत गर्न सकिन्छ ।  प्रमाणका लागि ऋग्वेदकै निम्न भनाइलाई लिन सकिन्छ ।

जस्तो वेदमा मरुद्गणलाई कतै सारा संसारको मूलाधार वा समग्र पाणी समुदायको शिरोमणि भनिएको छ (ऋग्वेद १ ।  ८७ ।  १) त कतै आकाश पृथ्वी लगायत तिनका विशेषता स्थापित गर्ने शक्तिको रूपमा समेत चित्रण गरिएको छ ।  त्यस्तै कतै प्राणदाताको रूपमा लिइएको छ (ऋग्वेद १ ।  ८५ ।  ११) भने कतै मङ्गलकारी शक्तिको अर्थमा पनि लिइएको पइन्छ ।  (ऋग्वेद १ ।  ८७ ।  ३) त्यसैगरी कतै विद्युत समान दीप्ति र गति युक्त शक्तिको रूपमा चित्रण गरिएको छ (ऋग्वेद १ ।  ८८ ।  १ भने कतै अद्भूत शक्ति र सामथ्र्यशाली भनिएको छ ।  (ऋग्वेद ऐ ऐ २)

त्यस्तै पौराणिक ग्रन्थले पनि मरुद्गणलाई प्राणकै प्रतिनिधिको रूपमा लिएका छन् ।   यहाँ प्राण भन्नाले प्राणवायुलाई लिइएको छ, जुन  दश किसिमका छन् ।  यिनलाई प्राण, आपान, समान, उदान, व्यान तथा नाग, कूर्म, कृकल, देवदत्त र धनञ्जय भनिन्छ ।  यिनीहरू शरीरको विभिन्न स्थानमा रहेर प्राणी समुदायको जीवन परिचालित गर्छन् ।  जति बेलासम्म उनीहरूको साथ र सहयोग रहन्छ त्यति बेलासम्म प्राणी जीवन जीवित रहने गर्छ ।  उनीहरूले साथ छोड्नासाथ शारीरिक गतिविधि अवरुद्ध भई मृत्युको मुखमा पुग्ने गर्छन् ।  (गरुणपुराण सारोद्धार १५ ।  ३६)
वैदिक ग्रन्थका अनुसार चामत्कारिक शक्ति र विशेषताले सुसज्जित मरुद्गण सृष्टिको मूल आधार समेत मानिएका छन् ।  वैदिक ग्रन्थले पञ्चतìवलाई सृष्टिको मूल आधारमा मानेको छ ।  यसमा वायु वा मरुद्गण पनि पर्छन् ।  शुक्लयजुर्वेद ४० ।  १७) त्यति मात्र होइन सृष्टिप्रक्रियाका मूलभूत आधारसमेत यिनीहरू नै मानिएका छन् ।  भनिरहनु परोइन नवसिर्जनाका लागि कम्पन (भाइब्रेशन) को आवश्यकता पर्छ ।  उत्पन्न हुनु, बढ्नु, क्षय हुनु संसारको मूलभूत विशेषता नै हो ।  यसैले नै संसारलाई चालाएको छ अनि नित्य नवीनतम रूप दिँदै आएको छ, जसमा कम्पनधर्मी वायुतìवकै विशेष भूमिका रहँदै आएको छ ।

हाल हामीले यस्ता समग्र विश्वब्रह्माण्डका धारक तथा सञ्चालक मरुद्गणको भौतिक स्वरूप त देखेका छैनौँ ।  सम्भवतः कहिल्यै देख्न सक्दा पनि सक्दैनौँ तर उनीहरूको आध्यात्मिक स्वरूप भने समग्र विश्वब्रह्माण्डको कणकणमा रहेर तिनीहरूलाई जीवन्त पार्ने काम आएका छन् ।

स्राेतः गाेरखापत्र दैनिक

comments powered by Disqus

Interview+ View All

Article+ View All