News

‘बूढीगण्डकीमा अनियमितता’

काठमाडौँ, ०९ असोज: सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले बूढीगण्डकी जलविद्युत् आयोजनामा व्यापक आर्थिक अनियमितता भएको भन्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताएका छन् । शुक्रबार रिपोटर्स क्लबले आयोजना गरेको साक्षात्कारमा लेखा समितिका सभापति उपाध्यायले यस्तो बताएका हुन् । उनले यस परियोजनाबारे तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले हतारहतार गरेर सम्झौता गरेको गुनासो गरे । उनले भने, ‘बूढीगण्डकी जलविद्युत् आयोजना बेचिएको छ, त्यहाँ आयोजना मात्रै होइन हाम्रो स्वाभिमान पनि बेचिएको हो, स्वाभिमान बेच्ने अधिकार कसैलाई छैन, मेरो कद होचो छ कि अग्लो भनेर नहेर्नाेस्, म स्वाभिमानसँग सम्झौता गर्दिनँ, यो परियोजना कुनै हालतमा अघि बढ्न सक्दैन्, गेजुवाको नेपालमा अहिलेसम्म राम्रो काम देखिएको छैन, त्यसैले यो परियोजनाबारे पूनर्विचार गर्नुपर्छ र नयाँ प्रक्रियामा जानुपर्छ ।’

हतारहतारमा सम्झौता गर्नुको कारण के थियो ? यसरी मन्त्री पद नै नभएको बेला हस्ताक्षर किन गरियो ? यसमा ठूलो चलखेल भएको छ, हस्ताक्षर पत्रमा एकातिर चिनियाँ कम्पनीको पक्षबाट गरिएको छ भने अर्कोतर्फ नेपालबाट व्यक्तिको नाममा हस्ताक्षर गरिएको छ, एउटा व्यक्तिलाई राज्यले कसरी लिने ? उनले भने । सभापति उपाध्यायले कम्पनी कस्तो हो त्यसबारे एकिन जानकारी नै नराखी हतारमा सम्झौता गर्नु गलत रहेको भन्दै थपे, ‘ब्ल्याक लिस्टमा परेको कम्पनीसँग यसरी सम्झौता गर्नु नै गलत थियो, राष्ट्रिय हितविपरीत भएको छ, प्रक्रिया र नियत नै बदयिनतपूर्ण भएको बताए ।

स्वदेशी पुँजीलाई प्रोत्साहन गरेर परियोजना बनाउनुपर्ने र अन्तर्राष्ट्रिय पुँजी भिœयाउनका लागि ग्लोबल टेन्डर आह्वान गर्नुपर्ने सामान्य प्रक्रियालाई समेत तत्कालीन मन्त्रीले मिचेको उनको आरोप थियो । उपाध्यायले अन्तर्राष्ट्रिय बोलपत्रबाट सबैभन्दा सस्तोमा बनाउन सक्ने कम्पनीलाई आयोजना दिनुपर्नेमा त्यसो नगरिनु दुःखद रहेको बताए ।

उनले चार दिनभित्र चिनियाँ कम्पनी गेजुवासँगको सम्झौता, मन्त्रिपरिषद्ले गरेको अनुमोदन, हालसम्म भएका प्रयासलगायतका सम्पूर्ण विवरण पेश गर्न पनि निर्देशन समितिले दिइसकेको जानकारी दिए । त्यस्तै समितिले अर्काे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि बयान लिने निर्णय गरेको उनले बताए । ‘बूढीगण्डकी जलविद्युत् आयोजनाबारे हालसम्म भएका सहमति र सम्झौताबारे अब अर्काे बैठकमा प्रधानमन्त्रीसँग छलफल गर्ने उनले बताए । उपाध्यायले बूढीगण्डकी जलविद्युत् आयोजना सरकारले चिनियाँ कम्पनीलाई बिक्री गरेको आरोप लगाए । उनले चाइना गेजुवा कम्पनीलाई परियोजना बिक्री गरिएको दाबी गरे । उनले परियोजना चिनियाँ कम्पनीलाई निर्माण गर्न दिनु विषयगत र प्रक्रियागत रूपमा गलत भएको बताए । वर्तमान संसद्को कार्यकाल छोटो रहेको भन्दै उनले बूढीगण्डकी जलविद्युत् आयोजनाबारे यस समितिले छानबिन गर्ने र एउटा निर्णयमा पुग्ने विश्वास दिलाए ।

व्यापक अनियमितता भएको छ, यसमा संलग्नलाई छुट दिनुहु“दैन, यदि त्यसो गरियो भने गम्भीर अपराध हुन्छ : पोखरेल

सो कार्यक्रममा नेकपा एमालेका नेता एवं पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले पनि बूढीगण्डकी परियोजनामा व्यापक अनियमितता भएको आरोप लगाए । उनले भने, ‘लेखा समितिले एउटा निर्देशन दिइसकेको छ, अब त्यसलाई जस्ताको तस्तै कार्यान्वयन गर्नुपर्छ, सार्वजनिक लेखा समितिका सभापतिजीले पनि स्पष्ट रूपमा आफ्ना भनाइ राखेको बताए । उनले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना स्वदेशी लगानीमा बनाउन सकिन्छ भन्दा जिभ्रो टोक्ने हाल आयोजना सम्पन्न हुने दिशामा पुग्दा तैं चुप मै चुपको अवस्थामा पुगेको टिप्पणी गरे । उनले बूढीगण्डकी जलविद्युत् आयोजना पनि स्वदेशी श्रम र सीपमा नै निर्माण गर्न सकिने धारणा राखे । उनले बूढीगण्डकी परियोजनामा बद्नियतपूर्ण काम भएको भन्दै त्यस्तो कार्य गर्नेलाई कुनै हालतमा छुट दिन नहुने बताए । उनले भने, ‘व्यापक अनियमितता भएको छ, यसमा संलग्नलाई छुट दिनुहुँदैन, यदि त्यसो गरियो भने गम्भीर अपराध हुन्छ ।’

त्यस्तै, उनले बूढीगण्डकी आयोजनामा गलत भएकोले काम अघि नबढाउन आग्रहसमेत गरे । उनले नेताहरूलाई चरित्र सच्याउन पनि आग्रह गरेका छन् । उनले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई जसरी पनि पदमुक्त गर्ने उद्देश्य लिएर २४ घन्टे स्पष्टीकरण सोध्ने कामको तयारी मन्त्रीले गरिरहेको समाचार बाहिर आएको भन्दै त्यसको विरोध गरे ।

स्राेतः राजधानी दैनिक

 
comments powered by Disqus

Interview+ View All

Article+ View All