News

२८ सय मेगावाटका जलविद्युत आयोजना पाइपलाइनमा

काठमाडौं, २६ जेठ:  स्वतन्त्र उर्जा उत्पादक संघले अहिले निर्माणाधीन अवस्थामा रहेका कुल २८ सय ३८ मेगावाटका आयोजनाहरुको बिद्युत खरिद सम्झौता (पीपीए) भइसकेको जनाएको छ । नेपाल विद्युत प्राधिकरण र उत्पादकबिच सम्झौता भइसकेकाले कैयनले निर्माणको कामसमेत अघि बढाएको संघको भनाई छ । संघका अध्यक्ष शैलेन्द्र गुरागाईंले हाल ५ हजार मेगावाट बराबरका आयोजनाहरुले प्राधिकरणमा पिपिएका लागि आवेदन दिएर बसेको जानकारी दिए । उनले भने, ‘५ हजार मेगावाटकै हाराहारीका आयोजना पिपिएको आवेदन दिने तयारीमा रहेका छन् । ‘

सरकारले अहिले ७ वर्षमा १७ हजार मेगावाट बिद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । गुराँगाई भन्छन्, ‘हामीले १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्ने खाका बनाएका छौ । सरकारले ७ वर्षमा १७ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य लिएको छ तर खाका बनाएको छैन ।’

अहिले देशमा कुल ९ सय २५ मेगावाट बराबरका आयोजनाहरु सञ्चालनमा रहेका छन् । जबकि पिक समयमा देशभर १२ सय ८२ मेगावाट बिद्युत आवश्यक छ । सुख्खा यामका कारण अहिले अधिकांश आयोजनाहरुको उत्पादन घटेको छ ।

बिद्युत प्राधिकरणका अनुसार अहिले बिद्युत प्राधिकरणबाट सञ्चालित आयोजनाहरुबाट ३ सय ७८ मेगावाट बिद्युत उत्पादन भएको छ । निजी क्षेत्रका आयोजनाहरुबाट २ सय १४ मेगावाट बिद्युत उत्पादन भएको छ । देशमा उपलब्ध बिजुलीले माग धान्न नसकेपछि ठुलो मात्रामा बिद्युत भारतबाट आयात गरिएको छ । अहिले ३ सय ७० मेगावाट बराबरको बिद्युत भारतबाट आयात भइरहेको छ ।

जलबिद्युत आयोजना निर्माण अघि बढाउनका लागि अहिले खासै नीतिगत समस्या नरहेको गुराँगाई बताउँछन् । तर प्रक्रियागत जटिलता भने अहिले पनि रहेको उनको भनाइ छ ।

comments powered by Disqus

Interview+ View All

Article+ View All