News

बुढीगण्डकी चिनियाँ कम्पनीलाई दिँदा भ्रष्टाचार भयोः डा. बाबुराम भट्टराई

काठमाडौं, २४ जेठ: नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलबिद्युत आयोजना बिना प्रतिस्पर्धा चीनको गेजुवा ग्रुप अफ कम्पनीलाई दिनुमा भ्रष्टाचार र कमिसनको खेल भएको बताएका छन् । नयाँ शक्ति पार्टीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले बुढीगण्डकी जलबिद्युत आयोजना निजी कम्पनीलाई बुझाएर सरकारी पदाधिकारीहरुले मोटो रकम कमिसन लिएको आशंका गरे ।

भट्टराईले भने, ‘बिना प्रतिस्पर्धा सुटुक्क निजी कम्पनीलाई बुढीगण्डकी जलविद्युत आयोजना सुम्पिइएको छ, यो भ्रष्टाचार र कमिसनको खेल हो ।’ गत जेठ ९ गते सरकारले जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा गेजुवालाई दिएको हो । मन्त्रिपरिषदबाट निर्णय नगराई सिधै सम्झौता गरिएको भन्दै भट्राइले यसमा आपत्ति जनाएका छन् । भट्टराईले यो निर्णय लोकतन्त्र बिपरितको निर्णय भएको बताएका छन् । उनले भने, ‘जनतालाई थाहा नदिई गुपचुप ढंगले निर्माणको जिम्मा लगाइयो, यो लोकतन्त्र बिपरितको काम हो ।’

साथै उनले यसलाई भ्रष्टाचार र कमिसनका आडमा हुने निर्णयको नयाँ श्रृंखलाका रुपमा समेत चित्रित गरेका छन् । सरकारले १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनालाई इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्र्याक्ट विथ फाइनान्स (इपीसीएफ) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीलाई जिम्मा दिएको छ ।

 

comments powered by Disqus