Article

एलईडी : केही तथ्य र केही कठिनाइ

विद्युत् प्राधिकरणले  एलईडी  चिम  किन्ने प्रसङ्गले बजार तताइरहेको छ। प्रायजसो मनिस हरु आआफ्नै तर्क बेचिरहेका छन् — कोही २०० मेगावाट बचत हुन्छ भन्दैछन् भने कोही ५० अर्ब बचत हुन्छ किनिहाल्नु पर्छ भन्दैछन् । अर्कोतर्फ होइन खुला प्रतिस्पर्धाको प्रक्रिया पु¥याएरमात्र किन्नुपर्छ भन्ने तर्क गर्दैछन्  । शंका छैन कुलमान र जनार्दनले प्रशंसनीय काम गरेका छन् । लोडसेडिङ हटाउनेमात्र होइन विद्युत् प्रधिकरणको समग्र व्यवस्थापनलाई चुस्त राख्दै निजी लगानी कर्तालाई निश्चिन्त भएर लगानी गर्ने वातावरण तयार गर्ने प्रयासमा छन् । यो पनि स्वागतयोग्य छ । लोडसेडिङ त हट्यो तर अब यसलाई निरन्तरता दिनु निकै चुनौतीपूर्ण छ । प्राविधिक रूपमा भारतबाट आयात बढाउन कठिन छ र आर्थिक दृष्टिकोणबाट त्यो उपयुक्त पनि होइन । यसैले विद्युत् खपत घटाउनु उत्तम उपाय देखिन्छ । अहिले चर्चामा रहेजस्तै विद्युत् खपत घटाउने उत्तम उपाय परम्परागत चिमलाई एलईडी चिमले विस्थापित गर्नु नै हो । यो छिटो र सरल उपाय पनि हो ।

पुराना चिम विस्थापित किन गर्ने ?

एलईडी अर्थात् लाइट इमिटिङ्ग डिओड चिम परम्परागत चिमको तुलनामा निकै लामो समय टिक्ने, चम्किलो र भरपर्दो हुन्छ । परम्परागत चिमको औसत आयु १ वर्षको हुन्छ भने एलईडी चिमको आयु १५ देखि २५ वर्षसम्मको हुन्छ धेरैजसो  एलईडी चिम कम्पनीले ३ वर्षसम्मको ग्यारेन्टी नै गरेका हुन्छन् । एलईडी चिमको विकल्प सीएफएल चिम पनि हुनसक्छ जुन अहिले निकै प्रचलनमा छ । साठी वाटको परम्परगत चिमलाई १३ वाटको सीएफएल वा १० वाटको  एलईडी ले विस्थापित गर्न सकिन्छ भने ४० वाटको परम्परागत चिमलाई १० वाटको सीएफएल वा ५ वाटको एलईडीले विस्थापित गर्न सकिन्छ । ऊर्जा खपतको दृष्टिकोणबाट उस्तै देखिए पनि  एलईडी चिमको आयु सीएफएलभन्दा दोब्बर हुने हुनाले दीर्घकालीनरुपमा निकै सस्तो पर्न आउँछ ।

तीन चिमको तुलना हेरौँ ।

विश्वमै परम्परागत चिमलाई एलईडी र सीएफएलले विस्थापित गरिरहेका छन् । कतिपय विकसित देशहरुजस्तै अमेरिका, धेरैजसो युरोपेली देश, मलेसिया, दक्षिण कोरियालगायतले परम्परागत चिमको उत्पादन र आयातमै प्रतिबन्ध लगाइसकेका छन् । चीन र भारतले बिस्तारै विस्थापित गर्दैछन् । सम्पूर्ण परम्परागत चिमलाई विस्थापित गरिनेछ भन्ने केही वर्ष पहिलेको नेपाल सरकारको कार्यक्रममै थियो तर त्यो कागजमै सीमित रह्यो । तर, पनि धेरैजसो परम्परागत चिमलाई उपभोक्ताले आफँै सीएफएल चिमद्वारा विस्थापित गरिसकेका छन् । अब आउने हिउँदमा विद्युत् भार घटाउने हो भने त्यसभन्दा पहिला नै चिम खरिद गरी सम्पूर्ण परम्परागत चिमलाई एलईडी चिमले विस्थापित गर्नु आवश्यक छ ।

कति बचत गर्न सकिन्छ त ?

मानौ, २ करोड  एलईडी चिम  विक्रीवितरण गरियो । तर, ती सबै चिम  एकैचोटी बल्ने अर्थात् प्रयोग हुने होइनन् । धेरै चिम  हुने (८ भन्दा धेरै ) घरहरुमा एकैपटकमा  लगभग ४० देखि ५० प्रतिशत चिम  प्रयोग हुने र थोरै ३—४ चिम हुने घरहरुमा लगभग सबै चिम एकैचोटी प्रयोग हुनसक्ने आकडा छ । यसरी हेर्दा २ करोड चिममध्ये धेरैमा एकैचोटी बल्ने चिमको संख्या लगभग १ करोडको हाराहारी हुनआउँछ । यसमध्य ५० प्रतिशत परम्परागत चिमको संख्या मान्ने हो भने ५० लाख चिमले एकैपटक औसतमा ४०  वाटको ( ४० र ६० वाटका चिम बराबरी प्रयोगमा छन् भन्ने अनुमानमा ) बचत गर्न सक्ने देखिन्छ । यसअनुसार लगभग  २०० मेगावाट विद्युत् भार कम हुनसक्ने अवस्था देखिन्छ । यसरी २ करोड  एलईडी चिम  विक्री वितरण गर्न सकियो भने राष्ट्रिय प्रसारण लाइनमा निकै सहयोग पुग्न सक्छ ।

नेपालीले उज्यालोका लागि विद्युत् प्रयोग गर्ने औसत समय दैनिक ३ घन्टा हो ।  यो ३ घन्टामा पूरै २ करोड एलईडी चिम विक्रीवितरण गरिसकेपछि ती चिम प्रयोग गरी बचत हुने विद्युत् भनेको ६०० मेगावाट घन्टा हुन आउँछ  । प्रचलित दर १ युनिटको ८ रुपैया ६० पैसाको दरले करिब रु १ अर्ब ८५ करोड रुपैया वार्षिक बचत हुने देखिन्छ । चर्चा गरिएजस्तो रु ५० अर्बको बचत हुने हल्ला निराधार हो । दुई सय मेगावाट बराबरका नयाँ विद्युत् आयोजना बनाउन ४० देखी ५० अर्ब लाग्ने अनुमान ठीकै हो तर पिक लोडको समयमा दैनिक धेरैमा ३ घन्टा २०० मेगावाट लोड घटाउनु नयाँ आयोजना बनाउनु सरह हो भन्नु पनि सर्वसाधारणलाई मूर्ख ठान्नुमात्र हो । एउटा प्रसँग जोडाैं । एक जना कर्मचारी अफिसबाट हिंडेर घर पुग्छ अनि पत्नीलाई भन्छ आज मैले पाँच सय रुपियाँ कमाएँ । पत्नीले सोध्छिन् कसरी ? अनि ऊ भन्छ मैले ट्याक्सी चढिन हिँडेर आए अनि ट्याक्सीलाई तिर्ने पाँच सय त कमाएँ नि । हो त्यस्तै हो । यो २०० मेगावाट केही समय भार कम हुने हो तर नयाँ आयोजना निर्माण गर्नु बराबर होइन । बचत हो कमाइ होइन । एलईडी प्रयोग गरेर बचत गरेको धेरैमा ६०० मेगावाट घन्टाको वार्षिक बचत कमाइ होइन रु. १ अर्ब ८५ करोड बराबरमात्रै हो ।

के छन् त कठिनाइ ?

सामान्यतया मंसिर महिनादेखी विद्युत् उत्पादनको लागि सुख्खायाम भनेर गणना गरिन्छ तर मौसममा फेरबदल भइरहने हुनाले त्यसभन्दा अगाडिदेखी नै नदीहरुको बहाबमा निकै कमी आउने र विद्युत् उत्पादन घट्ने गरेको छ । अब सुख्खा समय आउन लगभग ५ महिनामात्र छ  । यही समयभित्रै २ करोड एलईडी खरिद गरेर विक्रीवितरण गर्नु निकै गाह्रो काम हो । विद्युत् प्राधिकरण ले २०० स्थानबाट विक्रीवितरण गर्ने प्रबन्ध गरेको बताइएको छ । एक महिनाभित्रै खरिद गर्ने हो भने पनि उक्त स्थानमा आपूर्ति र भण्डारण गर्नु पनि चुनौतीपूर्ण देखिन्छ । हिउँदअगाडि विद्युत् प्राधिकरणले सम्पूर्ण चिम विक्री गर्ने लक्ष्य राख्दा प्रतिदिन एउटा स्थानबाट एक हजारभन्दा धेरै  चिमहरु विक्री गर्नुपर्ने देखिन्छ ।

गाँउघरका प्रायः घरमा २ देखि ४ वटासम्म ४० वा ६० वाटका चिमहरु प्रयोग गरी २० युनिटभन्दा कम बिजुली खपत गर्दै न्यूनतम महसुल ८० रुपियाँ तिर्नेहरुको संख्या निकै धेरै छ । उनीहरुलाई पुरानै चिमले काम गरिरहेको अवस्थामा नयाँ  एलईडी चिम विक्री गर्न निकै कठिन छ । किनभने नयाँ चिम प्रयोगले उनीहरुको प्रतिमहिना तिर्ने महसुलमा कुनै कमी आउँदैन । धेरै विद्युत् खपत गर्ने बजार क्षेत्रका धेरैजसो उपभोक्ताले पहिले नै सीएफएल चिम राखिसकेका छन् । सीएफएल र एलईडी चिममा धेरै भिन्नता नहुने हुनाले काम गरिरहेको चिम फालेर नयाँ चिममा कसैले खर्च गर्दैन । यसरी हेर्दा २ करोड चिम हिँउद अगाडि नै विक्रीवितरण गर्न असम्भवजस्तै देखिन्छ ।

विक्रीवितरण, आपूर्ति र भण्डारणको लागि आवश्यक पर्ने जनशक्ति त विद्युत् प्राधिकरणसँग होला तर त्यो सँगसँगै खर्चको पनि चाँजोपाँजो मिलाउनु जरुरी छ । कम्तीमा उक्त बल्ब विक्रीवितरण गर्नका लागिमात्रै २०० स्थानमा ४ जना कर्माचरी कम्तीमा ४ महिना खटन गर्दा ८ देखि १० करोड रुपैया अतिरिक्त लाग्ने देखिन्छ ।

एकै समय र एकै ठाउँमा त होइन तर समग्रमा पुराना चिम व्यवस्थापन गर्नुपर्ने भनेको २ करोड वटा नै हुन आउँछ । वातावरणीय दृष्टिकोणले २ करोड पुराना चिमको व्यवस्थापन गर्नु पनि ठूलै चुनौती छ । चिम विस्थापित प्रक्रियासँगै वातावरणीय असर न्यून गर्न साबधानी अपनाउनु जरुरी छ ।

अन्त्यमा

एलईडी खरिद र विक्रीवितरण गर्न ढिला भइसकेको देखिन्छ । प्राधिकरणका र ऊर्जा मन्त्रालयका निर्णयकर्ताले समयमा उचित कदम नचालेको हुनाले अहिले सोझै भारतीय कम्पनीसँग खरिद गर्नुपर्ने भयो । त्यही कारणले खरिद प्रक्रिया विवादरहित हुनसकेन । अझै पनि आउने हिँउद सम्म केही लाख मात्र परम्परागत चिम विस्थापित गर्न सकियो भने केही सुविधा पुग्नसक्ने देखिन्छ । नहुनुभन्दा केही हुनु बेस । बिजुलीको सही प्रयोग गरौँ जथाभावी नगरौँ ।

लेखक जलविद्युत् विशेषज्ञका रुपमा बेलायतमा कार्यरत छन् ।

स्रोत:बाह्रखरी 

comments powered by Disqus