News

नेपाल–भारतबीच विद्युत् खरीद सम्झौता नवीकरण

जेठ १४, काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात गर्दै आएको बिजुलीको विद्युत् खरीद सम्झौता नवीकरण भएको छ । भारतको सेण्ट्रल इलेक्ट्रिसिटी अथोरिटीमा शनिवार आयोजित नवीकरण सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको विद्युत् व्यापार निगम (एनभिभिएम)का प्रमुख अरुणकुमार गर्गले हस्ताक्षर गरेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।   यसअघि भएको सम्झौताको म्याद यसै साता सकिन लागेकाले शनिवार नवीकरण गरिएको हो । सम्झौता नवीकरण गर्न घिसिङ नेतृत्वको टोली शुक्रवार भारत गएको थियो ।

एनभिभिएन नेपालमा बिजुली बेच्न भारतले तोकेको सरकारी निकाय हो । सम्झौता नवीकरणले वर्षामा आयात हुने बिजुलीको परिमाण र अवधि तय गरिएको छ । वर्षामा आयात हुने बिजुलीको पिपिए नवीकरण गर्न प्राधिकरणले वैशाख २१ मा भारतलाई पत्राचार गरेको थियो । प्राधिकरणका अनुसार यसअघि यो प्रसारण लाइनबाट विद्युत्को अत्यधिक माग रहेका बेला बढीमा १४५ मेगावाटसम्म आयात गरिएको थियो । अहिले १३५ मेगावाटको हाराहारीमा आयात भइरहेको छ ।

मुजफ्फरपुर बिन्दुबाट प्राधिकरणले प्रतियूनिट भारु ३.६० पैसा (५.७६ नेपाली रुपैयाँ) मा एनभिभिएनसँग बिजुली खरीद गरिरहेको र शुक्रवारको सम्झौतामा पनि सोही दर कायम रहेको छ । सो बिन्दुबाट आयात भइरहेको बिजुली अन्य नाकाको भन्दा सस्तो रहेको छ । मुजफ्फरपुर सवस्टेशनमा सय एमभिएका दुईओटा ट्रान्सफर्मर जडान गरेर वैकल्पिक रूपमा १३२ केभीमा बिजुली खरीद भइरहेको छ । ढल्केबर सवस्टेशन पूरा भएपछि २२० केभीमा चार्ज गरिने प्रवक्ता अधिकारीले जानकारी दिए । थप विषयमा भने आगामी अगस्तमा हुने नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठकमा छलफल हुने बताइएको छ । रासस

comments powered by Disqus

Article+ View All