News

कुन आयोजना बन्ला ‘नेपालको पानी जनताको लगानी’मा आएको पैसाले?

काठमाडौं, १२ जेष्ठ: सरकारले जलविद्युत विकासमा आम जनतालाई सहभागि गराउन सुरु गरेको ‘नेपालको पानी जनताको लगानी’ अभियानमा सर्वसाधारणले चार अर्ब रुपैयाँ बढी लगानी प्रतिबद्धता जनाए पनि त्यसबाट बन्ने आयोजनाको टुङ्गो लागेको छैन। जनार्दन शर्मा उर्जामन्त्रीमा नियुक्त भए लगत्तै आम जनताको बृहत सहभागितामा जलविद्युत आयोजनाकहरुको विकास गर्न यो अभियान सुरु गरेका थिए। मुलुकबाट दिर्घकालिन रुपमा लोडसेडिङ अन्त्यो गर्ने र सर्वसाधारणलाई प्रतिफलयुक्त क्षेत्रमा लगानीको अवसर दिन यो योजना ल्याएको मन्त्री शर्माको भनाइ छ। 


 
अहिलेसम्म देश भित्र र बाहिर बस्ने २९ हजार ८४६ जना नेपालीले तीन अर्ब ४६ करोड ८० लाख रुपैयाँको प्रतिबद्धता जनाइसकेका छन्। यस्तै बिभिन्न ३८ कम्पनीले ६५ करोड ८१ लाख रुपैयाँको प्रतिबद्धता जनाएको उर्जा मन्त्रालयका प्रबक्ता दिनेश घिमिरेले जानकारी दिए।
 
योजना अन्तर्गत सर्वसाधारणले लगानी प्रतिबद्धता जनाएको रकम बराबरको शेयर दिने बाचा मन्त्रालयको छ। अहिले पनि लगानी प्रतिबद्धता जनाउन आग्रह गर्दै मन्त्रालयको वेव साइटमा सूचना राखिएको छ। तर, त्यस अनुरुप कुन आयोजना बनाउने र जनतालाई कहिले शेयर दिने भन्ने टुङ्गो लाग्न भने अझै बाँकी नै रहेको प्रवक्ता घिमिरेको भनाइ छ। 
 
लगानी प्रतिबद्धता जनाएका सर्वसाधारण भने जतिसक्दो चाँढो आफुहरुको पैसाबाट नयाँ परियोजना बनेको हेर्न चाहन्छन्। ‘चाँडो काम होला र शेयर पाइएला भन्ने आशमा लगानी प्रतिबद्धता जनाएका हौँ’ सरकारको आह्वान बमोजिम लगानी प्रतिबद्धता जनाएका वैदेशिक रोजगारीमा रहेक सगर दाहालले भने।


 
अहिलेसम्म सर्वसाधारणले व्यक्तिगत र कम्पनीका तर्फबाट जनाएको रकमबाट २० मेगावाटभन्दा ठूलो आयोजना निर्माण हुन सक्छ। प्रवक्ता घिमिरेका अनुसार यो रकम एउटा कुनै खास आयोजनाका लागि नभइ जलविद्यत आयोजनाहरुको निरन्तर विकासलागि संकलन गर्न लागिएको हो। ‘अब सरकारले बनाउने साना ठुला जलबिद्युत आयोजनामा जनतालाई सहभागी गराउदैँ लैजाने योजना छ’ उनले भने। जनताको लगानी प्रतिबद्धता जनाएको रकम कसरी संकलन गर्ने र कुन आयोजनामा लगाउने मोडालिटी तयार गर्न जलविद्युत लगानी तथा विकास कम्पनीलाई जिम्मा दिएको समेत उनले जानकारी दिए। 
 
सरकारले बूढीगण्डकी, नलसिंह गाड, उत्तरगंगा, नौमुरेजस्ता ठूला जलविद्युत आयोजना निर्माणको उद्देश्य राखेर २० अर्ब रुपैयाँ चुक्ता पुँजीको जलविद्युत् लगानी कम्पनी खोलेको थियो।
 
साभार: बिजमान्दु
 
comments powered by Disqus

Interview+ View All

Article+ View All