Article

को हुन् कुलमान ? यस्तो छ भित्री कथा

कुलमान घिसिङ अहिले फेरि एकपटक चर्चामा छन् । उनको आँशु, रोदन र भक्कानो चर्चामा छ । कुलमानको यो रोदनभित्र मुलुकको आशा भरोसा अनि विकृति र कुण्ठा पनि सँगसँगै चर्चामा छ । कुलमानले भारतबाट एलइडी बल्ब खरिद गर्दा राष्ट्रघात गरेको र कमिसन खाएको हो कि हैन भन्ने प्रश्न पनि सँगसँगै चर्चामा छ । देशले पहिले पनि कुलमानलार्इ रूवाएको थियो, मंगलबार फेरि एकपटक उनलार्इ रूवाएको छ ।

आखिर कुलमान को हुन् ? उनले जीवनमा कसरी प्रगति गरे ? के के हण्डरहरू खाए ? अनलाइनखबरले गत मंसिरमा प्रकाशित गरेको सामाग्री पुनः एकपटक सान्दर्भिक हुने ठानेर यहाँ दोहोर्‍याएका छौं-

बेथानको ‘ध्वाँसो’ देखि काठमाडौंको लोडसेडिङसम्म

रामेछापको दुर्गममा अवस्थित सरकारी स्कुलमा पढेको एकजना सामान्य किसानको छोरो अहिले नेपाली जनताको मनमुटुमा बास बस्न सफल भएको छ । देशलाई लोडसेडिङबाट मुक्त गराएर सबैको घरमा उज्यालो भित्र्याउने अभियन्ता कुलमान घिसिङ, विद्यालय पढ्दाको अनुभव यसरी स्मरण गर्छन्-

‘गाउँमा टुकी बालेर पढ्थेँ । राति अबेरसम्म टुकी छेउमा बसेर पढ्दा नाकमा कालो ध्वाँसो बसेको हुन्थ्यो ।’

अहिले काठमाडौंलाई लोडसेडिङ मुक्त गराएर चर्चा कमाएमा कुलमान भन्छन्- ‘मैले काठमाडौं आएपछि नै हो, बिजुली देखेको ।’ विद्यालयमा सधैं प्रथम हुने कुलमानले जब काठमाडौंमा आएर बिजुली देखे, तब उनले कसम खाए- मेरो बेथान गाउँमा पनि यसैगरी बिजुली बाल्छु । अहिले उनले बेथानमा बिजुली बालिसकेका छन् । र, बेथानमात्रै हैन, देशैभरि उज्यालो बनाउने अभियन्ता बनेका छन् उनी ।

कुलमान घिसिङको दैनिकी पछिल्लो २ वर्ष नेपाल विद्युत प्राधिकरणमा हाजिर गर्ने र घर जाने मात्रै थियो । चिलिमेबाट केन्द्रमा तानिएपछि उनलाई प्राधिकरणले कुनै जिम्मेवारी नै दिएन । तर, जब उनी कार्यकारी निर्देशक बनेर आए, उनले आफूले के गर्न सक्छु भनेर देखाइसकेका छन् । कुलमानले थालेको लोडसेडिङ मुक्त अभियानले चौतर्फी प्रशंसा पाइरहेको छ । आखिर को हुन् त कुलमान ?

जहाँ लैजाउ, जता पढाऊ, सधैं प्रथम !

कुलमानको प्राथमिक शिक्षा गाउँमै वित्यो । उनी सधैं स्कुल फस्ट हुन्थे । ५ कक्षा पास गरेपछि उनी दाइहरुसँग काठमाडौं आए । उनका दाजु बानेश्वरमा बस्थे र थान्काको व्यवसाय गर्थे ।

काठमाडौं आएपछि कुलमानलाई उनका दाजुहरुले झोंछेको सरकारी स्कुल बालसेवा माध्यमिक विद्यालयमा कक्षा ७ मा भर्ना गरिदिए । कुलमान त्यहाँ पनि प्रथम नै भए ।

तर, सेकेण्ड ब्वाई सिद्धार्थ बनस्थली गएपछि शिक्षकहरुले नै उनलाई पनि यति राम्रो पढाइ भएको केटो बोर्डिङ स्कुलतिरै जानु राम्रो भन्ने सुझाव दिए । दाजुहरुले उनलाई अमरआस बोर्डिङमा भर्ना गरिदिए । कुलमान त्यहाँ पनि फस्ट नै भए ।

जुन विद्यालयमा गए पनि सधैँ फस्ट हुने जादु के थियो ?
कुलमानले हाँस्दै भने- मेरो मेहनत हो ।’

उनले नेपालको लगानीबाट पनि विद्युत परियोजना सफल रुपमा बनाउन सकिन्छ भनेर प्रमाणित गरे, जुन उनको आफ्नो व्यक्तिगत करिअरका लागि टर्निङ प्वाइन्ट बन्यो

एसएलसीमा धेरैले कुलमान बोर्डमा पर्ने आश गरेका थिए । उनका सेकेण्ड ब्वाइ महेश ढकाल भने बोर्डमा परे । तर, कुलमानको ४ नम्बर पुगेन । त्यसपछि उनले अस्कल क्यापसबाट आईएस्सी गरे ।

त्यसपछि उनी छात्रवृत्तिमा भारतमा पढ्न गए । जम्सेदपुरबाट सन् १९९४ मा बीएस्सी इलेक्टिकल इन्जिनियर गरेपछि करिव ०५१ तिर उनी स्वदेश फर्केर नेपाल विद्युत प्राधिकरणमा सातौं तहको इन्जिनियरको जागिरे भए ।

काम गर्दै पढ्ने क्रममा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गरे ।

कुलमानले ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइड म्यानेजमेन्ट’मा थेसिस गरेका थिए । अहिले प्राधिकरणको एमडी भएपछि उनी त्यसैमा काम गरिहेका छन् र सफल बन्न थालेका छन् । उनको पढाइ र काम एकसाथ मिलेको छ ।

कुलमान इञ्जिनियरमात्रै होइनन्, कुशल व्यवस्थापक पनि हुन् । उनले पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा इएमबीए पनि गरेका छन्, जसले व्यवस्थापनको पाटोमा पनि उनलाई विज्ञता प्रदान गरेको छ ।

कुलमान भन्छन्-मैले त्यसबेलै पूर्वानुमान गरेको थिएँ कि सन् २००५ बाट लोडसेडिङ हुन्छ, त्यही भइरहेको छ ।’

कुलमानको अध्ययन नै यसैमा छ कि विद्युतको मागको क्षेत्रबाट भार कसरी घटाउन सकिन्छ ? र समग्र एकीकृत लोडको ‘रिसोर्स प्लानिङ’ कसरी गर्ने ? कुलमानको अध्ययनमा आपूर्तिमात्रै होइन कि मागको पाटोले पनि पावर जेनेरेसन गर्छ । त्यस्तै ‘पिक लोड’ घटाउन सकियो भने त्यो नै ‘डिमाण्ड साइड’ हो ।

टर्निङ प्वाइन्ट बन्यो चिलिमे

प्राधिकरणमा काम गर्दागर्दै कुलमानले चिलिमेको जिम्मेवारी पाए । जतिबेला उनी दशौं तहमा थिए । उनले नेपालको लगानीबाट पनि विद्युत परियोजना सफल रुपमा बनाउन सकिन्छ भनेर प्रमाणित गरे, जुन उनको आफ्नो व्यक्तिगत करिअरका लागि टर्निङ प्वाइन्ट बन्यो ।

kulman-ghising

कुलमानले अपेक्षा गरेभन्दा समयमै सफलतापूर्वक परियोजना सफल मात्रै पारेनन्, सेयर दिएर स्थानीयलाई लखपति पनि बनाए । चिलिमेमा आफूले निकै मेहनतका साथ काम गरेको भन्दै कुलमान भन्छन्,- चिलिमेमा नेपालको स्रोत साधन कसरी प्रयोग गर्न सकिन्छ भन्ने आँखा खोलेका छौं । चिलिमेले १००० मेगावाट पनि नेपालीहरुबाटै बनाउन सकिन्छ भन्ने आँट दिएको थियो ।’

चिलिमेको सेयर जनताका हातबाट दलालहरुले फुत्काउन थालेपछि घिसिङले एउटै गाउँको करिब ७ करोड रुपैयाँ बराबरको सेयर फिर्ता गराए । यो घटनाले गर्दा रसुवाका जनताले कुलमानलाई आँखाको नानीभित्र राखेका छन् ।

तर, दुर्भाग्य भनौं, कुलमान आयोजनाबाट हटाइए र प्राधिकरणको केन्द्रमा तानिए । केन्द्रमा आएपछि उनले करिब दुई वर्षसम्म कुनै जिम्मेवारी पाएनन् । झण्डै २ वर्ष कार्यालय गएर हाजिर गर्ने र घर फर्कने दैनिकी बन्यो । अवस्था यस्तो आइसकेको थियो कि उनी राजीनामा दिने मुडमा पुगेका थिए ।

एकातिर विद्युतको चोरी र कालोबजारी भइरहेको र अर्कातिर जनतामा लोडसेडिङको मार खेप्न बाध्य पारिएको देखेपछि उनी राजीनामा दिने मुडमा पुगे । तर, सरकारले उनलाई विश्वास गरेर जिम्मेवारी दियो र उनले झण्डै २ महिनाकै अवधिमा मुलुकमा केही गर्न सकिन्छ भन्ने सकारात्मक संकेत दिइसकेका छन् ।

प्राधिकरणको एमडी भए पनि जुनियर व्यक्ति भएको भन्दै प्राधिकरणकै केहीले कुलमानको विरोध गरेका छन् । तर, कुलमानले एमडी बन्नासाथ प्राधिकरणको स्थायी जागिरबाट राजीनामा दिएर बरिष्ठ भन्नेहरुलाई जवाफ दिएका छन् । जब कि कुलमानको स्थायी जागिर अझै १२ वर्ष बाँकी नै थियो ।

अहिले ४७ वर्ष उमेर पुगेका कुलमानले प्राधिकरणको एमडी बस्ने कुर्सीलाई ‘तातो कुर्सी’ को संज्ञा दिएका छन् । यस्तो कुर्सीमा पाको उमेरको मान्छेले काम गर्न गाह्रो हुने उनको भनाइ छ । ‘अहिले पो केही गर्न सकिन्छ, निर्णय क्षमता पनि हुन्छ, कसैले जेल नै हाल्छु भन्दा पनि डराइन्न, बिहान ७ बजेदेखि १० बजेसम्म लगातार खट्न सकिन्छ,’ कुलमान भन्छन्- ‘उमेर ढल्किएपछि त यो ‘हट सीट’मा बसेर कामै गर्न सकिँदैन । शरीरले नै साथ दिँदैन । त्यसैले सिनियर र जुनियर हैन, काम गर्न सक्नुपर्‍यो ।’

kulman-ghising-1

उनका अनुसार प्राधिकरणको एमडी पद ‘हट सिट’ हो । ५८ वर्षपछि कसैलाई त्यहाँ लागेर राखेर केही गर्न सक्ने वाला छैन । चाहे त्यो अहिले वाहवाही पाउने उनी आफैं किन नहुन् । उनको विश्लेषण छ, ‘जब केही गर्छु भन्ने जोस, जाँगर हुन्छ, निर्णय गर्ने क्षमता हुन्छ, त्यसलाई आइडल राखिन्छ । जब ५८ वर्ष पुग्छ, इनर्जी नै शेष भएको हुन्छ, अनि हट सिटमा राखेर हुन्छ ?’

कुलमान थप्छन्, ‘प्लेटफर्म पाएँ भने केही गर्न सकिन्छ भन्ने लागेको छ । चिलिमे एउटा प्लेटफर्म थियो । यो पनि त्यही हो ।’

‘झण्डै सचिव भइनँ…’

भारतमा पढेर आएपछि कुलमानले जागिरका लागि प्राधिकरणसहित तीन ठाउँमा नाम निकालेका थिए । मन्त्रालय र हवाई विभागमा छाडेर उनले प्राधिकरण रोजे, किनकी उनलाई लाग्यो अरु ठाउँमा पेपर वर्क मात्र हुन्छ । प्राधिकरणमा भए प्राक्टिकल नै हुन्छ ।

प्राधिकरणमा लामो समय काम गरेपछि नीतिगत तहमा जाने इच्छा पनि नजागेको होइन । केही समय एक सहसचिवका लागि लोकसेवाले खोलेको विज्ञापनमा लिखितमा नाम पनि निकाले ।

तर, अन्तरवार्तामा अर्कै छानिए । ‘त्यो बेला सहसचिव भएको भए म पनि सचिव भइसक्थें होला,’ उनी हाँस्दै भन्छन् ।

कुलमानले अहिले ‘पोलिसी लेभल’मा जाने सोच छाडेका छन् । भन्छन्, ‘मैले जुन प्लेटफर्म पाएको छु र मेरो जे क्षमता छ, त्यो देखाउने सही समय हो भन्ने लाग्छ ।’

साभार: अनलाइन खबर

 

comments powered by Disqus

Interview+ View All

Article+ View All