Infrastructure

नेपालमा यसकारण आवश्यक छ रोपवे

काठमाडौं, ०८ चैत: डोरी (रोप)मा झुन्डिएर एक ठाउँबाट अर्को ठाउँमा जाने यातायातको प्रणाली नै रोपवे हो । यस्तो रोपवेको एउटै पकेटमा १० हजार किलोग्रामसम्मको तौल बोक्ने क्षमता हुने रोपवे नेपालका अध्यक्ष गुणराज ढकालले जानकारी दिए । नेपालजस्तै भौगोलिक अवस्थिति भएको स्विट्जरल्यान्डमा १८ सयवटा रोपवे रहेको तथ्यांक छ । तर, नेपालमा रोपवेको विकास हुन सकिरहेको छैन । रोपवेसम्बन्धी अध्ययन गर्ने र आवश्यक काम गरिरहेको संस्था रोपवे नेपालका अध्यक्ष ढकालले नेपालमा रोपवेको आवश्यकताबारे यसरी आफ्नो भनाइ राखे:

भौगोलिक अवस्थाका कारण उपयुक्त
रोपवे यातायातका धेरैवटा प्रणालीमध्ये एक हो । नेपालको भौगोलिक अवस्थिति र कठिन धरातलका लागि यो उपयुक्त यातायात प्रणालीका रूपमा लिइन्छ । नेपालको प्राकृतिक सुन्दरता र सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षकका लागि पनि यो उपयुक्त हुने देखिएको छ । किनकि वातावरणीय असरको हिसाबले सडक निर्माण गर्दा ठूलो परिमाणमा रूख काट्नुपर्छ । यसले स्वाभाविक रूपमा असर पु¥याउँछ । तर, रोपवेको सञ्जाल निर्माण गर्दा टावर राख्ने ठाउँमा मात्र रूख काट्नुपर्ने आवश्यकता पर्छ । फेरि जंगलमाथिबाट रोपवे जाने भएकाले पनि निर्माणपछि पनि कुनै प्रकारको असर पार्दैन । त्यस्तै, जस्तोसुकै भौगोलिक धरातलमा पनि रोपवेका लागि उपयुक्त बनाउन सकिन्छ । त्यो हिमाल होस् वा पहाडी, साथै तराई क्षेत्रमा नै किन नहोस् । यो सबै ठाउँमा प्रभावकारी हुन्छ ।

अन्य पूर्वाधारको निर्माणमा सहयोगी
रोपवे निर्माण आफैँमा पूर्वाधार हो । तर, यो यस्तो पूर्वाधार हो । जसले अन्य पूर्वाधारलाई पनि सम्भावनायोग्य बनाउँछ । साथै अन्य पूर्वाधार निर्माणमा सहयोगी भूमिका खेल्छ । विशेषगरी स्थान हेरेर जलविद्युत् आयोजना निर्माण गर्न, पहाडको माथिल्लो क्षेत्रमा पर्यटकीय पूर्वाधारको रूपमा होटेल तथा अन्य आवश्यक पूर्वाधार निर्माण गर्न, घर र भवन निर्माण गर्नका लागि आवश्यक निर्माण सामग्री ओसार्न रोपवे प्रभावकारी हुन्छ । साथै यसले मानिसलाई आवश्यक पर्ने सामानलाई मात्र ओसार्ने काम गर्दैन । मानिसलाई पनि आफ्नो गन्तव्यसम्म पुग्न सहयोग पुर्‍याउँछ ।

रोपवे कम प्राथमिकतामा किन ?
नेपालमा राणा शासनको समयदेखि नै रोपवे सञ्चालनमा रहेको थियो । विशेषत चन्द्रशमशेरको पालामा यसलाई सञ्चालनमा ल्याइएको थियो । तर, त्यो दीर्घकालीन भएको देखिएन । दीर्घकालीन हुन नसक्नुको कारण तत्कालीन समयमा उचित मर्मतसम्भार हुन सकेन । त्यसले गर्दा निश्चित समयमा सेवा दिए पनि दीर्घकालीन हुन सकेन । यसले गर्दा कतिपयलाई यसप्रति नकारात्मक धारणासमेत रहेको छ । तर, यथार्थमा चाहिँ त्यो अति नै पुरानो प्रविधिमा आधारित रहेको थियो । त्यसलाई स्तरोन्नति गर्ने काममा पनि चासो दिइएन र एउटा समयमा त्यसले काम गर्न छाड्यो । तर, अहिले आधुनिक यन्त्रहरूको विकास भएको छ । यसले गर्दा सहज र सजिलो मात्र होइन, मर्मत गर्न र दीर्घकालीन बनाउन पनि सकिने भएको छ । यसकारण सरकारी तहबाटै रोपवे निर्माणमा उच्च प्राथमिकता दिन आवश्यक भइसकेको छ ।

अत्याधुनिक मेसिन तथा उपकरण

अब निर्माण गरिने रोपवेलाई पुरानो प्रविधिमा मात्र आधारित बनाइनुहुँदैन । यसलाई अत्याधुनिक प्रविधिमा जानुपर्ने आवश्यकता छ । पुरानो प्रविधि भनेको पहिले झोलुंगे पुलको अभावमा नदी तर्नका लागि रोपवेको प्रयोग गरिन्थो । अहिले पनि त्यस्तो प्रविधिलाई अत्याधुनिक बनाउने र प्रयोगमा ल्याउन सकिने सम्भावना रहेको छ । त्यसका लागि आवश्यक पार्टपुर्जा र आवश्यक सामानको भने स्थानीय रूपमा नै प्राप्त गर्न सक्ने गरी काम गर्नुपर्नेछ । त्यस्ता सामान बाहिरबाट आयात गर्नेभन्दा पनि देशभित्र तयार गर्ने वा उत्पादन गर्नेतर्फ योजना बनाउन आवश्यक छ । त्यस्तै, रोपवे सञ्चालन गर्दा नयाँ निर्माण गर्नुभन्दा मर्मतसम्भार महत्वपूर्ण हुन्छ । रोपवेलाई दीर्घकालीन बनाउने हो भने यसको मर्मतसम्भारलाई विशेष ध्यान दिनुपर्छ । त्यस्तै, नयाँ प्रविधिको प्रयोगमा प्रोत्साहित गर्ने र प्रवद्र्धन गर्नेतर्फ पनि सोच्न आवश्यक छ । उदाहरणका लागि सडक निर्माण गर्दा पनि पहिले हातले वा घरेलु उपकरणको प्रयोग गर्ने गरिन्थ्यो । तर, अहिले अधिकांश सडक निर्माणमा डोजरको प्रयोग हुने गरको छ । त्यस्तै, गरी रोपवे निर्माणमा पनि अध्याधुनिक उपकरणको प्रयोग गरेर सहज र प्रभावकारी बनाउन सकिन्छ ।

वातावरणीय प्रभाव न्यून

रोपवेको अर्को महत्वपूर्ण पक्ष भनेको यसले वातावरण संरक्षणमा पु¥याउने योगदान हो । ठूला आयोजना निर्माण गर्दा वातावरणीय अध्ययन अनिवार्य हुन्छ । तर, वातावरणको अध्ययनले धेरै ठूलो असर पु¥याउने भएकाले ठूलो विरोध हुने गरेको छ । जबकि भौगोलिक रूपमा अप्ठ्यारो ठाउँमा रहेको आयोजनालाई पनि वातावरणलाई कुनै प्रभाव नै नपारी रोपवेको सहयोगबाट निर्माण सम्भव बनाउन सकिन्छ । यसकारण थोरै क्षतिबाट ठूला आयोजना निर्माण गर्न सकिने र वातावरणलाई दखल नदिईकन विकास गर्न सकिने सम्भावना उच्च हुन्छ ।

अध्ययनविना सडकलाई प्राथमिकता गलत

नेपालको भौगोलिक अवस्थितिअनुसार सबै ठाउँमा सडक पुग्न सम्भव देखिँदैन । तर, हामीले पछिल्ला दशकमा सडकलाई मात्र उच्च प्राथमिकता दिइरहेका छौँ । जुन गलत छ । यसले एकातिर दीर्घकालीन रूपमा लगानी खेर गइरहेको छ भने अर्कोतिर जमिनको नाश भइरहेको छ । ठाउँअनुसार कुन स्थानमा कस्तो यातायात प्रणाली सञ्चालन गर्ने भन्ने विषयमा स्पष्ट भएपछि मात्र सडक हुने ठाउँमा सडक, रेल हुने ठाउँमा रेल, रोपवे हुने ठाउँमा रोपवे सञ्चालन गर्नु आवश्यक हुने थियो । तर, नेपालमा अन्धाधुन्ध सडकमा मात्र लगानी गर्ने गरिएको छ । जुन गलत भइरहेको छ । त्यति मात्र होइन, हरेक गाविसमा जाने अनुदान रकम पनि अधिकांश सडकमा खर्च हुने गरेको छ । यसले सबै ठाउँमा नभए पनि केही स्थान यस्ता छन्, जहाँ सडक यातायात सम्भव हुँदैन । त्यस्तो ठाउँमा लगानी खेर जाने देखिन्छ । साथै, कुनै यस्ता ठाउँ छन् जहाँ रोपवे प्रभावकारी हुन सक्थ्यो । त्यहाँ रोपवेको तयारी थालनी हुनु त परको विषय, रोपवे हुन सक्छ भन्ने थाहा पनि छैन । यसकारण भौगौलिक अवस्थितिअनुसार यातायात प्रणाली छनोट गर्न ढिलाइ भइसकेको छ ।

रोपवेमा दुर्घटना हुँदैन

रोप (डोरी)मा जोडिएको प्रविधिको माध्यमबाट आवतजावत र ओसारपसारका लागि प्रयोग गरिने प्रणाली नै रोपवे हो । यसमा दुर्घटना हुने सम्भावना नै हुँदैन । जबकि नेपालमा सडक दुर्घटनाबाट हरेक वर्ष हजारभन्दा बढी मानिसले ज्यान गुमाइरहनु परिरहेको छ । यसरी ज्यान गुमाउनुको एउटा कारण भौतिक रूपमा सम्भव नभएको ठाउँमा सडक निर्माण र सञ्चालन गरेका कारण दुर्घटना भएर हो । त्यस्तै, सडकमा हिँड्ने सवारीसाधनमा डिजेल पेट्रोल, ड्राइभरलगायत खर्च आवधिक रूपमा हुने गरेको छ । जबकि रोपवेमा नेपालमै उत्पादन हुने विद्युत्को प्रयोग गरेर सञ्चालन गर्न सकिन्छ । लागत अत्यन्त न्यून रहेको छ । मर्मतसम्भारको लागि पनि सडककोजति आवश्यक पर्दैन । आउँदा दिनमा विद्युत्को खपत वृद्धि गर्न र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि पनि रोपवे उपयुक्त विकल्प हुन सक्छ । यसलाई उद्योगका रूपमा विकास गर्न आवश्यक छ ।

समुदाय तहमा रोपवेको आकर्षण

समुदाय तहमा रोपवेको आकर्षण रहेको देखिन्छ । देशभरका ६० ठाउँमा रोपवे नेपालले मात्र सर्वेक्षण र थप अध्ययन गरिरहेको छ । धेरै ठाउँमा अध्ययनकै अवस्थामा रहेकाले सञ्चालनमा भने आइसकेका छैनन् । पर्वतको कुस्मामा रहेको यान्त्रिक पुल सञ्चालनमा रहेको छ । यो पनि एक प्रकारको रोपवे नै हो । त्यस्तै, चन्द्रागिरि र मनकामना केबलकार पनि रोपवे नै हो । रोपवे मूलतः यातायातको साधन हो । सरकारले यसलाई प्रवद्र्धन गर्ने हो भने लगानी पनि यहीँ उठ्ने सम्भावना रहेको छ । तर, सरकारले प्राथमिकतामा नराखेका कारण पनि यो छायामा परिरहेको छ ।
सरल नीतिगत व्यवस्था आवश्यक

रोपवे निर्माणका लागि नेपालमा सरल कानुनी व्यवस्था छैन । यसले गर्दा लगानीकर्ताहरू पनि आकर्षित भइरहेका छैनन् । यस क्षेत्रमा लगानी वृद्धि गर्न लगानीमा सहुलियत र कम ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्न आवश्यक छ । अहिले कानुनी आधार बनाउने काममा पनि ढिलाइ भइरहेको छ । यसले पनि यो क्षेत्र अघि बढ्नमा चुनौती भएको छ । त्यस्तै, रोपवेको क्षमता र दूरीजस्ता विषय पनि स्पष्ट पार्न आवश्यक छ । अहिलेसम्म रोपवेको यति मिटरको यति लगानी भन्ने छैन । तर, भूगोल र अन्य अवस्थामा निर्धारित हुने गरेको छ । यो सडकभन्दा चाहिँ सस्तो नै पर्छ ।

साभार: नयाँ पत्रिका

 

comments powered by Disqus

Interview+ View All

Article+ View All