News

ऊर्जामन्त्री: पश्चिम सेती आयोजना बन्नेमा ढुक्क हुन स्थानीयलाई आग्रह

डोटी, फागुन २: ऊर्जामन्त्री जनार्दन शर्माले आइतवार पश्चिम सेती जलविद्युत् परियोजना प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री शर्मालाई पश्चिम सेतीबाट प्रभावित हुने डोटी, बैतडी, बझाङ र डडेल्धुराका बासिन्दाले स्वागत गरेका थिए । बैतडीको ढुङ्गाढमा आयोजित स्वागत कार्यक्रममा मन्त्री शर्माले पश्चिम सेती आयोजना बन्नेमा ढुक्क हुन प्रभावित क्षेत्रका बासिन्दालाई आग्रह गरे । ‘आयोजनाका विषयमा सरकार गम्भीर छ, तपाईहरु ढुक्क हुनुस्, पश्चित सेती बन्छ’– उनले भने । आयोजना निर्माणका क्रममा आउनसक्ने सम्पूर्ण अवरोध सरकारले हटाएको तथा शेयरको विषयमा टुङ्गो लागिसकेको मन्त्री शर्माले बताए । विस्थापितलाई उचित मुआब्जा उपलब्ध गराएर सुविधा सम्पन्न सहरमा पुनःस्थापना गरिने उनको भनाइ थियो ।

मन्त्री शर्माका साथमा नेकपा (माओवादी केन्द्र)का नेता लेखराज भट्ट र ऊर्जा सचिव अनुपराज उपाध्याय रहेका थिए । उक्त अवसरमा प्रभावित क्षेत्रका बासिन्दाले पश्चिम सेती परियोजना निर्माण कार्य अगाडि बढाउन आग्रह गरेका थिए । उनीहरुले आफूहरु सो परियोजना बन्नेमा आशावादी रहेको बताएका थिए । रासस

comments powered by Disqus

Article+ View All