News

पटक–पटक देखाइन्छ सपना

फाल्गुन २, काठमाडौँ: ‘जलाशय बनेपछि यहाँ २५ किलोमिटर लामो नदीमा जहाज चल्नेछ,’ हेलिकप्टर चढेर शनिबार पश्चिम सेती आयोजनाको प्रभावित क्षेत्र ढुंगाड आएका ऊर्जामन्त्री जनार्दन शर्माले सेती किनारका डाँडापाखातर्फ औंला सोझ्याउँदै आशा देखाउँदै भने, ‘त्यहाँ भव्य सहर हुनेछ, तपाईहरूका आधुनिक घरहरू हुनेछन्, आलिसान जीवनयापन गर्नुहुनेछ ।’ मन्त्रीले अगाडि भने, ‘बैतडी, डडेल्धुरा र डोटीका सदरमुकाम अहिले तपाईभन्दा अगाडि छन् अब भने ढुंगाड लामीखालको विकास र पर्यटन हेर्न त्यहाँबाट मानिसको यहाँ ओइरो लाग्नेछ ।’

पश्चिम सेती आयोजनाको अध्ययन निरीक्षणका लागि आएका मन्त्री शर्माले हजारौं स्थानीय माझ आफ्नो मन्तव्य व्यक्त गरिरहँदा ५७ वर्षीय कर्णबहादुर चन्दलाई पत्याउन कठिन भइरहेको थियो । शर्माका भनाइले देखाइरहेका सपनाहरूले उनलाई ०५९ को याद गरायो ।

०५७ मा सेती नदीमा आएको बाढीले ढुंगाड बगाएको थियो । उनको पनि घर बग्यो । गोठका वस्तुभाउ, अन्नपात सबै बगेपछि उनी सुकुम्बासीसरह भएका थिए । नदी नियन्त्रणका लागि तटबन्ध र राहत माग्न आफ्नै जिल्लाका लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री छँदा ०५९ मा काठमाडौं गएका थिए । त्यहाँ कर्णबहादुरलाई प्रधामन्त्री चन्दले ठूलो सपना देखाए । ‘काँ त्यो डुबान हुने गाउँमा तटबन्ध गर्ने ? त्यो त अब बम्बैजस्तो सहर बन्दै छ,’ प्रधानमन्त्री चन्दको कुरा सम्झँदै उनले भने, ‘बीचमा बम्बैको जस्तो समुद्र हुन्छ, किनारमा ठूला–ठूला तपाईका घर, सडक, बिजुली बत्ती बन्छन् भनेर रित्तै घर फर्काइदिए ।’ सरकारका बहालवाला विभागीय मन्त्री गाउँमै पुगेर पूरा हुन नसकेको सपना फेरि दोहोर्‍याउँदा उनलाई विश्वास गर्न कठिनाइ परिरहेको थियो ।

उता कक्षा ३ मा पढ्दादेखि नै पश्चिम सेती आयोजनाबारे लामीखाल तलाराका टेकबहादुर सिंहले सुन्दै आएका छन् । हाल उनी स्थानीय माध्यमिक विद्यालयको प्रअ भइसकेका छन् । अझै पश्चिम सेती आयोजना बन्छ भन्ने सुन्छन् तर बनेको देख्न पाएका छैनन् ।

‘यसअघि तपाईहरूका दु:खका दिन गए भनेर पुन:स्थापनाका लागि हामीलाई तराईका विभिन्न ठाउँमा जमिन छनोटका लागि महिनौं डुलाइयो,’ सिंहले भने, ‘बाल्यकालमा सुनेको कुरा बुढेसकाल लाग्ने बेलासम्म पनि कार्यान्वयन भएको छैन, सपनाहरू भने देखाउने क्रम जारी छ ।’

ढुंगाड क्षेत्रका पूर्व जिविस सदस्य हरिसिंह धामीले नेताहरूको भाषणभन्दा काममा मात्र विश्वास गर्न सकिने बताए । ‘चार दशकसम्म हामीलाई देखाइएका सपनाहरूबाट अभ्यस्त भइसकेका छौं,’ उनले मन्त्री शर्मा फर्केपछि पत्रकारसँग दु:खेसो गरे, ‘जबसम्म काम अघि बढेको आँखाले देख्दैनौं तबसम्म हामीलाई देखाइने सपनाहरूमा विश्वास गर्न सक्दैनौं ।’

सन् १९८४ बाट सुरु भएको पश्चिम सेतीको आयोजना बनाउन धेरै कम्पनी आए पनि कसैले काम गर्न सकेका छैनन् । यसअघिको अस्ट्रेलियन कम्पनीले कार्यालयहरू स्थापना गरी स्थानीयलाई रोजगारी दिइसकेको अवस्थामा पनि हात झिकेपछि स्थानीयको आशा टुटेको हो । गाउँका नयाँ पुस्ताहरू भने ऊर्जामन्त्रीले देखाएका सपनाहरूले केही आशा भने जगाएको बताउँछन् ।
‘सरकारले नै विद्युत् किन्नेदेखि प्रसारण लाइन तान्नेसम्मका कुरामा सम्झौता गरिसकेपछि केही आश गर्न सकिन्छ,’ लामीखाल डोटीका हरि नेपालीले भने, ‘अहिले लगानीको पनि समस्या छैन, सरकारले आँट्यो र राजनीतिक वातावरण बनेमा काम हुन्छ होला ।’

अब पनि सरकारले आश मारे प्रभावित क्षेत्रका बासिन्दा ज्यूँदै मरेसरह हुने उनको भनाइ थियो । शारदा मावि ढुंगाडका शिक्षक मीनबहादुर चन्दले प्रभावित क्षेत्रका बासिन्दाका तर्फबाट ऊर्जामन्त्री शर्मालाई सडक, शिक्षा, स्वास्थ्य र विद्युतको माग गर्दै ज्ञापन बुझाएका थिए ।

‘ढुक्क हुनुस् पश्चिम सेती बन्छ’
चार दशकदेखि पश्चिम सेती आयोजनाको पर्खाइमा रहेका प्रभावित क्षेत्रका बासिन्दालाई ऊर्जामन्त्री शर्माले आयोजना बन्नेमा ढुक्क रहन आश्वासन दिएका छन् ।

सरकारको बहालवाला मन्त्रीका रूपमा शनिबार पहिलोपटक आयोजना निर्माणस्थलमा पाइला टेकेकामा स्वागत गर्न डोटी, डडेल्धुरा र बैतडीबाट आएका सयौं बासिन्दालाई मन्त्री शर्माले पश्चिम सेती आयोजनाबारे सरकार गम्भीर रूपमा लागिरहेको भन्दै त्यसका लागि सरकारले गरिरहेका गतिविधिबारे जानकारी दिएका थिए ।

‘थ्री गर्जेजसँग सम्झौता गरी छुट्टै कम्पनी बनाउन स्वीकृत दिइसकेका छौं,’ हेलिकप्टर चढेर आएका उनले स्थानीयलाई भने, ‘ढुक्क हुनुस्, पश्चिम सेती बन्छ । चाँडै नै आयोजनाको कार्यालय ढुंगाडमा खोल्दै छौं ।’ उनले मुआब्जा, क्षतिपूर्ति र पुन:स्थापनाका लागि आन्दोलन नगरी सहयोगका लागि तयार रहन आग्रह गरे । ‘तपाईंहरूको रोजगारी, आर्यआर्जन र पुन:स्थापनाबारे हामी गम्भीर चिन्तामा छौं,’ उनले भने, ‘विकासमा सबैभन्दा पछि परेको ढुंगाड क्षेत्र अब विकासको तीव्र दौडमा रहनेछ ।’

यसअघि लगानी र विद्युत् कसले किन्ने भन्ने विषयमा अन्योल हुँदा आयोजना अघि बढ्न सकेको थिएन । ऊर्जामन्त्री शर्माले कैलालीको अत्तरिया लम्कीको प्रसारण लाइनमा जोड्ने र विद्युत्समेत सरकारले किन्ने सम्झौता भएकाले अब कुनै समस्या नरहेको बताएका थिए । उनले स्थानीयलाई समेत आयोजनामा लगानी गर्न प्रत्येक घरधुरीले एक लाख रुपैयाँ सेयर हाल्नुपर्ने बताए ।
‘मजदुरी गरेर भए पनि तपार्इंहरूले लगानी गर्नुपर्छ,’ मन्त्री शर्माले भने, ‘वर्षको २० हजारका दरले किस्तामा एक लाख रुपैयाँ लगानी गर्न तयार रहनुस् ।’

स्रोत:कान्तिपुर 

comments powered by Disqus

Interview+ View All

Article+ View All