Share Market

नेप्से परिसूचक ६३ दशमलव २३ अङ्कले बढ्यो

माघ १९, काठमाडौं: बुधबार शेयर बजार ४ दशमलव ७७ प्रतिशतले बढेको छ । बीमा समूह, जलविद्युत र बैङ्किङ समूहको परिसुचक उच्चदरले बढेको छ । सबै समूहको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक उकालो लागेको हो । यस दिन परिसूचक ६३ दशमलव २३ अङ्कले बढेर १ हजार ३ सय ८९ दशमलव ८३ विन्दुमा पुगेको हो । यस दिन काराबोर रकम रू. ७ करोड ८१ लाख बढेर रू. ६० करोड ६९ लाख पुगेको छ भने कुल बजार पूँजीकरण रू. १५ खर्ब ६३ अर्ब पुगेको छ । नेप्सेमा कारोबार भएका कम्पनी मध्ये १ सय २३ कम्पनीहरुको शेयर मूल्य बढेको, ९ कम्पनीहरुको मूल्य घटेको छ भने ५ कम्पनी स्थिर रहेको छ । दिनभरिमा १ सय ३७ कम्पनीको ५ हजार १ सय २४ पटकको व्यापारबाट १८ लाख ३३ हजार ४ सय ४० कित्ता शेयर किनबेच भएको छ । 

सो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव ७३ प्रतिशत बढेर ३ सय १ दशमलव ७० अङ्क पुगेको हो । यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) न्यूट्रल जोन अथवा ४० दशमलव ३२ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरिद विक्री चाप सामान्य रहेको देखाउँछ । सो दिन नेप्सेको एडी रेशियो १३ दशमलव ६६ अङ्क रहेको छ । यसले बजार बुलिश प्रवृत्तिमा रहेको देखाउँछ ।

बीमा समूहको परिसुचक ६ दशमलव ५९ प्रतिशतले बढेको छ । कारोबारमा आएका सबै बीमा कम्पनीहरुको शेयर मूल्य बढेपछि यस समूहको परिसुचक ३ सय ७६ अङ्कले बढेको हो । त्यस्तै, जलविद्युत समूहको परिसूचक ५ दशमलव १८ प्रतिशत र बैङ्किङको ५ दशमलव शून्य ३ प्रतिशतले बढेको छ । साथै, विकास बैङ्क समूहको परिसूचक ४ दशमलव शून्य ६ प्रतिशत, ‘अन्य’ समूहको ३ दशमलव ७ प्रतिशत, वित्त कम्पनीको ३ दशमलव शून्य ९ प्रतिशत र होटलको २ दशमलव ५३ प्रतिशतले बढेको हो ।

comments powered by Disqus

Interview+ View All

Article+ View All