Infrastructure

उपत्यकामा मेट्रो रेलः यही वर्ष 'काम सुरु'

काठमाडौ, १३ पुष: सरकारले राजधानीमा मेट्रो रेल सञ्चालनको तयारीस्वरुप चालू आवभित्रै काम शुरु गर्ने बताएको छ । मुलुकभर सञ्चालन गर्न लागिएको रेल सञ्जालको काम द्रूत गतिमा अघि बढाउन सरकारले गम्भीर भएर विशेष चासो लिएको छ । नेपालमा रेल सपनाजस्तै भएको र कामभन्दा कुरा बढी भएको भन्दै सरकारको संसदीय समिति, मन्त्री र सांसदहरु रेल सञ्चालनको काम जतिसक्दो चाँडो गर्न प्रतिवद्ध र एक भएका हुन् । सरकारले संभावित रेल सञ्जालबारेको गुरुयोजना तत्काल बनाउन र राजधानीमा मेट्रो रेलको काम पनि यसै आर्थिक वर्षभित्रै सुरु गर्ने प्रतिवद्धता पनि जनाएको छ ।

संसदको विकास समितिले बिहीबार सिंहदरबारमा राखेको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले भने, ‘सरकार राजधानी रहेको काठमाडौंमा मेट्रो रेल सञ्चालन गर्न प्रतिवद्ध छ, काठमाडौंमो मेट्रो रेल चल्नुपर्छ, चलाउनै पर्छ ।'

उनले पूर्वपश्चिम रेलका लागि पनि आवश्यक तयारी भइसकेको जानकारी दिँदै विस्तृत अध्ययन परियोजना (डिपिआर) सक्नासाथ ती ठाउँहरुमा काम थाल्ने पनि जानकारी दिए । उनले थपे, ‘जनशक्ति र निर्माण सामग्री आदि मुलुकमा सीमित भए पनि आयोजनाको महत्व ठूलो र सरकारको प्रतिवद्धता फराकिलो छ । सरकार अब रेल निर्माणका सम्बन्धमा गति बढाउँछ ।' समय लिने आयोजना भएकाले सोचेजस्तो गतिमा काम नदेखिएको उनको भनाई थियो ।

विकास समितिका सभापति रविन्द्र अधिकारीले मन्त्री, रेल विभाग, मन्त्रालयका सचिव र सांसदहरुका भनाई सुनेपछि विभागका महानिर्देशक अनन्त आचार्यलाई मुलुकभर सञ्चालन हुने रेलहरुका बारेमा तत्काल गुरुयोजना (मास्टर प्लान) बनाउन निर्देशन दिए ।

उनले भने, ‘यसै आर्थिक वर्षभित्रै राजधानीमा सञ्चालन गर्ने भनिएको मेट्रो रेलको पनि काम सुरु गर्नोस् । निर्माण सामग्रीको अभाव हुन्छ भने नदीजन्य ढुंगा, गिटी र बालुवामा मात्र भर नपर्नोस् अब खानीमा आधारित निर्माण सामग्री उत्पादनमा लाग्नोस् ।'

अधिकारीले रेलवे सेवा सञ्चालनमा छिमेकी देश चीन एक वा दुई नम्बरमै पर्ने र अर्को छिमेकी देश भारत पनि रेल सञ्जालका दृष्टिले यूरोप पछिको मुलुक भएकाले यी दुवै देशसँग नेपालले पुलको भूमिका खेल्नेगरि अघि बढ्नुपर्नेमा जोड दिए । ‘नेपालको विकासमा सरकार नै बाधक छ, एउटा मन्त्रालय निर्माण गरिरहँदा अर्को मन्त्रालय बाधाव्यवधान खडा गरिरहेको हुन्छ', उनले भने, ‘सरकार परिवर्तनले भन्दा दस गुणा बढी बाधा अन्तरमन्त्रालय समन्वयमा देखिन्छ ।'

रेल विभागका महानिर्देशक अनन्त आचार्यले मेचीकाली नौ सय ४५ किलोमिटर, काठमाडौं पोखरा एक सय ८७ किलोमिटर, मेचीकालीमा अबुखैरेनी लिंक ७२ किलोमिटर, मेचीकाली उत्तरदक्षिण लिंक एक सय १३ किलोमिटर र निजगढ हेटौंडा भरतपुर एक सय ३५ किलोमिटर रेलमार्गको सम्भाव्यता अध्ययन पूरा भइसकेको जानकारी दिए ।

उनले बर्दिबास काँकडभिट्टा दुई सय ६२ किलोमिटर रेलमार्गको विस्तृत अध्ययन परियोजनाका लागि काम सुरु भएको र काठमाडौं मेट्रो रेलको पनि विस्तृत अध्ययन परियोजना (डिपिआर) को प्रक्रिया अघि बढाउन लागेको जानकारी दिए । उनका अनुसार, चालु आवमा बुटवल गड्डाचौकीको डिपिआरका लागि कार्य प्रदान गर्ने, वीरगञ्ज काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने, रसुवागढी काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययन गर्ने काम विभागले गर्नेछ ।

यसअघि विभागले निजगढ हेटौंडा भरतपुर एक सय ३५ किलोमिटरको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ भने जनकपुर रेल कम्पनिको पुराना फलामका लिग तथा काठेस्लीपरको लिलाम उठाउने काम ९५ प्रतिशत सकिएको छ । साथै सिमरा बर्दिबास खण्डको इआइए स्वीकृत र पूर्वपश्चिम रेलमार्गमा पर्ने दुईवटा पुल निर्माण काम भइरहेको छ । नेपालमा स्ट्याण्डर्ड गेजको प्रयोग गरी रेल प्रतिघन्टा दुई सय किलोमिटरको गतिमा सञ्चालन गर्न सकिने उनको भनाई छ ।

विभागका महानिर्देशक आचार्यले भारत सरकारको सहयोगमा निर्माण गरिने विभिन्न पाँच स्थानको रेलमार्गमध्ये जोगवनी बिराटनगर र जयनगर जनकपुर बर्दिवासमा काम सञ्चालन भइरहेको पनि जानकारी दिए । उनले भने, ‘जयनगरदेखि जनकपुरहुँदै बर्दिबाससम्मको ६९ किलोमिटरको काम यही पुस १५ भित्रमा सक्ने विभागको योजना थियो तर भूकम्प र अघोषित नाकाबन्दीले काम प्रभावित भयो तर पनि अबको एक वर्षभित्र सक्नेगरि काम गरिरहेका छौं ।'

उनले रेलको मुख्य काम नेपालको जनशक्ति र मेसिनले गर्न नसक्ने र सबैजसो काम मेसिनले गर्नुपर्ने भएकाले ग्लोबल टेण्डरमा जानैपर्ने जानकारी दिए । बर्दियादेखि लालबन्दीसम्मको ३० किलोमिटरका लागि तत्काल काम थाल्न मिल्ने भए पनि ग्लोबल टेण्डरबाट आउने कसैले पनि कम्तिमा एक सय किलोमिटरको काम गर्ने भएकाले पनि समस्या भएको उनको भनाई छ । उनले खोलाजन्य निर्माण सामग्रीको अभाव र ऐलानी जग्गाको मुआब्जा निर्धारण सम्बन्धमा सरकारी निकायबीच समन्वय अभावले ढिलाइ भइरहेको बताए ।

रेल होइन फेल यातायात

विकास समितिको बैठकमा सांसदहरुले भने रेलका बारेमा कामभन्दा कुरा बढी भएको भन्दै असन्तुष्टि व्यक्त गरे । सांसद रामअयोध्याप्रसाद यादवले भने, ‘नेपालमा यो रेल यातायात होइन, फेल यातायात हो ।' सांसद रामकुमार भट्टराईले नेपालमा रेलको काम कसरी गर्ने भनेर सोच्न पाँच वर्ष लागेछ अब काम गर्न कति वर्ष ? भनी प्रश्न गरेका थिए ।

उनले भने, ‘रेल मार्गका लागि ढुंगाको गुणस्तर मापन गर्दा एक ठाउँको असफल भयो होला यसो हुँदैमा भारतबाट ढुंगा किन्ने कुरा कति जायज हो ? जबकी भारत नेपालको ढुंगागिटी चाहन्छ ।' पूर्वमन्त्री शान्ता मानवीले वर्षौंसम्म प्रतिफल नआउने हो भने लगानी किन गर्ने ? भनी प्रश्न गरिन् । उनले भनिन्, ‘नेपालमा त काम गर्नेभन्दा काम गराउने (नीतिनियम बनाउने सांसद, मन्त्री आदि) हाम्रो संरचना पो दुई कदम पछाडि छ त । यसरी कसरी काम छिटो हुन्छ भनेर अपेक्षा गर्ने ? '

सांसद रामकृष्ण घिमिरेले आफ्नो जिल्ला चितवनमा आफूले बनाउन लागेको १० किलोमिटर सडक सम्पन्न गर्न लामो समयदेखि हम्मेहम्मे परेको सन्दर्भ सुनाउँदै रेलको काम खारेज गर्न आग्रह गरे । उनले भने, ‘हल्लाको पछि लागेर बनाउन लागेको रेल निर्माणको काम तुरुन्त रोक्नुपर्छ । नेपालमा रेल आउँदै आउँदैन, चल्दै चल्दैन त्यसैले नहुने काम गर्दै नगरौं ।' घिमिरेकै शैलीमा सांसद शिवजी यादवले पनि रेल निर्माण कार्य तुरुन्त बन्द गर्न माग गरे । उनले भने, ‘खोलानाथाबाट ढुंगागिटी उठाउने निर्णय पनि बन्द गर्नोस् नत्र रेल चल्ने होइन, भएका सडक पनि भत्किएर खाल्डाखुल्डी बनेर बाँकी नरहने भए ।'

सांसद रामचन्द्र पोखरेलले कछुवा गतिमा काम भइरहेको भए पनि अब अघि बढ्न लागेको बुझेर खुसी लागिरहेको बताए । सांसद वृजनाथ चौधरीले थपे, ‘मैले त सुनेअनुसार धेरै काम भएको होला भन्ने ठानेको थें तर नेताबीचमात्र गफ बढी भएको रहेछ ।' आफूले सोचेभन्दा रेलको काम दुई वर्ष ढिलो भइरहेको विभागको ब्रिफिङ सुन्दा अचम्म लागेको अर्का सांसद महेन्द्र यादवले बताए ।

सांसद अनिता देवकोटाले भनिन्, ‘कि राष्ट्रिय गौरवको आयोजना भन्नै भएन, भन्ने हो भने निकुञ्ज, सिमसार, मुआब्जा जस्ता अनेक उल्झन छन् भन्न भएन, काम कसैबाट कुनै कारणले पनि रोक्न भएन ।'दुई वर्षभित्रै मेट्रो होससांसद चीनकाजी श्रेष्ठले राजधानी रहेको काठमाडौं महानगरमा अबको दुई वर्षभित्र ट्राफिक जामले हिँड्नै नसकिने ठोकुवा गर्दै दुई वर्षभित्रै मेट्रो रेल सञ्चालन हुनेगरि काम गर्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका प्रमुख सचेतक उनले भने, ‘अहिले भइरहेको काठमाडौं उपत्यकाभित्रको जाम हेर्ने हो भने अबको दुई वर्षभित्र हिँड्न सक्ने अवस्था पक्कै रहँदैन, यसको विकल्प मैले मेट्रो रेलमात्र देखिरहेको छु ।

अर्को पनि विकल्प छ त्यो विकल्प भनेको राजधानी नै अन्तै सार्ने ।' काठमाडौंको मुटुमा रहेको टुँडिखेलको मुनि मुख्य स्टेसन बनाएर एउटा रुट कोटेश्वर, गोदावरी, दक्षिणकाली र बुढानिलकण्ठ र अर्को रुट थानकोटबाट धुलिखेलको बनाउनुपर्नेमा उनको जोड थियो ।

विकास समितिका सभापति रविन्द्र अधिकारीले राजधानीमा मेट्रो र मोनो रेल सञ्चालनबारे समिति र अन्य विभिन्न बैठकमा पटक पटक छलफल गरिरहेको भए पनि चाहेको गतिमा काम हुन नसकेको बताए । उनले भने, ‘राजधानीमा अब सडक यातायातमात्र उपयुक्त छैन, रेल जतिसक्दो चाँडो सञ्चालन गर्नु परेको छ ।'

साभार: अन्नपूर्ण पोस्ट

 

comments powered by Disqus

Interview+ View All

Article+ View All