International News

शतप्रतिशत नवीकरणीय ऊर्जा उत्पादन गर्ने प्रतिबद्धता

मोरोक्को, ०६ मंगसिर: मोरक्कोको राजधानी माराकेचमा ४८ ओटा विकासोन्मुख राष्ट्रले आफूलाई आवश्यक पर्ने इन्धनको शतप्रतिशत परिमाण नै नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दैै एक घोषणापत्रमा हस्ताक्षर गरेका छन् । मोरक्कोको राजधानी माराकेचमा आयोजित विश्व जलवायु परिवर्तन सम्मेलनको अन्तिम दिन ‘जलवायु परिवर्तनले पार्ने असर नियन्त्रण गर्ने’ विषयक मञ्च–क्लाइमेट भल्नरेबल फोरम (सिभिएफ)मा भएको एक उच्चस्तरीय बैठकमा यी देशले ठूलो परिमाणमा कार्वन र वातावरण विनाशमा सघाउ पुग्ने तत्व उत्सर्जन गर्ने उद्योग, परियोजनामा लगानी नगर्ने प्रतिबद्धता पनि जनाएका छन् । 

सुरुका ४३ ओटा सिभिएफ सदस्य राष्ट्रका अतिरिक्त आज थपिन आएका लेबनान, प्यालेस्टाइन, सामोआ, गाम्बिया र कोलम्बियासमेत अन्य पाँच राष्ट्रले समर्थन गरी हस्ताक्षर गरिएको सो घोषणापत्र आ–आफ्ना मुलुकमा अति शीघ्र लागू गर्ने सहमतिसमेत भएको छ । 

साथै, नवीकरणीय ऊर्जा उत्पादनमा सहयोग पुर्याउने उद्देश्यले ऊर्जा रुपान्तरण, यातायातलगायत अन्य क्षेत्रमा क्षमता वृद्धि, आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउने सम्बन्धमा राष्ट्रिय योजना तर्जुमा गरी कार्यान्वयन गर्ने प्रतिज्ञा पनि व्यक्त गरेका छन् । 

अमेरिकी पूर्वउपराष्ट्रपति तथा वातावरण अभियन्ता अल गोरले ‘जलवायु परिवर्तनको कारण सङ्कटापन्न विश्वलाई राहत दिलाउन र जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अति शीघ्र कार्यान्वयनमा ल्याउन ४८ राष्ट्रको यस साहसिक कदमले निश्चय नै सघाउ पुग्ने’ बताए । 

विश्व वातावरण बचाउन लागिपर्ने अन्तर्राष्ट्रिय संस्था ग्रिनपिस इन्टरनेसनलका कार्यकारी निर्देशक जेनिफर मोर्गानले लगभग एउटा सिङ्गो रुसले जत्तिकै कार्बन र हरितगृह ग्यास उत्सर्जन गरी वातावरण प्रदूषण गर्ने ४८ राष्ट्रको यस्तो कदम निश्चय नै सराहनीय भएको बताए ।

comments powered by Disqus

Interview+ View All

Article+ View All