Environment

नेकपा (संयुक्त) ले सधैँ किन रोज्छ वातावरण मन्त्रालय?

श्रावण २९, २०७३: नेकपा (संयुक्त) का संसदीय दलका नेता जयदेव जोशीले बिहीबार जनसंख्या तथा वातावरण मन्त्रीका रूपमा पदभार ग्रहण गरे । मन्त्रीको शपथ लिएको चौथो दिन जोशीले मन्त्रालयको जिम्मेवारी पाएका हुन् । ठूला पार्टी र साना दलले समेत वातावरण मन्त्रालयप्रति खासै रुचि देखाउँदैनन् । तर, नेकपा संयुक्तको रोजाइमा भने जहिल्यै वातावरण मन्त्रालय पर्छ । उक्त पार्टीबाट वातावरण मन्त्रालय सम्हाल्ने जोशी चौथो नेता हुन् ।

गणतन्त्र स्थापनापछि नेकपा संयुक्त पाँच पटक सरकारमा गयो । चार पटक उक्त पार्टीले वातावरण मन्त्रालय सम्हाल्यो । बाबुराम भट्टराई नेतृत्वको सरकारमा एक पटक भूमिसुधार मन्त्रालय चलायो । त्यति बेला पार्टी अध्यक्ष रहेका चन्द्रदेव जोशी भट्टराई नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री बनेका थिए । संयोग कस्तो परेको छ भने पार्टीका अध्यक्ष, महासचिव र सचिव सबै पूर्व वातावरण मन्त्री छन् । पहिलो पटक वातावरण मन्त्री बनेका गणेश साह अध्यक्ष छन् भने दोस्रोपटक वातावरण मन्त्री बनेका ठाकुर शर्मा महासचिव, तेस्रोपटक वातावरणमन्त्री बनेका सुनील मानन्धर पनि पार्टीका पूर्वमहासचिव हुन् । अहिलेका वातावरण मन्त्री जोशी पार्टीमा सचिव हुन् ।

पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री हुँदा २०६५ सालमा संयुक्तका गणेश साह पहिलो पटक वातावरण मन्त्री (त्यतिबेला विज्ञान, प्रविधि तथा वातावरण) बने । दाहालपछिको माधव नेपाल नेतृत्वको सरकारमा पनि संयुक्तका ठाकुरप्रसाद शर्माले वातावरण मन्त्रालय सम्हाले । नेपालपछि झलनाथ खनाल नेतृत्वको सरकारमा पनि वातावरण मन्त्रालय सोही पार्टीको भागबन्डामा पर्‍यो र सुनील मानन्धर वातावरण मन्त्री बने । पटक–पटक संयुक्तले किन रोज्छ त वातावरण मन्त्रालय ? ‘हामीले सुरुवात गरेका नीति कार्यक्रमलाई कार्यान्वयन गराउनु एक मात्र उद्देश्य हो,’ पूर्व वातावरण मन्त्री तथा पार्टीका अध्यक्ष गणेश साहले कान्तिपुरलाई भने, ‘धेरै पटक सम्हालेका हिसाबले हामीसँग अनुभव पनि छ र कर्मचारीतन्त्रको थोरबहुत विश्वास पनि छ जस्तो लाग्छ ।’

साह वातावरण मन्त्री बनेलगत्तै अन्तर्राष्ट्रिय फोरमहरूमा जलवायु परिवर्तनले नेपालमा परेको असरबारे आवाज उठ्न थालेको हो । उनकै पालामा पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे अन्तर्राष्ट्रियस्तरको सम्मेलनसमेत भएको थियो । शर्माका पालामा जलवायु परिवर्तन नीति आएको हो । त्यसैबेला जलवायु परिवर्तन महाशाखा स्थापना गरिएको थियो । प्रधानमन्त्रीको अध्यक्षतामा विशेषज्ञहरू सम्मिलित ‘राष्ट्रिय जलवायु परिवर्तन परिषद्’ स्थापना र बहुचर्चित कालापत्थरमा मन्त्रिपरिषद् बैठक पनि शर्माकै पालामा भएका थिए । तत्कालीन प्रधानमन्त्री माधव नेपालले अमेरिकी राष्ट्रपति बाराक ओबामा र राष्ट्रसंघीय महासचिव बान कि मुनलाई सगरमाथाबाट लगिएको ढुंगा उपहार दिएका थिए ।

‘विद्यालयस्तरको पाठ्यक्रममा जलवायु परिवर्तनको विषय समावेश गर्न पनि हामीले नै पहल गरेका हौं,’ पूर्वमन्त्री साहले भने, ‘जलवायुको मुद्दालाई विश्वव्यापीरूपमा अघि बढाउन हाम्रो योगदान छ ।’ पटक/पटक सरकारमा बसेर तयार गरेका वातावरण, जलवायु परिवर्तनसम्बन्धी नीति तथा कार्यक्रमलाई मूर्तरूप दिन आफूहरूले उक्त मन्त्रालय रोजेको उनले सुनाए । उनले भने, ‘आफैंले अघि बढाएका नीति, कार्यक्रमलाई कार्यान्वयन गर्न चाहन्छौं ।’ यो पटक संविधानले दिएको वातावरणीय अधिकारलाई कार्यान्वयन गराउन पहलकदमी लिने मन्त्रीको दाबी छ ।

साभार: कान्तिपुर

 

comments powered by Disqus

Interview+ View All

Article+ View All