Interview

नेपालमा विकास गर्न भारतसँग् पीपीए गर्नुपर्छ : डा. उपेन्द्र महतो

डा. उपेन्द्र महतो आफ्नो सफलताको जस इमान्दारिता, मेहनत र लगनशीलतालाई दिन्छन् । माध्यमिक तहसम्मको शिक्षा गाउँकै साधारण सरकारी स्कुलमा पढेका महतोको उच्च शिक्षा इंजीनियरिंग क्याम्पस पुलचोक ललितपुर बाट शुरु भएको हो  । सरकारी छात्रबृद्दिमा अध्ययन गर्न रसिया पुगेका महतोको रसिया र नेपाल लगायत बिश्वमा ठुलो लगानी छ । संविधान जारी भएपछिको नेपाल–भारत सम्बन्ध, द्धिपक्षीय आर्थिक साझेदारीको सम्भावना र भारतसँगको व्यापार घाटा कसरी कम गर्न सकिन्छ भन्ने विषयमा उनै गैरआवसीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोसँग रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार रुद्र बहादुर कार्कीले गरेको कुराकानीको सम्पादित अंश:

संविधान जारीपछिको नेपाल–भारत सम्बन्धलाई यहाँले कसरी हेर्नुभउको छ ?

नेपाल–भारत सम्बन्धलाई मैले कसरी लिएको छु भन्दाखेरि हामीबीचको भौगोलिक कारणले, खुल्लासिमानाका कारणले अनि वर्षौदेखिको ऐतिहासिक सम्बन्धका कारणले पनि भारत नेपालको अत्यन्तै नजिकको मित्र हो । मित्रको बीचमा कहिलेकाहीँ असमझदारी हुन सक्छ तर त्यो छोटो समयको लागि मात्रै हुन्छ । जसलाई असमझदारी नै भन्न मिल्दैन । मलाई के लाग्छ भने नेपाल र भारतबीचको जुन किसिमको आर्थिक सम्बन्ध छ, त्यो व्यापार (ट्रेड) मा मात्रै सिमित छ । हुनुपर्ने सम्बन्ध चाहीँ उद्योग स्तरमा हो तर त्यसो हुन सकेको छैन् । हाम्रो देशमा भारतको लगानी जबसम्म अलिक बढि मात्रामा आउँदैन, तबसम्म हाम्रो सम्बन्ध त्यति दिगो रहँदैन भन्ने। हेर्नुहोस्, आजको एक्काईसौं शताब्दीको सम्बन्ध भनेको व्यवसायिक सम्बन्ध हो । व्यवसायिक सम्बन्धका कारण मात्रै एक अर्का देशबीच सम्बन्ध प्रगाढ बन्छ् । व्यवसायिक सम्बन्धले नै जनता–जनताको बीचमा अनि सरकार–सरकारको बीचमा पनि सम्बन्ध अझै प्रगाढ बनाउँछ । मलाई लाग्छ यसको रुप आज देखियो । भारतसँग यति लामो समयसम्म हाम्रो भाईचारा, दोस्ती, सद्भाव अनि पारिवारिक सम्बन्ध रहँदा रहँदैपनि संविधान जारी भैसकेपछि जुन किसिमको समस्या देखियो त्यसमा एउटै कुरा के छ भने भारतको लगानी नेपालमा कम छ । नेपाल र भारतबीचको व्यापार कारोबार अरु देशहरुको तुलनामा धेरै नै बढि छ । तर जबसम्म हामीले व्यापारीक साझेदारीलाई औद्योगिक साझेदारीको रुपमा रुपान्तरण गर्दैनौं तबसम्म हाम्रो सम्बन्ध पनि त्यति दिगो हुँदैन् ।

संविधान जारी भएपछि नेपाल–भारत सम्बन्धका नयाँ सम्भावनाहरु केही देख्नुभएको छ ?

हिजोका दिनमा भारतले विदेशमा लगानी गर्दैन थियो । तर आजको दिनमा भारतले विश्वव्यापी रुपमा आफ्नो लगानीलाई विस्तार गरिरहेको छ । जब कि यो भन्दा पहिला भारत आन्तरिक लगानीमा मात्रै केन्द्रित थियो । भारत पनि त्यतिवेला विदेशी लगानी भारत भित्र्याउनमा नै केन्द्रित थियो तर आजको दिनमा भारतले आफ्नो लगानी विदेशमा तिव्र गतिमा गरिरहेको हामीले पाएका छौं । हामीले पनि विदेशी लगानीकर्ता मित्रहरुलाई नेपालमा पनि लगानीका थुप्रै प्रचुर सम्भावनाहरु छन् भनेर आश्वस्त पार्दा उनीहरुको पहिलो जिज्ञासा नै भारतको नेपालमा कति लगानी छ भन्ने छ । आफ्नै छिमेकी राष्ट्रले अर्को छिमेकी देशमा लगानी गर्दैन भने त्यहाँ केही गडबड छ भन्ने बुझिन्छ । आजको दिनमा यही नै सबैभन्दा गहकिलो अनि पेचिलो विषय बनेको छ । नेपालमा पनि सम्भावना नभएका होईनन् ।नेपालका विभिन्न क्षेत्रहरु जस्तो पर्यटन, हाईड्रोपावर, कृषि, शिक्षा, स्वास्थ्य लगायतका अन्य थुप्रै क्षेत्रहरुमा प्रचुर सम्भावनाहरु छन् । तर यही सम्भावनाका कुराहरु हामीले हाम्रो विदेशी मित्रहरुलाई समेत बुझाउन सकेका छैनौं । यो अत्यन्तै दुःखलाग्दो कुरा हो । विदेशी लगानीकर्ताहरुलाई भारतले नेपालमा किन लगानी गरिरहेको छैन भनेर विश्वासको संकट अर्थात विभिन्न शंका उपशंका छ, अनि हामीले पनि यही कुरा भारतलाई बुझाउन सकिरहेका छैनौं । किनभने वेला–वेलामा हामीबीच विभिन्न शंकाहरु पैदा भैरहेको छन् ।

भारतसँग पीडिए र पीटिए भए तर ठोस कार्यान्वयनहुन सकिरहेको छैन नि ?

मैले के हेर्छु भने हामी नेपालीहरु प्रक्रियामा धेरै ध्यान दिन्छौ तर त्यसको कार्यान्वयनको पक्षमा फितलो बनिदिन्छौं । जसको कारण हामी परिणामविहिन हुन पुग्छौं । यो अत्यन्त्तै दुर्भाग्य हो । त्यसैले नेपाल र भारतबीच भएका सबैखाले व्यापार साझेदारका सम्झौताहरु जस्तो पीडिए र पीटिए अहिले प्रक्रियामै छन् । यो कुनै परिणाममुखी बनिसकेको छैन । पीडिए र पीटिएलाई त अझ म घोषणापत्रको रुपमा मात्रै लिन्छु । यी सबै कागजी प्रक्रियाका सैद्धान्दिक आधारहरु मात्रै हुन् । जबसम्म पीपीए हुँदैनन् तबसम्म केही पनि हुँदैन् । मैले व्यक्तिगत रुपमा पनि नेपाल सरकारसँग केही अनुरोध गर्दै आएको छु कि हाम्रो सरकारको ठूलो सफलता भनेको नै भारतसँगको हाईड्रोपावरमा पीपीए गर्नु हो । यसमा सरकारले ध्यान दिनुपर्छ भनेर मैले बारम्बार आवाज उठाई राखेको छु । हामी जलश्रोतको धनी छौं । नेपालमा उत्पादित विद्युत भारत बाहेक अन्य देशले किन्ने सम्भावना नै छैन् । भारतले विद्युत नकिन्ने हो भने उसले त्यसमा लगानी नै गर्दैन् । अनि भारतले लगानी नगरेपछि अन्य विदेशी लगानी कम्पनीले पनि त्यसमा ध्यान दिँदैनन् । त्यसैले भारतले यसमा गम्भिर रुपमा नलिएसम्म नेपालमा हाईडोपावरका प्रोजेक्टहरुले गति लिनेमा म चाहीँ विश्वस्त छैन् । भारतलाई हेरेर नेपालले आफ्नो होईडोपावरको पाटेन्सियालिटी निर्धारण गर्ने हो भने अहिले नेपालको क्षमता करिब १ हजार मेगावाटको हुन्छ । यदि नेपाललाई मात्रै हेरेर लिने हो भने पनि त्यसको क्षमता ६ सय मेगावाट हुन्छ । आजको समयमा प्राकृतिक स्रोत र साधनलाई मात्रै ५० प्रतिशत अथवा ६० प्रतिशत मात्रै उपभोग गर्नु भनेको त्यो अन्याय हुन्छ । त्यसले पाप लाग्छ । त्यसकारण भारतसँग ठूलो परियोजनामा नेपालले निश्चित प्रतिशतको खुल्ला माग राख्नुपर्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएसँगै नेपाल र भारतको सम्बन्धमा जुन मिठोपन, न्यानोपन आएको थियो । जसले गर्दा जनता, सरकार अनि निजी क्षेत्रका लगानीकर्तालाई पनि नयाँ उत्साह पैदा गरेको थियो । त्यही मात्राको उत्साहलाई यदि व्यवहारिक रुप दिने हो भने भारतले हामीसँग पीपीए चाहीँ गर्नुपर्छ । त्यसकारण जुन दिन भारतसँग पीपीए हुन्छ त्यही दिनमात्र पीडिए र पीटिएको महत्व हुन्छ, होईन भने ती पिटिए र पीडिएले नेपालीलाई झुलाउने, केही समय आशामा राख्ने मात्र हो ।

नेपालमा लगानी भित्र्याउने विषयमा भारतीय पक्षसँग यहाँले केही पहलकदमी लिनुभएको छ त ?

विश्वभरि नै आर्थिक साझेदारी र लगानीको लागि सरकारबाट जो कोही निर्देशित हुने चलन छ । जबसम्म सरकारले लगानी भित्र्याउने कुरामा मुख खोल्दैन, तबसम्म नीजि क्षेत्र दौडिदैन् । प्राईभेट कम्पनीलाई आफ्नो देशमा काम गर्नुपर्ने हुन्छ । त्यसैले आफ्नो देशमा काम गर्नको लागि नीजी क्षेत्रले सरकारको मनशाय के छ भनेर बुझ्नु जरुरी हुन्छ । सरकारले कुन देशसँग व्यापारिक साझेदार बलियो बनाउन खोजेको छ, त्यो कुरामा भरपर्छ र नीजि क्षेत्रले त्यही कुरा अध्ययन गर्छन् । त्यसकारणले त्यति वेला मात्रै हाम्रो प्रयास काम लाग्छ, जति वेला सरकार सरकारबीच लगानी साझेदारीका लागि स्पष्ट नीति बन्छ अनि बलियो साझेदारीको ढोका खुल्छ । यसरी हेर्दा, जबसम्म भारत सरकारले नेपालमा लगानी गर्न प्रात्साहन गर्दैन तबसम्म व्यक्तिगत पहलकदमी लिनु सार्थक हुँदैन् । तरपनि भारतीय निजी क्षेत्रका लगानीकर्ताहरुलाई नेपालमा लगानी भित्र्याउन र विश्वासको वातावरण सिर्जना गर्न नेपालका नीजी क्षेत्रका साथीहरु रातदिन लागिपर्नु भएको छ र त्यो कदम सार्थक पनि बन्दै गएको छ । जस्तो भारतीय नीजी क्षेत्रको लगानीकै कुरा गर्दापनि नेपालमाभन्दा त्यहाँ बढि समस्या छ । हाईडोपावरमा लगानी गर्न लाईसेन्स लिएर बसेका लगानीकर्ताहरु समस्यामा छन् किनकी भारतले अहिलेसम्म बजारभाउ स्पष्ट रुपमा तोकेको नै छैन् । मलाई विश्वास छ कि ठूलो लगानी बल्कमा भित्रियो भने सानोतिनो लगानी स्वतःस्फूर्त रुपमा भित्रिन्छ । त्यसैले विदेशी लगानी बल्कमा नेपालमा भित्रियाउन सबैजन ालागिपर्नुपर्छ ।

संविधान जारी भएलगत्तै भारतले नेपालमा आर्थिक नाकाबन्दी लगायो, यसलाई यहाँले कसरी हेर्नुभएको छ ?

आर्थिक नाकाबन्दीका कारण नेपाल र भारतबीचको आर्थिक व्यापारिक साझेदारीमा अलिकति असर त पक्कै परकै हो । तर मलाई के लाग्छ भने, नेपाल र भारतबीच व्यवसायीक क्षेत्रमा र लगानीको सम्बन्ध बढ्दै गयो भने जुन अहिले देखापरेको समस्या छन् ती दुवै देशका मानिसहरुले बिर्सिँदै जान्छन् । हुन त नेपालीहरुले यो भन्दापनि धेरै ठूलो दुःखद अवस्थाबाट पार गरिसकेका छन् । यसर्थ नेपालीहरुको जुन किसिमको कोमल ह्ृदय छ, उनीहरुलाई अप्ठ्यारो र पीडादायिक कुराहरुलाई लामो समयसम्म राख्ने बानी छैन् । नेपालीहरुमा पीडालाई अतितको पाठको रुपमा लिन सक्ने धैर्यता र साहस छ् । भारतीय लगानी नेपामा भित्रिँदै जाने हो भने नेपाल र भारतबीचको सम्बन्ध पनि अचानक सुधारोन्मुख हुँदै जान्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।

चीन र भारतबीचको आर्थिक साझेदारीबाट नेपालले के–कस्तो लाभ हाँसिलगर्न सक्ने सम्भावना देख्नुहुन्छ ?

भारत र चीन उदयीमान शक्ति राष्ट हुन् । दुई देशबीच बिलियन डलरको आर्थिक व्यापारिक साझेदारी छ । म त दुवै देश जनसंख्याको हिसावले नेपालको लागि एउटा एसेस्को रुपमा लिन्छु । अर्को कुरा दुवै देशको जुन आर्थिक वृद्धि भैरहेको छ त्यसबाट नेपालले लाभ लिन सक्छ । भूगोलका हिसाबले पनि त्रिदेशीय साझेदारीको प्रचुर सम्भावना देखाएको छ । भारत नेपालसँग तीनतिरको सिमानाले छोएको देश हो । सँगसँगै भारत नेपालको ठूलो बजार हो । अर्को कुरा चीनले नेपालमा लगानी गर्नुको कारण पनि भारतीय बजार नै हो । चीनले पनि भारतले लगानी गरेपछि मात्रै आफ्नो लगानी नेपालमा लगाउने हो । दुवै देश आज ट्रिलियन डलरको सामथ्र्य राख्ने भएकाले आजको दिनमा नेपालले कुनै एक देश विशेषसँगमात्रै सम्बन्ध राख्दैमा हामी धेरै अगाडि बढ्न सक्दैनौ । त्यसैले हामीले हाम्रा दुवै छिमेकी देशहरुसँग उतिकै महत्वका सम्बन्धहरु स्थापित गर्नुपर्छ जसले नेपालको सर्वाङ्गिन विकासमा टेवा पुर्याउँछ ।

अन्त्यमा नेपाल र भारतबीचको व्यापार घाटा कम गर्ने उपाय के हुन सक्छ ?

हाईड्रोपावरमा लगानी गर्नु आजको निःशर्त आवश्यकत्ता हो । जलबिद्युतमा लगानी गरियो भने आजको दिनमा नेपाल–भारत व्यापार घाटा कममात्रै होईन यसका कारण व्यापार घाटाको खाडल नै पुरिन्छ । हामीमा थिल्लो फ्लोरमा हुन्छौं । दोस्रो कुरा, होईड्रोपावरको विकास हुने बित्तिकै यहाँ विभिन्न कच्चा पदार्थको उत्पादनमा वृद्धि हुन्छन् । साथसाथै नेपाललाई शिक्षा र स्वास्थ्यको हब समेत बनाउन सकिन्छ । जसका कारण भारतको युपी, विहार र उत्तराखण्डका मानिसहरुलाई हामीतिर आकर्षित बनाउन सक्छौं । त्यसैले अब ढिलो नगरीकन सरकारले त्यतातिर ध्यान दिन जरुरी छ ।

स्रोत: रिपोर्टर्स नेपाल डटकम

 

comments powered by Disqus

Interview+ View All

Article+ View All