Infrastructure

कालिञ्चोकमा एक वर्षपछि केबलकार

चरीकोट: 
दोलखाको धार्मिक एवं पर्यटकीय स्थल कालिञ्चोकमा केबलकार सञ्चालन हुने भएको छ। कालिञ्चोक माताको दर्शनका लागि आउने आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी २०७४ को वैशाख महिनाभित्रमा केबलकार सञ्चालनमा ल्याउन लागिएको हो। कालिञ्चोक दर्शन लिमिटेडले सञ्चालन गर्न लागेको केबलकारको निर्माण कार्य आगामी वैशाखबाट सुरु हुने सञ्चालक एवं पर्यटन व्यवसायी बालकृष्ण शिवाकोटीले जानकारी दिए। उनले अबको एक वर्षभित्रमा कालिञ्चोक माताको दर्शनका लागि कुरीबाट केबलकारमा जान सकिने बताए।
 
२६ करोडको लगानीमा निर्माण हुन लागेको केबलकारका लागि सरकारबाट अस्थायी निर्माण स्वीकृति प्राप्त भएको उनले जानकारी दिए। कालिञ्चोकको कुरीबाट एक किलोमिटर ठाडो उकालो पार गरेर पुग्नुपर्ने मन्दिरको दर्शनका लागि केबलकारबाट करिब अढाइ मिनेटमा पुगिनेछ। 
कालिञ्चोकको कुरीबाट एक किलोमिटर ठाडो उकालो पार गरेर पुग्नुपर्ने मन्दिरको दर्शनका लागि केबलकारबाट करिब अढाइ मिनेटमा पुगिनेछ।
केबलकारमा हुने दुईवटा कारको क्षमता १२ जना रहेको र एक दिनमा १२ सय व्यक्ति ओसारपसार गर्न सकिने शिवाकोटीले बताए।केबलकार सञ्चालनमा स्थानीयले पनि सेयर हाल्न पाउने भएका छन्। 
 
सञ्चालक शिवाकोटीका अनुसार पहिलो प्राथमिकता प्रभावित क्षेत्रका स्थानीय र दोस्रोमा दोलखाबासी पर्नेछन्। उनले चैत मसान्तभित्रमा सेयरको रकम उठिसक्नेसमेत जानकारी दिए।हाल कालिञ्चोक गाविसको कुरीमा काम सञ्चालनका लागि आवश्यक तयारी भइरहेको उनले बताए। 
 
केबलकारको आवश्यक मेसिन स्विट्जरल्यान्डमा निर्माण भइरहेको बताउँदै उनले केबलकार सञ्चालनमा आएपछि साविकको भन्दा दोब्बर पर्यटक दोलखा भित्रिने विश्वास व्यक्त गरे।आन्तरिक पर्यटकको भरमा थेगिएको दोलखाको पर्यटनमा व्यवसाय केबलकार सञ्चालनमा आएपछि बाह्य पर्यटक पनि थपिने शिवाकोटीको भनाइ छ।
 
पर्यटन व्यवसायी एवं क्षेत्रीय होटेल संघ दोलखाका अध्यक्ष सुन्दर कार्कीले केबलकार सञ्चालनमा आउनु भनेको जिल्लाको पर्यटन विकासका लागि कोसेढुंगा हुने बताए। सिन्धुली र रामेछापको सिमानामा रहेको खुर्कोटमा कोसीको पुल सञ्चालनमा आएपछि धेरै भारतीय पर्यटक आउन थालेको तर उनीहरू कुरीबाट कालिञ्चोक मन्दिरमा पुग्न नसकी बीचबाट फर्कनुपर्ने बाध्यता रहेको उनले बताए। 
 
यो समस्या पनि केबलकार सञ्चालन पछि हट्ने उनको भनाइ छ। केबलकार सञ्चालनमा आएपछि जिल्लाका होटेलमा पनि चहलपहल बढ्ने भएकाले आफूहरू पनि सहयोग गर्न तयार रहेको उनले बताए। 
 
दोलखा उद्योग वाणिज्य सघं कार्यसमिति सदस्यसमेत रहेका कार्कीले जिल्लाको समग्र विकासमा केबलकारको भूमिका महत्वपूर्ण रहने बताए।

स्रोत: अन्नपुर्ण पोस्ट

 

comments powered by Disqus

Interview+ View All

Article+ View All