Environment

२९ करोडमा फोहोर प्रशोधन केन्द्र

बुटवल, २५ फागुन –

करिब २९ करोड रुपैयाँ लगानीमा बुटवलमा नेपालकै नमुना आधुनिक फोहोर प्रशोधन केन्द्र बन्ने भएको छ । मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजनाअन्तर्गत बुटवल उपमहानगरपालिकाले फोहोर प्रशोधन केन्द्र बनाउन लागेको हो । एसियाली विकास बैंकको ऋण अनुदानमा बन्ने उक्त फोहोर प्रशोधन केन्द्र नेपालमा अहिलेसम्मकै  आधुनिक र नमुना हुने बुटवल उपमहानगरपालिकाको दाबी छ । उक्त प्रशोधन केन्द्र फोहोर जम्मा गरेर राख्ने ल्यान्डफिल साइट नभई वातावरणमैत्री हिसाबले बनाइने प्रांगारिक मल कारखाना हुने उपमहानगरपालिकाले जनाएको छ ।

प्रस्तावित प्रशोधन केन्द्र  बुटवल–९ शिवनगर सामुदायिक वनको भनभनेस्थित ४.८४ हेक्टर क्षेत्रफलमा बन्नेछ । अन्तिम डिजाइन प्रतिवेदन ३७ करोड ७५ लाख रुपैयाँ अनुमानित लागत रहेको प्रशोधन केन्द्र निर्माणका लागि चिनिया निर्माण व्यवसायी जेडआईईसी–पप्पु जे/भीसँग २८ करोड ९५ रुपैयाँ लागतमा ठेक्का सम्झौतासमेत भइसकेको उपमहानगरपालिकाका कार्यकारी प्रमुख ध्रुवबहादुर खड्काले जानकारी दिए ।

ठेकेदारले कार्यादेश पाएको मितिले २० महिनाभित्र केन्द्र निर्माण सक्नुपर्ने छ । केन्द्रको कुल लागतमध्ये ८४ प्रतिशत सरकारको, ८ प्रतिशत जनसहभागिता र ८ प्रतिशत नगर विकास कोषमार्फत ५ प्रतिशत ब्याजदरमा ऋण लगानी हुनेछ ।
शून्य फोहोर र थ्रीआर (रिडक्सन,रियुज र रिप्रोडक्ट) सिद्धान्तमा आधारित भएर वातावरणमैत्री ढंगले डिजाइन भएको केन्द्रबाट गन्ध आउने ग्यासहरू उत्पादन नहुने तथा वातावरणलाई कुनै प्रदूषण नगर्ने परियोजनाका टिम लिडर केदारमान श्रेष्ठले स्पष्ट पारे । १२ देखि १५ वर्ष अवधिका लागि डिजाइन गरिएको केन्द्रले दैनिक ७३ टन फोहोर प्रशोधन गर्नेछ, जसबाट ६४ प्रतिशत कम्पोष्ट प्लान्टमा जानेछ भने २८ प्रतिशत पुनः प्रशोधन तथा पुनः उत्पादन हुनेछ भने धुलोजन्य फोहोर ८ प्रतिशत हुनेछ ।

हाल बुटवलमा दैनिक ५३ टन फोहोर उत्पादन भइरहेको बुटवल उपमहानगरपालिकाले जनाएको छ । प्रशोधन केन्द्रमा ढुवानी गरिने फोहोरहरू स्रोतमै कुहिने र नकुहिने गरी फरक–फरक तरिकाले जम्मा गराइने र फरक–फरक दिन ढुवानी गरिनेछ । घर–घरबाट केन्द्रसम्म गन्ध बाहिर नआउने गरी बनाइएको साधनबाट ढुवानी गरिनेछ ।

वातावरणमैत्री प्रशोधन केन्द्र निर्माणको स्वीकृतिका लागि जनसंख्या तथा वातावरण मन्त्रालयमा पेस भई जग्गासमेत प्राप्त भइसकेको उपमहानगरपालिका कार्यकारी प्रमुख खड्काले बताए । नेपालकै पहिलो आधुनिक प्रशोधन केन्द्र भएकाले यसबाट ग्रामीण पर्या पर्यटनको समेत प्रबद्र्धन हुने उपमहानगरपालिकाको विश्वास छ ।

बुटवलमा २०५१ सालदेखि फोहोर प्रशोधन केन्द्र निर्माणको पहल थालिए पनि ठाउँ नपाउँदा बन्न सकेको थिएन । प्रशोधन केन्द्र अत्याधुनिकसँगै व्यावसायिकसमेत हुने भएकाले केन्द्रमा औद्योगिक र मेडिकलबाहेक सबै किसिमका फोहोर प्रशोधन हुनेछन् ।

स्रोत: कारोबार

 

 

comments powered by Disqus

Interview+ View All

Article+ View All