Environment

जलाशयमा जलवायु भेला

पर्वत, ६ वैशाख – जलवायु परिवर्तनको असर न्यूनीकरणका बारेमा जनचेतना जगाउन पर्वतको सेतीबेणीमा जलाशयमा स्टिमरमा बसेर बृहत् भेला सम्पन्न भएको छ । जलवायु परिवर्तनका असरको स्थलगत अनुगमन र त्यसको असर न्यूनीकरण गर्नका लागि  कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको जलाशयमा क्षेत्रीयस्तरको जलवायु परिवर्तनसम्बन्धी बृहत् भेला ७ बुँदे सेतीबेणी घोषणापत्र जारी गर्दै सकिएको हो ।
पर्वतको सेतीबेणीबाट स्टिमरमा चढेर सुरु भएको क्षेत्रीय भेला कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधस्थल स्याङजाको मिर्मीमा पुगी पुनः सेतीबेणीमा फर्केर सकिएको थियो ।  १०० जनाको क्षमताका २ वटा स्टिमर बाँधेर १५० जना एकै ठाउँमा बस्नमिल्ने गरी जलाशयमा नै प्रत्यक्ष असर र प्रभावका बारेमा सरोकारवालाले झन्डै ३ घण्टा छलफल गरेका थिए । जलवायु परिवर्तनका बारेमा जलाशयमा नै भेला आयोजना गरिएको यो पहिलो हो ।
खासगरी जलवायु परिवर्तनको असर उच्च हिमाली भेग र तटीय क्षेत्रमा बढी मात्रामा हुने भएकाले समुद्री सतहबाट ५२० मिटरको उचाइमा रहेको र तीनवटै जिल्लाको सबैभन्दा होचो भूभाग भएकाले सेतीबेणीमा उक्त भेला गरिएको फेकोफन पर्वतले जनाएको छ ।
पर्वत, स्याङजा, गुल्मी र कास्की जिल्लामा जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने सरोकारवालाहरूको भेलाले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र कार्बनको व्यापारबाट आउने रकम हासिल गर्न स्थानीय तहमा सहकार्य गर्ने निर्णय गरेको छ । भेलाले जलवायु परिवर्तनका लागि ठोस अनुकूलन योजना कार्यान्वयन नभएसम्म प्रभावकारी नहुने भएकाले गाउँ र जिल्लास्तरमा अनुकूलन योजना बनाउने निर्णयसमेत गरेको सामुदायिक वन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष किशोर सापकोटाले बताए ।
सेतीबेणी धौलागिरिको पर्वत, गण्डकीको स्याङजा र लुम्बिनीको गुल्मी गरी ३ अञ्चल र जिल्लाको संगममा छ । यसअघि भेलाको उद्घाटन कार्यक्रममा बोल्दै सभासद र वन तथा वातावरणको क्षेत्रमा काम गर्ने सरोकारवालाले जलवायु परिवर्तनका कारण भइरहेको असरलाई न्यूनीकरण गर्दै जान सहकार्य र आफ्नो क्षेत्रबाट सकारात्मक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा सभासदहरू अर्जुनप्रसाद जोशी र कल्पना चापागाईंले भौतिक पूर्वाधारको विकासका क्रममा वातावरणमैत्री बनाउन तथा जलवायु परिवर्तनको असर न्यून गर्न आफ्नो क्षेत्रबाट पहल गर्ने प्रतिबद्धता जनाएका थिए । सोही कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका राष्ट्रिय अध्यक्ष गणेश कार्कीले जलवायु परिवर्तनका लागि सबै सरोकारवालाले साझा कार्यक्रम र कार्ययोजनासहित लाग्नुपर्नेे बताए ।

स्रोत: कारोबार 

 
comments powered by Disqus

Interview+ View All

Article+ View All