Environment

व्यवस्थित राजधानी निर्माण सुरुवात

काठमाडौं, ६ वैशाख – काठमाडौं उपत्यकालाई व्यवस्थित सहर बनाउने उद्देश्यसहित ३ वर्षअघि काठमाडौं उपत्यका विकास प्राधिकरणले हरियाली निर्माण अभियानलाई तीव्रता दिइरहेको छ । हाल २० वर्ष गुरुयोजना बनाएर राजधानीलाई व्यवस्थित सहरको रूपमा निर्माण गर्न लागेको प्राधिकरणका आयुक्त योगेश्वर पराजुली बताउँछन् । उनका अनुसार सन् २०१५ देखि २०३५ सम्म ल्याउने यस गुरुयोजनाको मुख्य काम उपत्यकाभित्रका खुला स्थलको पहिचान गरी भू–मानचित्र तयार गर्ने, सार्वजनिक र पर्ति जग्गाको डिजिटल डेटाबेस बनाउने, प्राथमिकताअनुसार खुला स्थान पहिचान गरी संरक्षण गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने छ ।


“उपत्यकाका ३ स्थानमा हरित सहरको संभाव्यता अध्ययन गर्ने, भूमि बैंक स्थापनाका लागि संभाव्यता अध्यन गर्ने, भवन निर्माण मापदण्ड संशोधन गर्ने काम गर्नेछ,” पराजुलीले भने, “उपत्यकाको सहरी विकास व्यवस्थापनका लागि यातायात व्यवस्था तर्जुमा, बस्ती विकास गुरुयोजना र उपत्यकाको सडक सञ्जाल गुरुयोजना अध्यावधिक गर्नेलगायतका कामलाई प्रमुखताका साथ लिएको छ ।” गुरुयोजना कार्यान्वयनका लागि प्राधिकरणले राष्ट्रिय भू–उपयोग नीतिको कार्यान्वयनमा तीव्रता दिने, जग्गा एकीकरण नीति नियमलाई समय सापेक्ष ढंगले परिमार्जन गरी कार्यान्वयन गर्ने र उपत्यकाको भवन निर्माण मापदण्डको कार्यान्वयनमा तीव्रता दिने योजना प्राधिकरणले ल्याएको छ । प्राधिकरणले आगामी आव भित्रमा नै यस गुरुयोजना तयार पारी कार्यान्वयनमा ल्याउने नीति लिएको छ ।

अहिले प्राधिकरणले उपत्यकामा खाली जग्गा भएको विभिन्न स्थानमा पार्क, बगैंचा तथा उद्यान निर्माण कामको सुरुवात गरिसकेको छ । “यसको नमुनाका रूपमा नारायणचौर निर्माण भइरहेको पार्क हेर्न सक्नुहुन्छ,” पराजुलीले भने, “२० रोपनी क्षेत्रफलमा फैलिएका यो पार्क भूकम्प आउँदा व्यवस्थापनका लागि उपयुक्त हुनुका साथै स्वास्थ्यका लागि पार्क उत्तिकै राम्रो हुनेछ ।”
नारायणचौर पार्कबाट नयाँ प्रविधिको पनि विकास गरी आकाशबाट परेको पानीलाई जमिनमुनि पानी रिचार्च गर्ने काम पनि भइरहेको छ । हरियाली, पानी, विपद् व्यवस्थापन भनेको महत्वपूर्ण कुरा हो, जुन दिगो विकासका लागि अभिन्न अंगसमेत हुन् । यो पार्क व्यवस्थापन र दिगो बनाइ रहनका  लागि हामीले त्यहाँ पार्क प्रयोग गर्ने प्रयोगकर्तासँग शुल्क लिने व्यवस्था गर्नेछौं । जस्तै ः बिहान मर्निङवाक गर्नेलाई सदस्य बनाउने र उनीहरूसँग केही शुल्क लिने व्यवस्था गर्न सकिन्छ ।


यस्तै प्राधिकरणले राजधानीका अन्य स्थानहरूमा पनि यस्ता खालका बगैंचा लक्ष्य लिएको छ । प्राधिकरणले चालू आवभित्र नै कमलपोखरीमा अर्को पार्क बनाउने काम सुरु गरिसकेको पराजुलीले बताए । यसपछि पहिला ल्यान्डफिल्ड साइड रहेको क्षेत्र गोकर्ण मूलपानीमा, रानीबारीमा बनाउन नक्सा तयार भइरहेको पनि उनकाले जानकारी दिए ।
राजधानीको कोर एरियामा प्राधिकरणले त्यस्तै किसिमको योजना बनाइरहेका छ । सार्वजनिक जग्गा संरक्षण भनेर प्राधिकरणको विशेष काम पनि गरिरहेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले मुख्य काम योजनाकारी निकाय भएकाले योजना बनाउने काम भइरहेको उनले बताए ।


योजनाकारको भूमिकामा प्राधिकरणले काठमाडौं उत्यकालाई एक पर्यावरणीय एकाइको रूपमा एकीकृत विकास योजना तयार गर्नेछ । विकास निकायको भूमिकामा एकीकृत विकास योजना कार्यान्वयन गर्ने, निर्देशित जग्गा–विकास तथा एकीकरण र सार्वजनिक जग्गा संरक्षण र अन्य काम पर्छ । यस्तै प्राधिकरणको अर्को महत्वपूर्ण भूमिका भनेको नियमन, नियन्त्रण तथा निषेध निकायअन्तर्गतको काममा योजना अनुमति, संयुक्त आवास, सामूहिक आवास, जग्गा विकास र मापदण्डको स्तरीय तयारी, नियमन छ । विभिन्न निकायसँगको काठमाडौं उपत्यकाको समग्र विकासका लागि समन्वय गर्ने समन्वयकारी निकायको रूपमा प्राधिकरणले काम गर्छ ।

स्रोत: कारोबार 

 

comments powered by Disqus

Interview+ View All

Article+ View All