Environment

'प्लास्टिक प्रतिबन्धको निर्णय पुनर्विचार गर'

काठमाडौ, चैत्र २२ - उद्योग वाणिज्य महासंघले वैशाख १ गतेबाट उपत्यकामा प्लास्टिकका झोला बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने सरकारले गरेको निर्णयको पुनरावलोकन गर्न माग गरेको छ । सरकारको उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पुनरावलोकन गर्न माग गरेको हो । 'कानुनी इजाजत लिई सञ्चालनमा रहेका उद्योगहरूले उत्पादन गरेका पोलिथिनका झोला पूर्ण प्रतिबन्ध लगाउने सरकारको निर्णयमा ध्यानाकर्षण भएको छ । वातावरण संरक्षणप्रति प्लास्टिक उद्यमीसहित सिंगो निजी क्षेत्र पूर्ण सचेत छ,' विज्ञप्तिमा भनिएको छ, 'पोलिथिन झोला प्रयोग समस्या नभई व्यवस्थापन मुख्य समस्या रहेको महासंघको धारणा छ । इजाजत लिएर सञ्चालनमा आएका, हजारौं मानिसलाई रोजीरोटी दिएको र अर्बौंको लगानी रहेको यी उद्योगहरूलाई नै धराशायी बनाउन सक्ने यस्ता निर्णयले कस्तो असर पर्ला ? संवेदनशील भएर सोच्न महासंघ सम्बन्धित पक्षसमक्ष आग्रह गर्दछ ।'

सरकारको यस्तो निर्णयले आश्रतिलाई विचल्ली बनाउने, राजस्व गुम्ने, बैंकको लगानीमा असर पर्ने र अर्थतन्त्रमै धक्का पुग्ने महासंघको जिकिर छ । 'मुलुकभित्र लगानीको वातावरण छ भन्ने सन्देश राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा दिनुपर्नेमा चेपुवामा परेका उद्योग व्यवसायमाथि अकस्मात् गरिने यस्ता निर्णयमा समीक्षा गर्न महासंघ विशेष आग्रह गर्दछ,' विज्ञप्तिमा भनिएको छ, 'उक्त निर्णयमा पुनर्विचारका लागि आग्रह गर्दै उचित व्यवस्थापनका लागि जोडदार माग गर्दछ ।'

स्रोत: कान्तिपुर

 

comments powered by Disqus

Interview+ View All

Article+ View All