Bahas

दोलखामा तामाकोशी प्रभाव

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशी हाइड्रोपावर आफु मात्र बनिरहेको छैन, त्यस भेगमा तिन सय मेगावाट भन्दा बढि क्षमताका दर्जन परियोजनाका लागि समेत बाटो खुला गरेको छ । तामाकोशी निर्माण स्थलसम्म बनाइएको सडकका कारण थप आयोजनाका लागि अवसर सिर्जना भएको हो । त्यस बाहेक उक्त आयोजना उत्तरी दोलखामा व्यवसायिक वातावरण र कृषि उत्पादन बृद्धिका लागि कोशेढुङ्गा सावित भएको छ । दोलखा सदरमुकाम चरिकोटबाट आयोजनास्थल लामावगरसम्म कम्पनीले ६८ किलोमिटर सडक निर्माण गरेको छ । यही सडक विकट मानिएको उत्तरी दोलखाको मुहार फेर्ने माध्यम बनेको हो । 

सडक निर्माणमा अपर तामाकोशीले दुई अर्ब रुपैयाँ खर्च गरेको छ । यो औषतमा १२ मेगावाट भन्दा ठुलो जलविद्युत परियोजना निर्माण गर्न पुग्ने लागत हो । 'तामाकोशी बाहेक अरु त्यति ठुला परियोजना यस भेगमा छैनन्' उत्तरि दोलखाको सिङ्गटी बजारका स्थानीय निर्माण व्यवसायी युधिष्ठिर खड्काले भने 'त्यसैले तामाकोशीले सडक निर्माण गरिदिए पछि यहाँ दर्जन बढि परियोजनाले काम सुरु गरेका छन् ।'  स्थानीय क्षेत्रको समग्र उन्नतीमासमेत तामाकोशी सडकले ठुलो सहयोग पुर्‍याएको उनको भनाइ छ । लामावगरसम्म पुग्ने सडकका कारण मात्र तामाकोशी बाहेक त्यस क्षेत्रमा थप तीन सय २६ मेगावाट क्षमताका जलविद्युत आयोजना निर्माणको प्रकृया सुरु भएको छ । एउटा परियोजना सम्पन्न भइसकेको छ भने केहीले काम अघि बढाएका छन् । चरिकोट-लामावगर सडकस्थित जगतको पारि पट्टि १० मेगावाटको सिप्रिङ खोला जलविद्युत आयोजनाबाट त विद्युत उत्पादन सुरु नै भइ सकेको छ । उक्तविद्युत अहिले अपर तामाकोशीले नै खपत गर्दै आएको छ ।

यस्तै अपर तामाकोशीले बनाएको सडकको भोर्ले खण्डबाट थप ३० किलोमिटर दायाँ तर्फ बाटो बनाएर इआइवि कम्पनीले खारे खोलामा २५ मेगावाट र त्यसको क्यासकेट १५ गरि ४० मेगावाटको जलविद्युत परियोजना निर्माण सुरु गरिसकेको छ । यो आयोजनाको काम दुई तिहाइ भन्दा बढि सम्पन्न भएको छ । त्यस्तै यही खोलामा सासा कम्पनीले २५ मेगावाट परियोजनाको तयारी गरेको छ भने त्यस तल्तिर सुपर सिक्स प्रोजेक्टको १५ मेगावाटको परियोजना बनाउने भएको छ । सुरपसिक्सको आयोजना भन्दा केही तल युनिभर्सल कम्पनीले समेत १५ मेगावाटको जलविद्युत परियोजना निर्माणको तयारी गरेको छ । नजिकैको सुरि खोलामा सुरी खोला हाइड्रोले ६ दशमवल ८ र ६ मेगावाटका दुई परियोजना निर्माण गर्ने भएको छ । त्यस्तै घट्टे खोलामा पाँच मेगावाटको अर्को परियोजना निर्माण हुँदैछ ।

सिङ्गटी खोलामा समेत १५ र २५ मेगावाटको दुई परियोजना दर्ता भएका छन् । अहिले त्यहाँ समेत साइटको काम सुरु गर्न लागेको स्थानीयहरु बताउँछन् । चरिकोट-लामावगर सडककै कारण एक/एक मेगावाटका दुई परियोजना समेत त्यहाँ निर्माण भइ रहेका छन् । अपर तामाकोशी आफैँले अहिलेको परयोजना भन्दा माथि ९० मेगावाटको तामाकोशी ए जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको छ । त्यस्तै अपर तामाकोशीबाट विद्युत निकालेर बाहिरिएको पानीबाट ८७ मेगावाटको तामाकोशी-५ समेत कम्पनीले निर्माण गर्ने भएको छ । 

यसरी चार सय ५६ मेगावाटको एउटा परियोजना निर्माणका लागि खोलिएको सडकले तयाँ थप दर्जन परियोजनाको ढोका मात्र खोलेको छैन उक्त क्षेत्रको आर्थिक क्रियाकलापमा समेत कायापलट गरि दिएको छ । अपर तामाकोशी बाहेकका परियोजनामा ६० अर्ब रुपैयाँ हाराहारी लगानी हुने भएको छ । यसले स्थानीयको रोजगारी एवं कृषि उत्पादन बृद्धिमा समेत नयाँ क्रान्ति ल्याउने देखिन्छ । सडकको दायाँ बायाँ धेरै ठाउँमा व्यवसायीक तरकारी गरि रहेको दृश्य देखिन थालेको छ । अपर तामाकोशी हाइड्रो पावर आफैँले परियोजना आसपासका ४२ जना किसानलाई ताजा तरकारी उत्पादनबारे तालिम दिएर विउ तथा टनेल उपलब्ध गराएको थियो । तर, किसानले यो काममा जाँगर भने देखाएनन् । तालिम लिने मध्ये अहिले १८ जना मात्रै व्यवसायिक तरकारी खेतिमा छन् । आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार ४२ मध्ये ३८ किसानले मात्र बारीमा टनेल लगाए । दुई बर्ष सम्म आयोजनाले विउ दिइ रह्यो । त्यस यता भने आधा उधिले मात्र ताजा तरकारी उत्पादनलाई निरन्‍तरता दिएका छन् । परम्परागत शैलीमा जीवन गुजारा गर्दै आएको पुस्ता आधुनिक उत्पादन तर्फ आकर्षित हुन नसक्दा सबैले निरन्तरता नदिएका हुन् ।

व्यापारमा नयाँ ढोका

लामावगर चीनसँग जोडिएको गाविस हो । त्यहाँबाट सीमावर्ती बजार तिब्बतको कुती रहेको छ । काठमाडौँबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्म सडक नबनुन्जेल स्थानीयले कुतीबाटनै नुन लगायत खाद्यान्न ल्याउने गरेका थिए । अहिले लामावगरसम्म बाटो पुगे पछि कुती नाका पुन: सञ्चालनको पहल सुरु भएको छ । लामावगरबाट नौ किलोमिटर सडक निर्माण गर्दा तिब्बतको सिमावर्ती फलाक जोडिने अवस्था छ । फलाकमा चीनले बाटो ल्याइसकेको छ । लामावगरबाट फलाकसम्मको बाटो सडक बिभागले खोल्ने भने पनि तीन/चार बर्ष देखि ठोस प्रगति गर्न सकेको छैन । त्यति बाटो जोडिने वित्तिकै तिव्बतसँगको व्यापारका लागि अझ द्रुत नाका खुल्ने दोलखाका पुर्व जिविस सभापति सुन्दरप्रकाश खड्का बताउँछन् । दोलखाबाट रामेछाप, सिन्धुली हुँदै तराइ जोड्ने बाटो खुलि सकेको हुँदा कुती नाका सन्चालन भए पछि चीन-भारतको व्यापारिक मार्ग समेत छोटिने उनको भनाइ छ ।

अपर तामाकोशीले बाटो खनेको तथा परियोजना सुरु भए पछि गाउँका सानातिना चोक समेत बजारमा परिणत हुन थालेका छन् । केही बर्ष अघिसम्म सानो वस्तीको रुपमा रहेको सिङ्गटी अहिले बजार बनि सकेको छ । अहिले त्यहाँ दुई सय बढि घर बनि सकेका र त्यसमा आधा भन्दा बढिमा होटल खुलेका छन् । तामाकोशीका कर्मचारी तथा त्यस क्षेत्रमा परियोजना सुरु भए पछि बढेका पर्यटकका कारण होटल खुलेका हुन् ।

तामाकोशीको पावरहाउस रहेको स्थान गोँगर आसपासमा समेत बजार नै बनि सकेको छ । 'पहिला यस क्षेत्रमा जम्मा तीन वटा मात्र घर थिए' आयोजनाका प्रवक्ता न्यौपानेले भने 'अहिले ४० बढि घर बनि सकेका छन् ।' थोरै घर रहेको हुँदा सुरुमा उक्त क्षेत्रलाई आयोजनाले नै अधिग्रहणको तयारी गरेको थियो । तर, आयोजना आफुहरुको गरि खाने स्रोत हुने भन्दै स्थानीयले अधिग्रहण नगर्न अनुरोध गरेका थिए । केही वर्षमा उक्त क्षेत्र बजार बनि सकेको छ । काठमाडौँमा कारोवार गर्दै आएका व्यवासायी फर्किएर त्यहाँ होटल चलाएका छन् । 

विकासको कोशेढुङ्गा !

अपर तामाकोशी मुलुकको विकासका लागि कोशेढुङ्गा सावित भइसकेको छ । अहिलेसम्ममा परियोजनाको ७२ प्रतिशत काम त सकिएको छ नै कुनै पनि विकासका परियोजनाले समग्र समाजको मुहार बदल्न कस्तो भुमिका खेल्न सक्छ भन्ने आधार समेत प्रस्तुत गरेको छ । तर, तामाकोशीको निर्माण उत्तरार्धतिर पुग्दै गर्दा राजनीतिक दलले यसमा अनेक खोँचे थाप्न थालेका छन् । परियोजना सुरु हुनुपुर्व कुनै किसिमको अवरोध नगर्ने भन्दै सबै राजनीतिक दलका नेताले तामाकोशीमा हात डुबाएर कसम खाएका थिए  । तर, अहिले तामाकोशीका लागि सात वटा भन्दा बढि मुद्दा सर्वोच्चमा विचाराधिन छन् ।

पछिल्लो पटक रामेछापबासीलाई पनि तामाकोशी प्रभावितको सूचीमा राख्दै हकप्रद सेयर दिनु पर्ने भनेर एमाले नेता माधव ढुङ्गेलले सर्वोच्चमा मुद्दा हालेका छन् । त्यसमा अदालतले सरकारलाई कारण देखाउ आदेश समेत जारी गरेको छ । एउटै परियोजनालाई अनेक कोणबाट दुहुने र त्यसको परिणाम जनतालाई प्राप्त गर्न नदिने पुरानो खेल अन्तत तामाकोशीमा पनि राजनीतिक दलले सुरु गरेका छन् । उता कर्मचारी तथा मजदुरलाई समेत यसैमा प्रयोग गरिँदै छ । निजी कम्पनीमा काम गर्ने मजदुरले तामाकोशी आयोजनाको सेयर मागेर काम रोके । तामाकोशीको सेयर मोडालिटी बनि सकेको छ । अब त्यसलाई अनेक बखेडा झिकेर अवरोध गर्नु भन्दा केहि कमजोरी भए अरु परियोजनामा नदोहोर्याउनु उपयुक्त हुने विकास अभियन्ताहरु बताउँछन् ।

तामाकोशीको सेयर आम सर्वसाधारणका लागि समेत जारी हुनेछ । त्यसमा रामेछापबासी लगायत देशभरका सर्वसाधारणले सहभागिता जनाउन पाउनेछन् । एउटै परियोजनाबाट तुरुन्तै धनि बनि हाल्न खोज्नुको सट्टा विकासका अरु सम्भावना पहिल्याउने र तिनलाई अघि बढाउँदा मात्र मुलुकको समानुपातिक उन्नति हुन सक्छ । त्यसैले परियोजनालाई द्रुत गतिमा सफल पार्ने र त्यसको सिको गर्दै मुलुकका अरु भेगमा समेत पुर्वाधार निर्माणमा लाग्ने चेत राजनीतिक नेतृत्वमा पलाउन सके तामाकोशी कोशेढुङ्गा बनि सकेको छ । 

Source: bizmandu

comments powered by Disqus

Interview+ View All

Article+ View All