Bahas

यसरी हुन्छ तामाकोशीको समस्या समाधान, रविन्द्र भट्टराईको विश्लेषण

मजदूर हड्ताल र स्थानीय बासिन्दाको अवरोधले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम ठप्प भएको हप्ता दिन भइसकेको छ । निकै साना विवादले कम्पनीले ठुलो क्षति ब्यहोर्नु परेको छ । धितोपत्र निश्कासन तथा विक्री प्रबन्धक र कम्पनीको अदूरदर्शिताका कारण यो अवस्था सिर्जना भएको हो । जलविद्युतको सेयरमा लगानी गर्न किन जनता यति उत्साहित देखिएका छन ? तामाकोशीमा मात्रै नभइ केहि दिन अगाडि खुलेको वरुण हाइड्रोको सेयरमा पनि लगानीकर्ताको उत्साह त्यस्तै देखियो । बरुणको साढे चार करोड भन्दा केहि बढिको सेयरमा एकसय गुणाभन्दा बढि आवेदन प¥यो । जलविद्युतको सेयरमा किन यस्तो भइरहेको छ ? के बरुण भनेर हो ? के तामाकोशी भनेर मात्रै हो ? सबैभन्दा ठुलो परियोजना भनेर हो ? राष्ट्रिय गौरवको आयोजना भनेर हो ? अवश्य होइन । यसको मूल कारण जलविद्युतमा मानिसले दीर्घकालीन आम्दानी देखेरै हो । अर्को कुरा विक्रीको सुनिश्चितता पनि छ । प्रतिस्पर्धा विहीन बजार हुनु, कर छुट, अन्य परियोजनामा सर्वसाधारणले पाएको आम्दानी र थपिएको सम्पती पनि मानिसको आकर्षणको कारक बनेको छ । १० वर्ष अघि चिलिमे जलविद्युत कम्पनीको सेयरमा एक लाख लगानी गर्नेले अहिले तीनलाख रुपैयाँ भन्दा धेरै नगद लाभांश लिइसकेका छन् । विक्री नगरी ‘होल्ड’ गर्नेको कम्पनीले दिएको बोनस सेयरसहितको अहिलेको मूल्य ३० लाख भन्दा धेरै छ । चिलिमेका सेयरधनीको सम्पतीको वार्षिक बृद्धिदर ४० प्रतिशतभन्दा बढि छ । यस्तै अवस्था अरुणभ्याली हाइड्रोपावरको सेयरमा पनि छ । उत्पादन सुरु नहुँदै सानिमामाई हाइड्रो पावरको सेयरको मूल्य सातसय माथि पुग्यो । सेयर जारी भएको सात महिनामा रिडी हाइड्रो पावरको सेयर मूल्य सातसय रुपैयाँ पुग्यो । यसले पनि माथिल्लो तामाकोशीको सेयरमा आकर्षण बढेको हो । जलविद्युत आयोजना निर्माण पुरा हुन मात्रै समय खर लागत धेरै पर्ने हो, बनिसकेपछि आयोजनाको संचालन खर्च कम हुन्छ भने नाफाको मार्जिन त्यसको तुलनामा निकै उच्च हुन्छ । आयोजनाको अवधिभर लागनीकर्ताले बसीबसी आम्दानी गर्न सक्छ । नेपाल र नेपालीलाई चाहिने यहि हो । गरिवी घटाउने र आयस्तर बढाउने माध्यम पनि यो हुन सक्छ । यहि कारण पनि नेपालमा धेरै आयोजना बन्नु पर्छ । तर हामिलाई चाहिएको पुँजी र इमान्दारिता हो । पुँजी जनतासँग छ । यसलाई बजारमा ल्याउने माध्यम भनेको पुँजीबजार हो । यसैले विकासका लागि पुँजी बजार भनिन्छ । लगानीका लागि पुँजी बजार । तर के सँधै पुँजी बजारले पुँजी जुटाउन सक्छ ? सक्दैन । पुँजी बजारबाट पुँजी जुटाउन लगानीकर्ता तयार हुनु पर्छ । जनतासँग पैसा सँधै हुन्छ । तर दिने तत्परता सँधै हुँदैन । पैसा लिन सरकार तथा कम्पनी तयार होलान तर जनता तयार नहुन सक्छन् । जनता तयार हुँदा सरकार र कम्पनी तयार हुनुपर्छ । दुवै तयार हँुदा मात्रै पुँजी सम्भव छ । लगानी सम्भव छ, विकास सम्भव छ । लगानी जुटाउनका लागि जनताको तत्परता बुझ्नु पर्छ । उनीहरुको समय मिल्नु पर्छ । र अहिले उपयुक्त समय हो । अहिले जनता तयार छन्, लगानीकर्ता तयार छन् । बैंकबाट पैसा झिकेर लाइन बस्न पनि तयार छन् । घाम पानीलाई उनीहरुले बेवास्ता गरेका छन् । १० कित्ता सेयरका लागि निद्रा त्यागेका छन् । घरमा पाकेको खाना छाडेका छन् । घर परिवारका समस्या बिर्सेका छन् । रातभर लाइनमा बसेका छन् । सरकार र कम्पनीहरुले यो बुझ्ने कि नबुझ्ने ? सँधै लगानीकर्ता लाइन बस्ने छैनन् । चाहे त्यो सुनको अन्डा दिने कुखुरी नै होस, सुन फलाउने परियोजना नै होस । यसका लागि चाहिन्छ, उपयुक्त समय । लगानीकर्ताको तत्परता । २०६५ पछि केहि कम्पनीले सेयर विक्री नभएर लगानीकर्ताको पैसा फिर्ता गर्नु परेको छ । किनकि यो बेला सेयर बजारमा ‘बियरिस’ प्रवृत्ती हावी थियो । बजार घट्दो थियो । लागनीकर्तामा कुनै उत्साह थिएन, जाँगर थिएन र हुँदैन पनि । यो यहाँ मात्र होइन, संसारभरी नै यस्तै अवस्था देखा पर्छ र दोस्रो बजार घट्दो भएको अवस्थामा ठुला प्राथमिक निश्कासन स्थगित गरिन्छन । २०६९ मा जनता बैंकले ६० करोडको सेयर विक्री गर्न ठुलै कसरत गर्नु प¥यो । देशभर कार्यक्रम गर्नु प¥यो । तर अहिले ९० लाखको सेयरमा चार अर्ब भन्दा बढिको आवेदन परेको छ । लगानीकर्तालाई दोस्रो बजारको अवस्थाले जागरुक बनाउने हो । जब दोस्रो बजार ‘बुलिस ट्रेन्ड’मा हुन्छ सेयरका लगानीकर्तामा जोस, जाँगर, आवेग र उत्तेजना हुन्छ । जसलाई कुनै पनि हालतमा कम मुल्यांकन गर्न र रोक्न सकिँदैन । २०६८ सालमा दुईसय ९२ अंकमा रहेको नेप्से परिसूचक बढेर २०७१ साल एकहजार ८३ अंक सम्मपुग्दा सेयर बजारमा हुने नाफा र सम्पतीको संदेश आय र सेयरको ज्ञानका हिसाबले न्यून स्तर भएका जनतासम्म पुगेको छ । सेयर बजारमा हुने नाफा वा घाटाका समाचार लगानीकर्ता र सम्भावित लगानीकर्तामा पिरामिड शैलीमा माथिबाट तल प्रवाहित हुन्छ । माथिल्लो वर्ग थोरै हुन्छ जसले सूचना पहिला लिन्छ । तल्लो वर्ग धेरै हुन्छ सूचना ढिला थाहा पाउँछ । पहिला सूचना पाउनेले फाइदा बढि लिन्छ । अहिले सेयर बजारको सूचना पिरामिडको पुछारमा पुगेको छ । यो तहका लगानीकर्ता सेयर बजारको ज्ञानका हिसाबले कमजोर हुन्छन् र आयको हिसाबले पनि न्यूनआय वर्गमा पर्छन् । धेरै जनता लाइन बसे भनेर आवेशमा आउनु पर्ने कारण छैन । मजदूरले लगानीका लागि सेयर मागे भनेर अत्तिहाल्नु पर्ने अवस्था पनि छैन । किसानले लगानी गर्न खोजे भनेर भाग्न नखोजे हुन्छ । गाँउका मान्छे सेयरमा धेरै लगानी गर्छु भने भनेर नाक नखुम्च्याउँदा हुन्छ । पुँजी संकलकले यसलाई लगानीका लागि जनताको तप्परतालाई बुझ्नु पर्छ । आज गरीब गाँस काटेर लगानी गर्न खोजीरहेको छ। राजनीतिको मकुन्डो ओडेकाले विकासलाई पैताला मुनि राखिदिँदा हामी गरीब भएका हौं । यदि यिनले विकासको मकुन्डो ओडेका थिए भने हामी धेरै अघि धनी भइसकेका हुन्थ्यौं । हामी मालिक बनेर अन्य देशका नागरिकलाई मजदूर बनाउन सक्थ्यौं । मजदूरी उसको बाध्यता हो, रहर होइन । ऊ कर्मचारी हुन नसक्नु के उसको गल्ति हो ? कम्युनिस्टले भन्ने गरेको सामन्तवाद भनेको यहिँ हुनुपर्छ । लगानीमा कमचारीलाई सुनिश्चितता गरिने तर मजदूर, ज्यालादारी, करारलाई समावेश नगराइने ? धितोपत्र बोर्ड, माथिल्लो तामाकोशी कम्पनीका व्यवस्थापक, यसको निश्कासन तथा विक्री प्रबन्धकलाई म फेरि प्रश्न गर्छु के सेयरमा गरिने लगानी धनीको मात्र हो ? के सेयर बजार धेरै पैसा हुनेको मात्र हो ? कम्पनीको प्रबन्धपत्र नियमावलीको व्यवस्थालाई समाधानको बाधक देख्नु व्यवस्थापकीय कमजोरी हो । मालिक र मजदुरबीच विवाद हुन्छ । मालिक कम दिन खोज्छ मजदुर बढि लिन खोज्छ । सेयरमा हुने विवाद, यसको व्यवस्थापन र समस्याहरुको आँकलन गर्ने काम बिक्री प्रबन्धकको हो । तर यहाँ बिक्री प्रबन्धक कमजोर देखिएको छ । यसको प्रमुख कारण हो लगानीकर्ता, ऋणदाता र बिक्री प्रबन्धक एउटै भएर पनि हो । बिक्री प्रबन्धक मध्येको एक नागरिक लगानी कोष माथिल्लो तामाकोशीको सेयरधनी र ऋणदाता पनि हो । विद्युत प्राधिकरणका कर्मचारी र कम्पनीका कर्मचारीले पाउने सेयर ४० लाख ६६ हजार पाँचसय ६० कित्ताबाट मजदूरलाई आवेदनको व्यवस्था गर्न सकिन्छ । कारण यति हो कोहि आफ्नो भाग घटाउन चाहि रहेको छैन । आफ्नो भाग नगुमाउन कम्पनीले समस्या समाधानमा सरकार र प्रशासनको मुख ताकिरहेको देखिन्छ । आयोजना विज्ञप्ती जारी गरेर सरकारलाई अत्याउन खोजी रहेको छ । विज्ञप्ती समाधान होइन । वार्ता र विकल्पहरु समाधान हुन सक्छन । तामाकोशीको सेयर विवाद समस्या मात्र पनि होइन भविष्यमा बन्ने सयौं आयोजनाहरुको समस्या समाधानका उपाय खोज्ने अवसर पनि हो । फरक यति हो भविष्यमा बन्ने आयोजनामा आउन सक्ने समस्याको लागत तामाकोशीले ब्यहोर्नु प¥यो । स्थानीयले सेयर जारी गर्नु अघिदेखि असन्तुष्टि जनाएका थिए । विषेश साधारणसभा बोलाएर प्रबन्धपत्र नियमावली संशोधन गर्न सकिन्छ । कम्पनी ऐन अनुसार विशेष साधारण सभाका लागि १५ दिनको समय लाग्छ । धितोपत्र बोर्डको प्रक्रिया प्राथमिकतामा राखेर अघि बढ्न सकिन्छ । स्थानीय मजदूर र बाहिर जिल्लाका मजदूरको वर्गिकरण गरेर सेयर लगानीमा सहभागि गराउन सकिन्छ । स्थानीयको सेयर भर्नेले मजदूरको तर्फबाट सेयर भर्न स्वतः नपाउने हुन्छ । यति समय मजदूरी गरेको भनेर समय तोक्न सकिन्छ । तर प्रबन्धपत्र र नियमावलीमा व्यवस्था छैन भनेर पन्छिन खोजेर आयोजनाको लागत बढाउन पाईंदैन । कम्पनीको वर्तमान सेयर संरचनामा परिवर्तन नगरी समस्याको समाधान गर्न सकिन्छ । मजदूरले भने जस्तो पाँचसय कित्ताका दरले नै नहुन सक्छ । सित्तै कसैलाई दिने कुरा आउँदैन । धितोपत्र बोर्डको बाँडफाँट निर्देशिका बमोजिम बाँड्न सकिन्छ । 

Source: Bizmandu

 

comments powered by Disqus

Interview+ View All

Article+ View All