Environment

जलवायु अनुकूलनमा सहकार्य गर्न निजीक्षेत्र तयार

फागुन १६, दाङ । जलवायु परिवर्तन र न्यूनीकरणमा दाङका निजीक्षेत्रका सरोकारवालाले सम्बन्धित निकायसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । यूएसएआईडीको आर्थिक सहयोग तथा केयर नेपाल र दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा शनिवार घोराहीमा आयोजित हरियो वन कार्यक्रमअन्तर्गत जलवायु परिवर्तन र न्यूनीकरणमा निजीक्षेत्रको भूमिका अध्ययन प्रतिवेदन सार्वजनिक विषयक कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा सङ्घका अध्यक्ष हेमराज बञ्जाडेले परिवर्तित जलवायुको असरबाट निजीक्षेत्र पनि अछुुतो नरहेको भन्दै यसलाई न्यूनीकरण गर्न सम्बन्धित निकायहरूसँग सहकार्य गर्न तयार रहेको बताए ।  ‘बेलाबेलामा जिल्लाका विभिन्न नियकासँग वातावरण स्वच्छ बनाउन उवासङ्घले सहकार्य गर्दै आएको छ,’ उनले भने, ‘जलवायुको असर न्यूनीकरण गर्नेमा सम्बन्धित निकायसँग सहकार्य गर्न हामी तयार छौं ।’  गत १० महीनाअघि दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुुरमा अध्ययन गरिएको जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणको प्रतिवेदनबारे जानकारी दिँदै हरियो वन कार्यक्रमका परामर्शदाता वासुुदेव पौडेलले अध्ययनको क्रममा करीब ७८ प्रतिशतले जलवायु परिवर्तनबाट उद्योग पनि प्रभावित भएको बताएको जानकारी दिए । 
त्यस्तै अध्ययनको क्रममा दाङमा गोग्लीस्थित घोराही सिमेण्टलाई अध्ययन गरिएको र उद्योगले वातावरणसँग विभिन्न गतिविधि गर्दै आए तापनि उसले गरेको वातावरण प्रभाव मूल्याङ्कनअनुरूप व्यावहारिक कार्यान्वयन नगरेको पाइएको उनले बताए । त्यस्तै यस्तो समस्या अन्य जिल्लामा पनि देखिएको प्रतिवेदनमा उल्लेख छ ।

स्रोत: अभियान 

comments powered by Disqus

Interview+ View All

Article+ View All