Interview

१२ घण्टे लोडसेडिङमा बसेर विदेशीसँग प्रतिस्पर्धा गर्न सकिँदैन

केडिया अर्गनाइजेसन नेपालको प्रमुख औद्योगिक घरानामध्यमा पर्छ । विशेष गरी कृषिमा आधारित ‘फेमिली बिजनेस’ मा केडिया समूहले दुग्ध उद्योगलाई प्राथमिकता दिएको छ । सीताराम ब्रान्डमा प्याकेट दूध र विभिन्न दुग्धजन्य उत्पादन गर्दै आएको सीताराम गोकुल मिल्सको नेतृत्व १२ वर्षदेखि निरन्तर सुमित केडियाले गर्दै आएका छन् । पुख्र्यौली घर वीरगन्ज रहेको केडिया परिवार सय वर्षदेखि काठमाडौंमा विभिन्न व्यापार व्यवसायको क्षेत्रमा छ । भारतको पुणास्थित सिम्बसीस इन्स्टिच्युट अफ बिजनेस म्यानेजमेन्टबाट मार्केटिङ म्यानेजमेन्टमा स्नातकोत्तर (एमबीए) सकेर सन् २००२ देखि उनी दुग्ध उद्योगमा सक्रिय छन् । दुग्ध उद्योग सेवा र व्यापार दुवैको विशेषता बोकेको क्षेत्र भएकाले आफू निरन्तर दुग्ध क्षेत्रमै लागिपरेको धारणा राख्ने केडिया दुग्ध उद्योगीको साझा संस्था नेपाल डेरी एसोसिएसनका अध्यक्ष निर्वाचित भएका छन् । 
कुल गाहस्र्थ उत्पादनमा ९ प्रतिशत योगदान रहेको दुग्ध क्षेत्रको विकासबाट राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुग्ने र लाखौं कृषकको जीवनस्तरमा समेत सुधार हुने केडिया बताउँछन् । दुग्ध क्षेत्रको विकासमा निजीक्षेत्र, सहकारी र कृषकको भूमिका सकारात्मक रहेको बताउने उनी सरकारले नीतिगत सुधार गरेर दुग्ध क्षेत्रमा लगानी विस्तारका लागि भूमिका खेल्न सके यसले फड्को मार्ने विश्वास राख्छन् । यिनै विषयमा केन्द्रित रहेर कारोबारकर्मी किरण आचार्यले उनीसँग गरेको कुराकानी :

लगानीका अरू क्षेत्र हुँदाहुँदै दुग्ध व्यवसायमै किन लाग्नुभयो ?
हाम्रा पूर्खाले सुरु गरेको पारिवारिक संस्था केडिया अर्गनाइजेसनको लगानी चिनी, घ्यु–तेल, सिमेन्टलगायत क्षेत्रमा छ । हामी १ सय वर्षदेखि परिवारका सदस्यहरूकै नेृत्वमा यी उद्योग सञ्चालनमा छन् । हाम्रा अग्रजले नेपालमै अवसर खोज्नुभयो । हामी नेपालमै बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने उद्देश्यले कृषिमा आधारित उद्योगहरू खोल्नमा केन्द्रित छौं । त्यसैले पनि मैले पढाइ सक्ने समयमा हाम्रो पारिवारिक व्यवसायअन्तर्गत दुग्ध उद्योग सुरुवात भइसकेको थियो ।
एमबीएस पढेकाले अभिभावकले उद्योग व्यवस्थापनको जिम्मा मलाई दिने निर्णय भएअनुरूप म डेरी क्षेत्रसँग जोडिएको हुँ । पढाइ सकेर आएपछि यो क्षेत्रमा लाग्छु भन्ने मेरो कुनै पूर्वयोजना थिएन । सबैको सहयोग र सद्भावका कारण यो उद्योगलाई उचाइमा पु¥याउन केही हदसम्म सफल भएका छौं । तर, आज सीताराम ब्रान्ड सबैले सम्झिने ब्रान्ड भएको छ । संयोगले म डेरीमा लागें । तर, म सही क्षेत्रमा लागेछु भनेर अहिले गर्व लाग्छ । नाफा–घाटा आफ्नो ठाउँमा छ ।

सीताराम दूधको एउटा टेलिभिजन विज्ञापनलाई लिएर निकै विरोध भएको पनि थियो । यसले उद्योगमा कस्तो असर ग¥यो ?
हो । ‘सीताराम दूध भए गाई फिर्ता’ भन्ने सन्देश रहेको टेलिभिजन विज्ञापनको विरोध भएको थियो त्यतिबेला । यद्यपि हाम्रो सन्देश भने गलत थिएन । दूध दिने गाई गाउँमा पालिन्छ र गाउँमै पालेको राम्रो हो, सहरमा गाई पाल्न सम्भव छैन, सीतारामले दूध उपलब्ध गराइहाल्छ भन्ने सन्देश प्रवाह गर्न खोजेका थियौं । तर, अलि फरक ढंगले बुझिएछ । कृषकले जुन गाईले दूध दिन्छ, त्यही गाई फिर्ता भन्ने ? भनेर विरोध गर्नुभएको थियो । हरेक कुराका सकारात्मक र नकारात्मक पक्ष हुन्छन् । विरोधका बाबजुद ब्रान्ड स्थापित गर्न भने विज्ञापन र त्यसपछिका प्रसंगले सकारात्मक भूमिका नै खेले । त्यसपछि सीताराम उपभोक्ताले सम्झने ब्रान्ड बन्यो । विरोध भयो र हामीले सच्यायौं पनि । पछि भने सकारात्मक सोचले भनेको रहेछ भनेर धेरैले महसुस गर्नुभयो र सीतारामप्रति सकारात्मक धारणा विकास भयो ।

पहिले उद्योगी मात्र हुनुहुन्थ्यो । अब त दुग्ध उद्योगीको नेता पनि बन्नुभएको छ । कस्तो महसुस गर्नुभएको छ ?
नेपाल डेरी एसोसिएसनले मलाई धेरै कुरा सिकाएको छ । कुनै बेला म सामान्य उद्योगीको रूपमा रहँदा एसोसिएसनका पदाधिकारीले धेरै सिकाएका कारण पनि म आभारी छु । सामान्य सदस्यबाट एसोसिएसन प्रवेश गरेर १२ वर्षसम्म विभिन्न पदमा रही काम गरें । यस पटक संस्थाका साथीहरूले विश्वास गरेर मलाई अध्यक्षमा निर्वाचित गर्नुभएको हो । मलाई के विश्वास छ भने हामीले धेरै कुरा गरेका छौं र आउँदा दिनमा यो क्षेत्रको विकासका लागि धेरै गर्न आवश्यक देखेको छु । थप जिम्मेबारीबोध भएको महसुस गरेको छु । दुग्ध क्षेत्रको विकासका लागि सक्दो भूमिका खेल्नेमा म प्रतिबद्ध छु ।

दुग्ध उत्पादनको दृष्टिकोणले नेपालको अवस्था कस्तो हो ?
औपचारिक क्षेत्रबाट दैनिक ७ लाख लिटर दूध प्रशोधन भइरहेको छ । अर्को तथ्यांकअनुसार दूध उत्पादनको वृद्धिदर बर्सेनि ४ प्रतिशत र माग ८ प्रतिशतले बढिरहेको छ । यस्तो अवस्थामा एकातिर स्वदेशमै उत्पादन बढाएर यहाँको आवश्यक्ता पूर्ति गर्नुपर्ने देखिएको छ भने अर्कातिर विदेशबाट दुग्ध तथा दुग्धजन्य पदार्थ आयातलाई प्रतिस्थापन गर्नु आजको आवश्यकता बनेको छ । आयातीत वस्तुसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती हाम्रो सामु छ । १५ अर्बभन्दा बढी लगानी भएको यो क्षेत्रको विकासका लागि गर्नुपर्ने धेरै देखेको छु ।
दुग्ध क्षेत्रको विकासका लागि निजी क्षेत्र, सहकारी र साना कृषकको भूमिका प्रशंसनीय छ । सरकारको तर्फबाट हेर्दा जति गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । मलाई सबैभन्दा बढी चिन्ता हाम्रा कृषक दाजुभाइ र उद्यमीलाई सरकारले हेर्ने नकारात्मक दृष्टिकोणप्रति छ । जबसम्म सरकार र सरकार चलाउनेहरूको दृष्टिकोणमा दुग्ध क्षेत्र अर्थतन्त्रको एउटा महत्वपूर्ण क्षेत्रका रूपमा चित्रित हुँदैन, तबसम्म यो क्षेत्रको विकासले फड्को मार्न सक्दैन । सरकारको साथ पायौं भने हामी दुग्ध क्षेत्रलाई उदाहरणीय बनाउन सक्छौं ।

सरकारको कस्तो भूमिका खोज्नुभएको हो ?
अहिलेको सबैभन्दा महत्वपूर्ण पक्ष दूध उत्पादन हो । दूध उत्पादन नबढेसम्म जति ठूला उद्योग स्थापना गरे पनि यो क्षेत्रको विकास हुँदैन । दुग्ध उद्योग दूधले चल्ने हो, पानीले होइन । मुख्यगरी दूधको उत्पादन कसरी बढाउने, गुणस्तरमा कसरी सुधार गर्ने र उत्पादन लागत खर्च कसरी घटाउने भन्ने नै अहिलेको मुख्य विषय हो । यसका लागि सरकारले अहिले एआई मिसन (नश्ल सुधार) र घाँस उत्पादनका कार्यक्रम सुरु गरेको छ । यी कार्यक्रम सानो एकाइमा होइन, व्यापक र सफल रूपमा देशव्यापी बनाउन सकियो भने धेरै सकारात्मक परिवर्तन देख्न सकिन्छ । हाल कार्यक्रम लागू भए पनि कृषकले सेवा नपाएको गुनासो सुन्ने गरिन्छ । कहाँनेर समस्या छ, सरकारले खोजी गर्नुप¥यो ।
सरकारले वास्तबिक कृषकको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउनुपर्छ । उत्पादित दूधलाई प्रशोधन र बजारीकरणका लागि हामी उद्योगी तयार छौं र सक्षम पनि । दुग्ध क्षेत्रका लागि ल्याइएको दुग्ध विकास नीति ०६४ छ । यसमा धेरै कुरा समयसापेक्ष सुधार गरेर कार्यविधि बनाउनुपर्छ । त्यसपछि खाद्य ऐन ०२३ मा पनि धेरै कुरा सुधार गर्नुपर्छ । यसका साथै बिक्री भएको दूध फिर्ता नगर्ने नीति ‘नो रिटन पोलिसी’ पनि महत्वपूर्ण छ । यससम्बन्धी कार्यविधि पनि छिट्टै पास हुनुपर्छ ।
१२ घण्टाको लोडसेडिङमा काम गरेर विदेशको उत्पादनसँग प्रतिस्पर्धा गर्न सकिँदैन । सरकारले उद्योगमा निर्वाध विद्युत् आपूर्तिको व्यवस्था गर्नुपर्छ । सरकारले निजी क्षेत्रसँग समन्वयन नगरेर नीति बनाउने र निजी क्षेत्रले पनि सरकारसँग समन्वय नगरेर आफ्नै नीति बनाउने गर्दा दुग्ध क्षेत्रको सुधार हुन नसकेको हो । अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली उत्पादनको अर्थपूर्ण उपस्थितिको लक्ष्य लिएर काम गर्नुपर्छ । देशको हित र दुग्ध क्षेत्रको विकासका लागि सोच्ने बेला आइसकेको छ ।

गुणस्तरको विषयमा उद्योगहरूले पनि त सुधार गर्नुपर्ने धेरै कुरा छन् नि !
हो, उद्योगले पनि धेरै सुधार गर्नुपर्ने विषय छन् । गुणस्तरमा समस्या देखिने बित्तिकै उपभोक्ताहरूले पनि हामीलाई संकाको नजरले हेर्ने र सरकारी निकायले पनि हामीलाई नराम्रै नजरले हेर्छन् । हामी गुणस्तरमा सुधार गर्न प्रतिबद्ध छौं । पछिल्लो समय दुग्ध उद्योगहरूले गुणस्तरमा व्यापक सुधार गरेका छन् । दुग्ध क्षेत्र र यसको गुणस्तरीयतासँग जोडिएका प्राविधिक पक्षबारे पनि सरोकारवाला पक्ष जानकार हुनुपर्ने देखिएको छ । सरकारले गर्ने नीतिगत सुधार र उद्योगीले गुणस्तर उत्पादनका लागि निर्वाह गर्नुपर्ने भूमिकाको संयोजनले दुग्ध क्षेत्रको भविष्य उज्वल बनाउँछ ।
गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जिएमपी), ह्याजार्ड एनालिसिस क्रिटिकल कन्ट्रोल पोइन्ट (ह्यास्याफ), आईएसओ जस्ता आधुनिक र प्राविधिक ज्ञान उद्योगमा ल्याउन सकियो भने गुणस्तरमा सुधार ल्याउन सकिन्छ । यी प्रविधिमा कच्चा पदार्थलाई प्रशोधन गरेर उत्पादन बाहिर ल्याउने समयसम्म अपनाउनुपर्ने केही नियमहरूसमेत समावेस छन् । हामी दुग्ध उद्योगभित्र जानुअघि हात धुने, टोपी लगाउने, माक्र्स लगाउने जस्ता नियम ह्यास्याफ र जीएमपीअन्तर्गत पर्छन् । केही अघि कोलीफर्मको समस्या देखिनुमा यिनै नियम उल्लंघन कारक थिए । यी प्राविधिक नियम पालना गरे धेरै सुधार गर्न सकिन्छ ।

दुग्ध बजारको अवस्था हेरेर कति उद्योग र उत्पादन आवश्यक हो ?
हाल हामीसँग उपलब्ध उद्योगमा चितवन मिल्कलाई सवा लाख लिटर, सुजल डेरीलाई ८० हजारदेखि १ लाख लिटर, दुग्ध विकास संस्थानलाई अढाइ लाखदेखि ३ लाख लिटर र बाँकी निजी क्षेत्रका उद्योगलाई ३ लाख लिटर दूध आवश्यक पर्छ । हाल औपचारिक क्षेत्रबाट जति उत्पादन आइरहेको छ, त्यसले हामीलाई पुग्छ । तर, उद्योगहरू दिनप्रतिदिन थपिने क्रम र उपभोग प्रवृत्ति पनि बढ्दो छ । अझै हामीलाई ४ देखि ५ लाख लिटर प्रतिदिन बढाउनुपर्ने देखिएको छ ।
कुनै बेला पनिर, चिज, आइसक्रिम जस्ता उत्पादनलाई उपभोक्ताले वास्ता गर्दैनथे । अहिले यिनै उत्पादन दैनिक उपभोगमा आउन थालेका छन् । अझै धेरै उत्पादन बजारमा पठाउनुपर्नेछ । दूधका धेरै परिकार बनाउन प्राविधिक र प्रविधि नहुँदा नेपाली उपभोक्ता थप परिकार उपभोग गर्नबाट बञ्चित छन् । यसको फाइदा अन्तर्राष्ट्रिय उत्पादनले लिइरहेका छन् ।

एकातिर डेरी पढेका जनशक्ति छन्, अर्कातिर तपाईंहरू जनशक्ति पाइएन भन्नुहुन्छ । समस्या कहाँनेर हो ?
नेपालमा डेरीसम्बन्धी प्राविधिक विषय पढाइ हुने कलेज छन् र पढेका जनशक्ति पनि छन् । हामीले जनशक्ति खोजिरहेका छौं तर पाएका छैनौं । यसो हुनुमा हामीबीच सहकार्य नभएर हो । हामीले जनशक्ति खोज्ने तर दक्ष जनशक्ति कहाँ जाने भनेर अलमलिने अवस्था अन्त्य गर्न कलेज र उद्योगबीच सहकार्य आवश्यक देखिएको छ । हामी र कलेजबीच मध्यस्थताको भूमिका खेल्ने निकाय राष्ट्रिय दुग्ध विकास बोर्ड हो । हामी पनि आफ्नो ठाउँबाट पहल गर्छौं तर बोर्डको भूमिका अर्थपूर्ण रहन्छ । अन्य समस्या समाधानमा पनि बोर्डको थप भूमिका आवश्यक छ ।

बोर्डले ‘डेरी भिजन २०२०’ पनि ल्याएको छ । यसमा तपाईंहरूको धारणा के हो ?
यो निकै सकारात्मक भिजन हो । हामीले पनि विगतदेखि नै कृषि विकास मन्त्रालय, राष्ट्रिय दुग्ध विकास बोर्ड, पशु सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग समन्वयन गरेर आइरहेका छौं । अझै पनि समय–समयमा हामीबीच अन्तरक्रियाको खाँचो छ । खाद्यले जहिले पनि उद्योगलाई नकारात्मक रूपमा मात्र हेर्ने गरेको छ । समस्या देखाउनु मात्र नभई समस्या पहिचान गरेर समन्वय गर्ने काम गर्नुपर्छ । सबैले खुला रूपमा सोचे समस्या निराकरण गर्न सहज हुन्छ ।

डेरी उद्योगी र दुग्ध क्षेत्रको संस्थागत विकासका लागि तपाईंका कस्ता योजना छन् ?
दाङमा भएको हाम्रो १६ औं साधारणसभासम्म आइपुग्दा एसोसिएसनका सदस्य १४८ पुगेका छन् । हाम्रा सदस्य उद्योगलाई ठूलो, मध्यम, साना र कटेज (कुटिर) मा वर्गीकरण गरेर हरेक समूहबाट १–१ उपाध्यक्षसमेत निर्वाचित गरेका छौं । सबै उपाध्यक्षले सम्बन्धित समूहमा पर्ने डेरी र उनीहरूका समस्या पहिचान गर्ने तथा केन्द्रबाट हामीले सहजीकरण गर्ने गरी निर्णय गरेर काम अगाडि बढाएका छौं । आगामी दिनमा सरकारी मापदण्डसँग मेल खाले व्यवसायीको आफ्नै मापदण्ड बनाएर सबैलाई पालना गर्न लगाउँछौं । यसले दूधको गुणस्तर सुधारमा ठूलो फड्को मार्नेछ ।

दुग्ध उद्योगीका संस्था नै दुइटा छन् । तपाईंहरू आफैं मिल्नु भएको छैन भने देशभरिका डेरीलाई एकै ठाउँमा कसरी ल्याउनु हुन्छ ?
नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघ उस्तै विशेषता भएका उद्योगीहरूका फरक संस्था हुन् । कारणबस दुइटा संस्था बने । तर, फरक संस्था भए पनि दुग्ध उत्पादनको साझा मुद्दामा भने हामी मिलेर काम गर्दै आएका छौं । यद्यपि हामीले दुइटा संस्थालाई एउटै बनाउनका लागि गृहकार्य पनि गरिरहेका छौं । आजको दिनमा फुटेर होइन, जुटेर नै विकास हुन्छ भन्ने मान्यतामा दुवै संस्था अडिग छौं । मलाई लाग्छ– दुइवटा संस्था एक भएर लागे दुग्ध उत्पादनको क्षेत्रले अझै गति लिन सक्छ ।

स्रोत: कारोबार 

 

comments powered by Disqus

Interview+ View All

Article+ View All