Interview

हाम्रो विकास रोकिएको छैन्, होटल, हाइड्रोमा लगानी बढदैछ, चितवन-कोर्इका राजेशबाबुको अन्तर्वार्ता

 

निर्माण क्षेत्रमा कहलिएको चितवन-कोइले मनकामना केवल कार बनायो, केवलकार नेपालका केही सफल परियोजनामध्ये एक बन्यो पनि। केवलकारबाट उत्साहित चितवन-कोइले दुग्ध उत्पादनमा नेपालकै ठूलो परियोजना चितवन मिल्कमा लगानी गर्यो। तर अपेक्षाविपरित कम्पनी ठूलो घाटामा छ। चितवन मिल्कका प्रवद्क राजेशबाबु श्रेष्ठलार्इ बिजमाण्डूका सम्पादक सरोज काफ्ले र विज्ञान अधिकारीले सोधे,  तपार्इलार्इ  चितवन मिल्क घाँटीमा अड्किएको हड्डी नै भयो हैन, न निल्नु न ओकेल्नु?

 

 

यसमा व्यवस्थापनको समस्या भन्दा पनि कहाँ खपत बढाउने, कसरी इफिसेन्सी ल्याउने , बजार प्रवद्र्धन कसरी गर्ने भन्ने पक्षमा लिंक टुटेको जस्तो लाग्दैन ?

सेयर संरचनाको समस्या भन्दा पनि तपाईले बनाएको स्किम मिल्क डिडिसीले बेचिदियो भने खेल खतम, होइन ? डिडिसीले खपत गरिदिए मात्रै पुग्छ । यत्ति हो, यो भन्दा पर जानै पर्दैन । 

 

 

 

यो लिंक छाडेर हामीले अर्को घुमाउरो बाटो तिर जान लाग्यौ ?

होइन, यो त सोचाइ हो जसरी सोचे पनि हुन्छ । हाम्रो बहुमत सेयर र उनीहरुको अल्पमत सेयरको संरचनामा यो लिंक खोज्ने भनेको तीन वर्ष भयो । अहिलेसम्म सामान्य एउटा विनियम संसोधन भएको छैन ।

 

 

 

त्यो हो भने विनियम संसोधन भन्दा सेयर नै हस्तान्तरण गरिदिउँ भन्ने हो ?

तीन वर्ष भइसक्यो यो प्रोसेसमा लागेको । हामीलाई यति घाटा भइसक्यो कि अब विनियम संसोधनको पछि लागेर बस्ने अवस्थै छैन । यसमा विदेशी लगानीकर्ता पनि सेयर किन्न इच्छुक छन् । जनवरी दोस्रो साता लगानी गर्न चाहने विदेशी समूहको प्राविधिक टोली यहाँ आउँदैछ । तर, मेरो भित्री इच्छा के हो भने यो कम्पनी नेपालीको स्वामित्वमा रहनु पर्छ । अहिले डेरी क्षेत्रमा निजीक्षेत्रले धेरै लगानी गरिसक्यो तर दैनिक १५ हजार लिटरसम्मको झोल दुधको क्षमता होलान । तर हाम्रो जस्तो लगानीलाई बजार चाहियो । डिडिसी आफै ठूलो क्रेता हो । डिडिसीले विनियम संसोधन नगर्दा हाम्रो उत्पादन किन्न सकेको छैन । एउटा विनियम संशोधन गर्न त तीन चार वर्ष लाग्छ भने मैले त विकल्प खोज्नु पर्यो । मेरो विकल्प धेरै हुन सक्छ, सरकारलाई नै दिनुपर्छ भन्ने छैन । तर प्रमोटरको हिसावले पहिलो अधिकार त उसैको हुन्छ । बैंकमा पनि त त्यस्तै हुन्छ प्रमोटर सेयरमा पहिलो अधिकार अर्को प्रमोटरको हुन्छ । नेपाल सरकारले नलिने भन्यो भने मैले अरुलाई बेच्न पाउँछु । मेरो पहिलो रोजाई चाँही सरकार हो । सरकारको नीति कार्यान्वयन गर्न पनि यो उद्योगले सहयोग पुग्छ भनेर सरकारले नै सेयर लिइदेओस भनेको हो । मैले सरकारलाई बेच्न खोज्दा हौवा हुने तर विदेशीलाई बेच्न खोज्दा चाँही केही नहुने । तपाईहरुको सञ्चार माध्यममा पनि विदेशीले किन्यो भन्नेसम्मको समाचार आउला ।

 

 

अहिलेसम्मको अवस्थालाई हेर्दा सेयर सरकारले किन्छ भन्न सकिन्छ, त्यो अवस्था देख्नुहुन्छ ?

 

यो मैले देख्ने होइन, म प्रस्तावक हुँ । म बोर्डको बैठकमा जाने कुरा भएन । उहाँहरुले निर्णय गर्ने हो । बोर्डको बैंठकले सेयर खरिद गर्ने प्रस्ताव कृषि मन्त्रालयमा पठायो । कृषि मन्त्रालयले के गर्दैछ भन्ने जानकारी मलाई छैन । उहाँहरुको निर्णय प्रक्रिया के हो मलाई त्यो पनि थाहा छैन । हुन्छ वा हुदैन भन्ने त उहाँहरुले हो, मैले प्रस्ताव गरेको मात्रै हो । किन सरकारलाई सेयर किन्न प्रस्ताव गरे भने यो राष्ट्रिय महत्वको उद्योग हो र यसको असर सिधा गाउँका किसानसम्म पुग्छ । लाखौ परिवार दुध उत्पादनमा संलग्न छन् । घाटामा गएको उद्योगको एक सयको सेयरमा मैले एक सय दस त पाउँदिन । मैले सेयर बेच्दा पनि सय रुपैयाँ दरको सेयरको ७० देखि ७५ रुपैयाँसम्म पाउने हो । एक सेयरमा २५ देखि ३० रुपैयाँ त घटेरै बेच्नुपर्छ । यसमा कहाँ नाफा गर्ने? खाली यस प्रकारको उद्योग हामीलाई खाँचो छ । एउटा मात्रै होइन हाम्रो अध्ययनले हरेक विकास क्षेत्रमा एउटा आवश्यक देखाएको थियो । राष्ट्रिय महत्वका कारण यो उद्योग बच्नु पर्छ भन्ने मात्र हो । यसमा सरकारले सेयर किन्नै पर्छ भन्ने पनि होइन । 

 

सेयर मात्रै होइन, ५० करोड जुन असुरक्षित कर्जा छ, त्यो पनि ट्रान्सफर गर्न खोजिरहनु भएको छ, तपाईलार्इ धेरै नै बोझ भयो,  तपाईले ५९ करोड खुद सम्पत्ति हो भनेर साइटमा राख्नु भएको छ ?

 

होइन, मैले ट्रान्सफर गर्न खोजेको होइन । सेयर ट्रान्सफरको छुट्टै प्रक्रिया हुन्छ । डिडिए गरेर, नाफा घाटा हेरेर सेयरको मुल्य सिफारिस गर्नुहुन्छ । त्यो सिफारिसमा लिने र दिने तयार हुनुपर्यो । उहाँहरु तयार हुनु भयो भने दुई पक्ष बसेर सहमति होला, नलिने निर्णय भयो भने त कुरै सकियो । पछि हामीले लगानी बढाएका छौं । स्टाफ क्वाटर बनायौं, अरु पनि लगानी थप्यौं, थप लगानी पनि धेरै भएको छ । करिब ७० करोड नै नाघेको छ । 

 

सेयर हालिसकेको डिडिसीले चाँही किन किन्न खोजेन त यो कम्पनी, उसकै ६ प्रतिसत भन्दा बढी सेयर पनि छ ?

 

डिडिसी पनि नेपाल सरकारको स्वामित्व भएको सस्था हो । यसमा के हो भने सेयर किन्दा नेपाल सरकारले नै किन्ने हो, त्यो सेयर कुन सस्थामार्फत लगाउने हो भनेर निर्णय गर्ने हो । स्थापना कालमा अर्थमन्त्रालयको स्वीकृतिमा कृषि मन्त्रालय हुँदै डिडिसीले लगानी गरेको हो । पैसा त अर्थमन्त्रालयबाट आउने हो । सरकार यो उद्योगमा सेयर हाल्ने भन्ने निर्णय गर्यो र त्यो पैसा डिडिसीमार्फत लगाएको हो । 

 

तपाई दुग्ध उद्योगमा आउनु भयो र यति चाँडै आत्तिनु भयो । के पनि सुनिन्छ भने तपाई बढी महत्वाकांक्षी हुनुभयो, दुध धेरै उत्पादन भएको बेला उद्योग स्थापना गर्नु भयो, त्यसबेला निर्यातको संभावना देख्नुभयो, पाकिस्तान निर्यात गर्नुभयो, रिटर्न राम्रो भएन त्यसैले अहिले बाहिर निस्कन खोज्दै हुनुहुन्छ ?

 

भन्नेहरुले जे पनि भन्लान, पाकिस्तानमा मेरो पैसा फसेको होइन, सबै एलसी कारोबार हुन्थ्यो । के हो भने यो ‘बायर्स गाइडेड प्रोडक्ट’ हो । त्यसैले अन्तर्राष्ट्रिय बजारको मुल्यसँग यो जोडिन्छ । जस्तो गत वर्ष यसको मुल्य राम्रो बढ्यो, यो वर्ष फेरि घट्न थालेको छ । यसको भाउ कच्चा पदार्थको उत्पादनसँग जोडिएको हुन्छ । दुधको उत्पादन धेरै भयो भने पाउडर पनि धेरै उत्पादन हुन्छ र भाउ घट्न थाल्छ । हाम्रो उद्योगको प्रशोधन क्षमता डेढलाख लिटर छ, यो नेपालका लागि निकै ठूलो क्षमता होइन । क्षमता अनुसार प्रशोधन गर्दा पनि कुल मागको ३३ प्रतिसत पुरा गर्न सकिन्छ । एउटा कम्पनीले प्रस्ताव पायो भने निर्यात नगर्ने त कुरै हुँदैन । विदेशी मुद्रा पनि आउँछ । स्थापना भएको एक दुई वर्षमै नाफा कमाउने भन्ने पनि होइन । यो उद्योग स्थापना भएको पाँच वर्ष भइसक्यो । अब कति थेग्ने ? यसलाई म चलाउँछु, घाटै व्यहोरिरहन्छु भन्ने हो भने म उद्योगपति भइन । यसलाई सँधै घाटामा चलाइ रहने कि व्यवस्थापन गर्ने भन्ने मात्रै हो । व्यवस्थापन कसरी गर्न सकिन्छ त भन्दा कि उद्योग बन्द गर्नुपर्यो कि सेयर बेच्नु पर्यो । त्यही अनुसार यो प्रस्ताव आएको हो । विदेशीले किने पनि म उद्योगबाट बाहिरिन्न, २० देखि ३० प्रतिसत मेरो सेयर हुनुपर्छ भनेर मैले भनेको छु । 

 

सात/दस वर्ष अघि चितवन कोईको नाम हरेक दिन जसो पत्रपत्रिका यो आयोजना बनाउँदै छ, यो विल्डिङ बनायो भनेर लेखेको देखिन्यो, ठूलो नाम थियो । तपाईहरुले करिब १६ वर्ष अघि मनकामना केबल कार बनाउनु भयो यो समूहको नाम झनै चम्किएको थियो, कतै तपाईहरुलाई चितवन मिल्कले ठूलो तनाव दियो, ध्यान बढी केन्द्रित गर्नुपर्यो र प्रगतिमै ब्रेक लागेको त होइन ?

 

होइन । व्यापार व्यवसाय भनेको सबै फष्टाउँछन भन्ने पनि छैन । चितवन कोई एक नम्बरको निर्माण कम्पनी हो, आफ्नो काम गरिरहेकै छ । गत हप्ता मात्रै हरिसिद्धि क्यान्सर अस्पतालको भवन बनाउने ठेक्कामा संझौता भयो । हाम्रा इन हाउस प्रोजेक्ट पनि चलिरहेकै छन् । मनकामना रिसोर्टको तयारी भइरहेको छ, पोखराको केबलकारमा म अघि बढिरहेको छु । गतिविधि कुनै पनि रोकिएको छैन । पाँच वटा काम गर्दा एउटा विग्रनु भनेको स्वभाविकै हो । त्यो विग्रेको कामलाई कसरी सम्हाल्ने भन्ने महत्वपूर्ण हो । म यसलाई सम्हाल्न खोज्दैछु । व्यवसायमा सबै कुरा राम्रै भए त ठिकै थियो, आठ/दश वटा बिजनेश भएको ठाउँमा एउटा तलमाथि भयो भने त टेन्सन अलिअलि त भइहाल्यो। उसलाई कसरी व्यवस्थापन गर्ने भन्ने टेन्सन आउँछ। चलिराखेको भए त टेन्सन आउँदैनथ्यो नि। चलिरहेकै छ नि भन्ने हुन्थ्यो। सबै कम्पनी चलाउँदा राम्रैसँग चलाउछौं भन्ने सोच हुन्छ नि। हामीलाई त्यतिबेला केबलकार चलाउँदा मनमा धेरै डर थियो। गर्न त गरियो, नौलो चिज चल्ला कि नचल्ला भन्ने पीर थियो तर त्यो अर्को भैदियो। चितवन मिल्क एकदम राम्रो हुन्छ भन्ने सोचेका थियौं तर त्यो उल्टो भैदियो। भनेपछि काम गर्ने हो,  हामीले सोच्दा यो चल्छ नै भनेर सोचिन्छ । मैले तपाईंहरुलाई भने सुरुवात गर्दा कति अप्ठेरो भयो भन्ने हिसाबले। हामी सुरुवातका पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्ष हतोत्साही भएनौं। यसलाई हामीले पुनर्संरचना गर्दै गयौं। पुँजी थपिँदै गएको कारण पनि यहि हो। त्यो पनि नभइसकेपछि हामीले यसलाई अझै अगाडि बढाउनु भनेको पुँजी थप्दै जानु हो र घाटामा नै लैजानु हो भनिसकेपछि हामीले व्यवस्थापन गर्न खोज्यौं। सुरुमा नै हामीले सरकारलाई अथवा डिडिसीलाई प्रस्ताव गर्न सक्थ्यौं। त्यो बेलामै हामीले ३० प्रतिशत सेयर लिउ भन्न सक्थ्यौं ।

 

मनकामना केबलकार तपाईंहरुको मात्रै होइन कि, नेपालकै एउटा सफल व्यवसाय भित्र पर्छ। नेपालभित्र यस्ता धेरै डाँडाकाँडामा मन्दिर छन् कि केबलकारको संभाव्यता धेरै छ। तर तपाईंहरुले मनकामनाको जस्तो केबलकार अन्त किन विस्तार गर्न सक्नुभएन?

 

यस्तो हुन्छ हेर्नुस, केबलकार भनेको चानचुने लगानी होइन। ठाउँ छान्दा त्यहाँ डाँडो र मन्दिर छ मात्रै भन्ने होइन, त्यहाँ बजार छ कि छैन त्यो पनि त हेर्नु पर्यो नि। हामीले त्यतिबेला कालिन्चोक, स्वर्गद्वारी र इच्छाकामना अध्ययन गर्‍यौं। हामीले जहाँ अध्ययन गरेका छौं, मन्दिर नै भएको ठाउँमा अध्ययन गरेका छौं। हाम्रो बजार मध्यमाञ्चल क्षेत्रमा केन्द्रित छ। स्वर्गद्वारीमा त्यो बेलाँमा दुई तिरबाट बाटो पुगिहाल्यो। त्यो पुगेपछि बाटोसँग प्रतिस्पर्धा गर्न सक्दैनौं भन्ने हिसाबले हामीले त्यहाँ ड्रप गर्‍यौं। कालिन्चोकमा बिस्तारै मान्छेहरु जान थालिरहेका छन्। त्यहाँ उचाइको समस्या छ। मन्दिर १२/१३ हजार फिट माथि छ। त्यहाँ हिउँ पर्छ। मन्दिरमा युवा मात्रै जाने भन्ने हुँदैन। त्यहाँ धेरै उचाइका कारणले लेक लाग्ने समस्या हुन सक्ने ठानेर हामीले अध्ययन मात्रै गरिरहेका छौं। इच्छाकामना र मनकामनालाई दिदी बहिनी भनिन्छ। हाम्रो सोच चाँही मनकामनाको भीड त्यता आधि/आधि गर्न सकिन्छ भन्ने थियो। यात्रुहरु दुवै मन्दिर दर्शन गर्न सक्छन् भन्ने सोच हाम्रो थियो। तर त्यहीबेला हामीले पोखरा केबलकारको पनि अध्ययन गरिरहेका थियौं। पोखरा केबलकार बढि फिजिबल भएको भएर हामीले इच्छाकामनालाई अहिले होल्डमा राखेका छौं। हामीले पोखरा केबलकार पनि आठ/नौ वर्ष अगाडि अध्ययन गरेको भए पनि जग्गा प्राप्ति गर्न नसकेकाले हामीले बिओटीमा जानु परेको हो।  

 

त्यहाँ कहाँबाट समस्या आयो?

 

माथि डाँडामा जग्गा पाउने अवस्था थियो तर तल भने सडक पारी फेवाताल पट्टि सरकारी जग्गा, सडक वारी सबै निजी क्षेत्रको जग्गा। जग्गा प्राप्त हुने अवस्था नभएपछि बिओटीमा जान भनेर हामीले भौतिक योजना मन्त्रालयमा निवेदन हाल्यौं। हामीले बिओटी ऐनअनुसार पहिले अध्ययन गरेको हुनाले हामीले नै पाउनुपर्छ भनेर निवेदन हाल्यौं। दोस्रो हामीले त्यहाँका लागि विशेष परिस्थिति भनेर प्रावधान राखेका थियौं। हामीले भिजिट एयर नेपाल १९९८ मा मनकामना पुरा गरेका थियौं । त्यही हिसावमा पोखराको परियोजना हामीले भिजिट एयर नेपाल २०११ लाई लक्षित गरी बनाउन थालेका थियौ  । त्यतिबेला प्राविधिक समिति बस्यो, मन्त्रीस्तरीय निर्णयबाट त्यो पास पनि भयो। त्यसपछि त्यो योजना आयोगमा पुग्यो। योजना आयोगका पदाधिकारीले त्यतिबेला पर्यटन वर्षलाई विशेष परिस्थिती भनेर जस्टिफाइ गरेर त्यसलाई क्याबिनेटमा लैजाने आँट गरेनन्। नत्र यो नेपाल पर्यटन वर्ष २०११ मा नै पुरा भइसक्थ्यो र पोखरामा त्यो निकै राम्रो प्रोजेक्टको रुपमा अगाडि बढ्थ्यो। त्यहाँ उहाँहरुले सिफारिस पनि गर्नुभएन र क्यान्सिल पनि गर्नु भएन, त्यो त्यत्तिकै अड्कियो। त्यसको एक वर्ष पछि हामीले त्यो फाइल के भइरहेको छ भनेर निवेदन दिएका थियौं, योजना आयोगका तत्कालीन उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले त्यसलाई बुट प्रणालीमा नै बनाउनु पर्छ भनेर निर्णय गर्दिनु भयो। 

 

भनेपछि तपाईंहरुको अर्को प्रोजेक्ट पोखरा नै हो?

 

हामी सेवा क्षेत्रमा नै धेरै केन्द्रित हुन खोज्यौं। हामीले लेवाटार (कुरिनटार नजिकै)मा रिसोर्ट सञ्चालन गर्ने गरी त्यसको डिजाइन गरिरहेका छौं। म यहाँ जन्मे पनि मेरो अहिले घर चितवनमा पनि छ। हामीले त्यहाँ पनि एउटा होटलको योजना बनाइरहेका छौं। हाम्रो कन्ट्रक्सन त नियमित नै छ। 

 

कालिन्चोकमा चाँही अब छोड्ने हो?

 

त्यो होइन। त्यहाँ लगानीका लागि तीन अर्ब रुपैयाँ भन्दा धेरै लगानी गर्नुपर्छ। हामीले तीन/तीन तिर १५/१६ अर्ब रुपैयाँ लगानी गर्दा त्यो अलि जोखिमपूर्ण पनि हुन सक्छ। मनकामना केबलकारका कारण केबलकार प्रति मान्छेको इन्ट्रेष्ट त बढ्यो। चन्द्रागिरीमा केबलकार बन्दैछ। डोपलमेयर हाम्रो केबलकारको निर्माता हो, उसैले त्यहाँ सप्लाइ गर्दैछ, त्यसको लोकल प्रतिनिधि मै हुँ। उनीहरुले टेक्निकल सपोर्टमा गोदावरी फूलचोकी पनि बन्दैछ। केबलकारमा लगानी ठूलो छ।

 

तपाईंहरुको छवि अनुसार ठुला सरकारी परियोजनाको ठेक्का लिन छाडेको हो?

 

 

हामीले पहिले ठुला परियोजना धेरै नै गर्‍यौं। तर अहिले हामी सेलेक्टिभ भएका छौं। अहिले हामी सरकारी बिडमा खासै ध्यान दिइरहेका छैनौं।  

 

खुम्चिँदै गएको कि सेलेक्टिभ हुँदै?

होइन, सेलेक्टिभ हुँदै गएका हौं। हामी जुनसुकै प्रोजेक्ट पनि अब एस भन्दैनौं।  

 

 

 

प्रतिश्पर्धा गर्न गाह्रो भएर हो? प्र

 

तिस्पर्धा कमसल भएर हो। तपाईंले पत्रपत्रिकामा देख्नुहुन्छ, यो कन्ट्रयाक्टरले काम गरेन, फलानालाई हाजिर हुनु भनिरहेको हुन्छ। त्यो के कारणले भयो भने, अस्वस्थ प्रतिस्पर्धा। त्यसमा सरकारी नियम पनि बाँधिएको छ।  

 

निजी क्षेत्रको विकासमा चाँही लागेको हो?

 

निजी क्षेत्रका परियोजना बनाउन पनि खुबै लागियो त्यहाँ पनि पाठ सिकियो।  

 

जस्तो!

 

निजी क्षेत्रकोमा टाइमली पेमेन्टको समस्या धेरै छ। पैसा त तिर्छन्, तर अलि ढिला तिर्छन्। त्यही भएर हामी अलि सेलेक्टिभ भएका हौं। अहिले हामीले हरिसिद्धिको क्यान्सर हस्पिटलको काम लिएका छौं। त्यसका टर्म्स तथा कन्डिसन र त्यसको प्रोमोटरको मसँग चिनजान र विश्वास भएपछि यो काम गर्न हुन्छ भनेर हामीले यो काम लिएर अगाडि पनि बढाइसकेका छौं। त्यस्तै ठुला ठुला लगानी आउँदैछ भनेर हामी त्यसमा केन्द्रित हुँदैछौं। 

 

तपाईंहरु बैंक तिर पनि लाग्नु भयो नि?

 

लागेको भन्दा पनि अब हामी पनि बैंक तिर पनि काम गर्ने कि भनेर अगाडि बढेका हौं। त्यो बेलामा मनकामना केबलकारको नाम उल्लेख गरेर मनकामना बैंक राख्यौं। मान्छेहरुले त्यो हाम्रै बैंक हो कि भने तर बैंक त हाम्रो हुन सक्दैन नि। त्यसको प्रोमोटरको समूहमा हाम्रो पनि एउटा समूह रहेर बैंक आएको हो।

 

तपाईंहरुको प्रवेश भएपछि मनकामनाको समूह बैंकमा प्रवेश भयो, बैंक अब सुध्रिन्छ भनेर पब्लिकमा एउटा विश्वास थियो, तर किन सुधार हुन सकेन?

 

हामीलगायतका समूले त्यो बिग्रेकै बैंक लिएर सुधारेका हौं। बैंक बिग्रेको त छैन। अहिले त बोर्डमै छु नि। मनकामना नाम राख्नुमा पनि एउटा कारण छ। सिएसआइडी बैंक हामीले लिँदै थियौं। त्यो नाम अलि भएन भनेपछि हामीले नयाँ नाम राखेका हौं।  

धेरै तिर हात हाल्दा तपाईंहरुको मन डाइभर्सीफाइड भएको त होइन नि?

होइन होइन। डाइभर्सीफाइ गर्ने हो भने धेरै तिर लाग्नै पर्‍यो नि। जस्तो तपाईं एउटै क्षेत्रमा लाग्दा त डाइभर्सीफाइड नै भएन नि। हामी हाइड्रोमा पनि छौं। हामीले माथिल्लो मर्स्याङ्दीमा सिनो हाइड्रो सगरमाथा छ, त्यो सगरमाथामा मेरो १० प्रतिशत स्टेक छ। ९० प्रतिशत चिनियाँको छ। त्यसमा पनि लगानी गरेका छौं। नेपाललाई चाहिने भनेको जलविद्युत नै हो। तपाईंले हाम्रो कम्पनीको लगानी हेर्नु भयो भने हामीले राष्ट्र सुहाउँदो क्षेत्रमा लगानी गरेका छौं। हामीले जलविद्युतमा लगानी गर्‍यौं, केबलकारमा गर्‍यौं। 

Source: BIZMANDU

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

comments powered by Disqus