Environment

सार्क सम्मेलनका लागि राजधानी हरियाली बनाइने

काठमाडौं, ५ असोज-  मंसिरको पहिलो साता काठमाडौंमा आयोजना हुने १८ औं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन लागि काठमाडौं महानगरपालिकाले सफा, सुन्दर र हरियाली सहर बनाउने अभियानलाई तीव्रता दिएको छ । महानगरले सम्मेलनको तयारीका लागि अहिले सहरलाई सरसफाइ र हरियाली बनाउने अभियानमा लागेको महानगरका प्रवक्ता शान्ताराम पोखरेलले जानकारी दिए ।
सार्क सम्मेलनलाई लक्षित गरी महानगरपालिकाले राजधानीलाई हरियाली, सडकमा सौर्य बिजुली राख्ने, सरसफाइयुक्त बनाउने योजनासहित काम अगाडि बढाइसकेको पोखरेलले जानकारी दिए । उनका अनुसार महानगरले रत्नपार्क, रानीपोखरी, माइतीघर मण्डलालगातका मुख्य–मुख्य स्थानमा पार्क बनाइनेछ भने सडक दायाँ–बायाँ रूख रोप्ने काम सुरु गरिएको पनि पोखरेल बताउँछन् ।
उनका अनुसार महानगरले रत्नपार्क, खुल्लामञ्च, रानीपोखरी, सहिदगेटलगायतका स्थानको मर्मतसम्भारको काम भइरहेको छ । “राजधानीका मुख्य–मुख्य स्थान हरियाली बनाउने काम भइरहेको छ,” पोखरेलले भने, “सहरी सुन्दरताका साथै सडकहरूमा सोलार बत्ती जडान काम पनि भइरहेको छ ।”
साथै सरकारले सार्क सम्मेलन राष्ट्रिय सभागृहमा आयोजना गर्न तयारीका साथ भवन मर्मतसम्भार भइरहेको छ । भवन निर्माण तथा सम्भार डिभिजन कार्यालयले गत महिनादेखि भवन मर्मतसम्भारको धमाधम काम सुरु गरिसकेको छ । सभागृहको बाहिरी स्वरूपमा कुनै पनि परिवर्तन हुनेछैन भने भित्र भने पूर्ण रूपमा परिवर्तन गरिनेछ । भवनको बाहिरी भागमा रंगरोगन मात्र हुने र भित्र अन्तर्राष्ट्रिय स्तरको वातानुकुलर (एसी), साउन्ड स्टिम निर्माण गरिने भएको विभागले जनाएको छ ।
भवनको पूर्वपट्टि एउटा सानो हलसमेत निर्माण गरिनेछ । त्यस भवनमा विभिन्न राष्ट्रबाट सम्मेलनमा सहभागी हुन आएका राष्ट्रप्रमुखलाई राखिने छ भने मन्त्रीस्तरीय छलफल तथा सन्धिसम्झौताका लागिसमेत छुट्टै हल निर्माण गरिने गरी डिजाइन भएको छ  । हाल ६ सय जना अट्ने क्षमता भएको उक्त हलको मर्मत सम्भारपछि ४ सय जनाको सिट क्षमता हुनेछ ।
सार्क सम्मेलन आगामी कात्तिक २९ देखि मंसिर ४ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानस्तान, माल्दिभ्स, भुटानका राष्ट्रप्रमुख तथा सरकार प्रमुख सहभागी हुनेछन् ।

 

स्रोत: कारोबार

comments powered by Disqus

Interview+ View All

Article+ View All