Environment

चुरे, भूगर्भ र विपद्
चुरे करिब चौबीस सय किलोमिटर लामो पूर्व–पश्चिम फैलिएको हिमालयको अग्रभागमा अवस्थित सबैभन्दा कान्छो पर्वत शृंखला हो। यो पर्वत शृंखला पूर्वमा भारतको अरुणाचलदेखि पश्चिममा कश्मीरसम्म फैलिएको छ। नेपालमा पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म करिब आठ सय किलोमिटर क्षेत्रमा अवस्थित छ। चुरे पहाडको उत्पत्ति समग्र हिमालयको उत्पत्ति प्रक्रियासँग जोडिएको छ। भारतीय र तिब्बती प्लेटहरूबीचको संघातबाट भारतीय प्लेट दबिएर हिमालयको अग्रभागमा बनेको विशाल जलाशयमा यस क्षेत्रका नदीहरूले उत्तरतर्फको भू–भागबाट बगाएर ल्याएको माटो, बालुवा एवं ग्राभेलले बनेको छ।

चुरे क्षेत्र जैविक विविधता एवं प्रचुर प्राकृतिक स्रोतको खानी तथा मानव विकासको दरिलो प्रमाण हो। आजभोलि यो क्षेत्र बढ्दो दोहनले निम्त्याएको वातावरणीय विनाशले गर्दा सर्वसाधारण, विज्ञ, नीति निर्माता एवं सरोकारवालाबीच बहसको विषय बनेको छ।
चुरे क्षेत्रको निरन्तर दोहनका कारण देखापरेका विनाशका लक्षणहरूलाई गम्भीरतासाथ मनन गरी यसको संरक्षण एवं दिगो विकासका लागि सरकारले अधिकार सम्पन्न राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति गठन गरेको छ। अब चुरे क्षेत्रको भविष्य उक्त समितिले तर्जुमा गर्ने कानुन, नीति एवं कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा निर्भर गर्छ। तसर्थ प्रस्तुत लेखमा चुरे क्षेत्रको उत्पत्ति, भौगर्भिक बनोट, विनाशको स्तर तथा यस क्षेत्रमा आउन सक्ने अकल्पनीय विपद्हरूलाई विश्लेषण गरी न्यूनीकरणका उपायहरू प्रस्तुत गर्ने जमर्काे गरिएको छ।
चुरे करिब चौबीस सय किलोमिटर लामो पूर्व–पश्चिम फैलिएको हिमालयको अग्रभागमा अवस्थित सबैभन्दा कान्छो पर्वत शृंखला हो। यो पर्वत शृंखला पूर्वमा भारतको अरुणाचलदेखि पश्चिममा कश्मीरसम्म फैलिएको छ। नेपालमा पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म करिब आठ सय किलोमिटर क्षेत्रमा अवस्थित छ। चुरे पहाडको उत्पत्ति समग्र हिमालयको उत्पत्ति प्रक्रियासँग जोडिएको छ। भारतीय र तिब्बती प्लेटहरूबीचको संघातबाट भारतीय प्लेट दबिएर हिमालयको अग्रभागमा बनेको विशाल जलाशयमा यस क्षेत्रका नदीहरूले उत्तरतर्फको भू–भागबाट बगाएर ल्याएको माटो, बालुवा एवं ग्राभेलले बनेको छ। सामान्यतया चुरे पहाडको तल्लो तह पाँकढुंगा, बीचको तह बलौटे ढुंगा र माथिल्लो तह भने संगुटिकाबाट बनेको छ र करिब दुईदेखि पाँच किलोमिटरसम्म बाक्लो छ। उमेर करिब १ करोड ५० लाख (तल्लो तह) देखि दश लाख वर्ष (माथिल्लो तह) सम्म छ। यहाँ पाइने चट्टानहरूको संरचना एवं बनोट खुकुलो रहेकोले भंगशील अवस्थामा छन्। फलस्वरूप उच्च क्षयीकरण र संवेदनशीलता नै चुरेको भौगर्भिक समस्या, चुनौती एवं विनाशको कारण बन्न पुगेको छ।
चुरे पहाडलाई भौगर्भिक, भौगोलिक, जैविक, वातावरणीय, आर्थिक एवं सांस्कृतिक दृष्टिकोणले अति महŒवपूर्ण मानिन्छ। मानव उत्पत्ति एवं विकासक्रमको ऐतिहासिक जीवन्त दस्तावेजका रूपमा चुरेलाई लिइन्छ। सन् १९८३ मा बुटवल क्षेत्रमा करिब त्रियानब्बे लाख वर्ष पुरानो आदिम मानवको अवशेष फेला परेको छ जसले हाम्रो हिमालय क्षेत्रमा पनि मानव उत्पत्ति एवं विकास भएको दरिलो प्रमाण पेश गरेको छ। साथै यस क्षेत्रमा अन्य जीव–जन्तु एवं वनस्पतिको अवशेष पाइने हुनाले जीव एवं वनस्पति विकासक्रमको अध्ययन–अनुसन्धानका लागि महत्वपूर्ण मानिन्छ। त्यसरी नै हिमालय क्षेत्रको भौगर्भिक उत्पत्ति एवं विकासक्रम, जलवायु परिवर्तन एवं भूकम्पीय अध्ययनका लागि चुरे पहाड र यसको अग्रभाग अति महŒवपूर्ण मानिन्छ। तसर्थ चुरे भनेको संसारकै महŒवपूर्ण भौगर्भिक प्रयोगशाला हो भने प्राकृतिक सम्पदा पनि।
नेपालको कुल भू–भागको करिब २७ प्रतिशत चुरे क्षेत्र (तराईसमेत) ले ओगटेको छ। यस क्षेत्रलाई भौगोलिक हिसाबले चुरे पहाड, दुन उपत्यका, नदीले बनाएका साँघुरा उपत्यका, भावर र तराई क्षेत्रमा विभाजन गरिएको छ। यी भौगोलिक एकाइहरूको आ–आफ्ना विशेषता छन्। चुरे पहाडहरूको उचाइ न्यूनतम पाँच सयदेखि अधिकतम एक्काइस सय मिटरसम्म छ।
यी पहाड भिरालो रहेको र मलिलो माटो कम भएकाले मानिसको बसोबास कम छ। यस क्षेत्रका दुन उपत्यका (उदयपुर, चितवन, दाङ, सुर्खेत) भावर तथा तराई भने ऊर्वर माटोले बनेकाले जनघनत्व बढी छ। चुरे क्षेत्रमा मात्र करिब एक करोड तीस लाख मानिस बसोबास गर्छन्। भौगोलिक बनावट एवं भौतिक पूर्वाधारहरूको पहँुच सहज भएकाले दुर्गम पहाडी भेगबाट विशेषगरी चुरेका सहरोन्मुख क्षेत्र तथा नदी किनारमा बसाइँ सरी आउनेको संख्या उल्लेखनीय छ। फलस्वरूप यस क्षेत्रको जनसंख्या प्रतिदश वर्षमा करिब तीस प्रतिशतले बढेको पाइन्छ जसले गर्दा चुरे विनाशमा प्रत्यक्ष प्रभाव पारेको छ।
चुरे क्षेत्र भूमिगत जलस्रोतको प्रचुर भण्डार हो। तराईका अधिकांश क्षेत्रमा पाइने भूमिगत पानीको उपलब्धता यस क्षेत्रको भौगर्भिक बनोट एवं संवेदनशील भूमिगत जलस्रोत प्रणालीमा आधारित छ। महाभारत एवं चुरे पहाडबाट नदीले बगाएर ल्याएका ढुंगाहरूबाट बनेको भावर क्षेत्र भूमिगत पानीको "रिचार्ज जोन" हो। वर्र्षात एवं नदीको पानी यस क्षेत्रबाट जमिनमुनि छिरेर तराईतर्फ बग्छ। उक्त पानी तराई क्षेत्रमा इनार, कुवा एवं डिपवेलको माध्यमबाट निकाली पिउन एवं सिँचाइका लागि उपयोग गरिन्छ तर भावर क्षेत्रमा भएको अत्याधिक वन–विनाश एवं ढुंगा, गिटी, बालुवाको उत्खननबाट यस क्षेत्रको भूमिगत जलाधार प्रणालीमा गम्भीर असर परेकाले धनुषा एवं महोत्तरी जिल्लाका दक्षिणी भागमा खनिएका इनार, कुवा तथा डिपवेलहरू सुक्दै गएका छन्। यही गतिमा चुरे क्षेत्रमा निरन्तर अतिक्रमण भइरहने हो भने नेपालको अन्न भण्डार मानिने तराई क्षेत्रमा सिँचाई अभावले कृषि उत्पादनमा ह्रास आई खाद्य संकटको बिकराल समस्या आउनेछ। साथै पिउने पानीको अभावले तराईका सम्पूर्ण क्षेत्रमा विपद् निम्त्याउने निश्चितप्रायः छ।
नेपालमा साना–ठूला गरी करिब छ हजार नदी तथा खोला उत्तरदेखि दक्षिणतर्फ चुरे क्षेत्र भएर बग्छन्। उच्च क्षयिता भएको कारण वर्षायाममा नदीहरूले ठूलो मात्रामा भू–क्षय गरी तराईका मलिला फाँटहरूमा थुपार्छन्। फलस्वरूप त्यस क्षेत्रको उत्पादकत्वमा ठूलो ह्रास आउन थालेको छ। बढ्दो वन विनाश, परम्परागत कृषि प्रणली एवं कमजोर भू–बनोटले गर्दा यस क्षेत्रमा बाढी–पहिरोको प्रकोप बढदो छ। भौगर्भिक बनावटको हिसाबले चुरे पहाड दुई शक्तिशाली भूकम्पीय दरार (उत्तरमा मेन बाउन्डरी थ्रस्ट र दक्षिणमा मेन फ्रन्टल थ्रस्ट) को बीचमा अवस्थित छ। मेन फ्रन्टल थ्रस्ट भारतीय र तिब्बती प्लेटबीचको भौगर्भिक सिमाना छुट्टयाउने मुख्य भूकम्पीय दरार "मेन हिमालयन थ्रस्ट" को दक्षिणतर्फको भाग हो। मेन हिमालयन थ्रस्ट उच्च हिमालयको तल बङ्गिएको अवस्थामा छ। जसले गर्दा भारतीय र तिब्बती प्लेटहरू सापेक्षिकरूपमा एक महाभूकम्पदेखि अर्को महाभूकम्पबीचको अन्तरालमा सर्न नसक्ने हुँदा तनाव निरन्तररूपमा सञ्चित भइरहेको छ। सञ्चित तनाव उक्त दरारको धान्ने क्षमताभन्दा बढी हुँदा गति उत्पन्न भई विनाशकारी भूकम्पहरू जाने गर्छ। र, भूकम्पको विनाशकारी तरङ्गहरू उक्त दरारमार्फत घना बस्ती भएका चुरे, भावर क्षेत्र, दुन उपत्यका हुँदै तराईतर्फ फैलन्छन्। चुरे क्षेत्रमा यी दरारबाहेक समानान्तररूपमा पूर्वदेखि पश्चिमसम्म धेरै संख्यामा सक्रिय दरार पाइएको छ। यी दरारले विगतमा पूर्वी तथा मध्य भागमा विनाशकारी भूकम्पहरू उत्पन्न गराएका थिए र भविष्यमा पनि सक्रिय हुने प्रवल सम्भावना पाइन्छ। अतः चुरे पहाडको अग्रभाग एवं दुन उपत्यकामा अवस्थित सहरी क्षेत्र (धरान, हेटौँडा, चितवन, बुटवल, दाङ, धनगढी, सुर्खेत) हरू भूकम्पीय दृष्टिकोणले उच्च जोखिमयुक्त मानिन्छ। त्यसरी नै पहाडी ग्रामीण भेगबाट चुरे क्षेत्रका सहरोन्मुख भू–भागमा भइरहेको तीव्र बसाइँ सराइले कमजोर घरहरूको संख्या दिन/प्रतिदिन बढिरहेको छ। नदी किनार एवं भिरालो जमिनमा अतिक्रमण बढ्दो छ। फलस्वरूप यस क्षेत्रमा बसोबास गर्ने ठूलो जनसंख्या भूकम्पीय जोखिममा बस्न बाध्य छ। यसका अतिरिक्त जलवायु परिवर्तनबाट हुने अतिवृष्टिका कारण बाढी–पहिरोको जोखिम बढिरहेको छ। समग्रमा हेर्दा प्राकृतिक एवं मानव सिर्जित कारणहरूबाट चुरे क्षेत्रमा मुख्यतया भूकम्प, पहिरो र बाढीको प्रकोप चुरे दोहनसँगै बढिरहेको छ।
अतः चुरे क्षेत्रका संवेदनशील भौगर्भिक, जलाधार (भूमिगत एवं सतही) तथा जैविक प्रणालीहरूमा आएको अस्थिरताका कारण समस्या दिन/प्रतिदिन जटिल बन्दै गएको छ। यसका प्रत्यक्ष असर यस क्षेत्रका मानिसको जीविकोपार्जन एवं ठूलो लगानीमा तराईमा बनेका पूर्वाधारमा देखिन थालेका छन्। तसर्थ यस क्षेत्रको संरक्षणमा सर्वप्रथम हालसम्म भएको विनाशको कारण र स्तरबारे एकीकृतरूपमा मूल्याङ्कन गर्नु जरुरी छ।
चुरेको संवेदनशील भौगर्भिक बनोटलाई केन्द्रमा राखी जलाधार क्षेत्रमा आधारित एकीकृत भू–उपयोग नीतिको तर्जुमा, भूकम्प, बाढी, पहिरो जस्ता प्रकोपहरूको जोखिम मूल्याङ्कन, क्षमता अभिवृद्वि तथा व्यापक जनसहभागितामा आधारित विपद् व्यवस्थापन र भूक्षय एवं नदी कटान नियन्त्रणमा बायोइन्जिनियरिङ प्रविधिको व्यापक प्रयोग पनि त्यत्तिकै आवश्यक छ। स्थानीय वन उपभोक्ता समूहरूको सहभागितामा गर्न सके चुरे क्षेत्र संरक्षणमा ठूलो सहयोग पुग्नेछ।
स्थानीय समुदायको जीविकोपार्जनका लागि वैज्ञानिक एवं व्यावसायिक कृषि प्रणाली अवलम्बन गरी वैकल्पिक ऊर्जाका रूपमा गोबरग्यास, सौर्य ऊर्जा तथा विद्युतीकरणमा अनुदान कार्यक्रम लागु गर्न सके वन–विनाश रोक्न मद्दत पुग्नेछ। प्राकृतिक स्रोतहरूको दोहनलाई कडा कानुनमार्फत रोकी चुरे क्षेत्रको भौगर्भिक, भौगोलिक, जैविक, जलस्रोत, सांस्कृतिक तथा वातावरणीय विविधतालाई दिगोरूपमा संरक्षण एवं विकास गर्न सकेमात्र हाम्रोलगायत आउने पुस्ताको भविष्य सुनिश्चत हुनेछ।
 
डा. दीपक चम्लागाईँ
भूगर्भशास्त्री एवं उपप्राध्यापक, त्रिवि
स्रोत: नागरिक

 

comments powered by Disqus

Interview+ View All

Article+ View All